site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निर्देशक स्वयंलाई आफ्नो सिनेमामा विश्वास छैन, दर्शकले कसरी गरून् भरोसा ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रङ्गेली’ गएको शुक्रबारदेखि प्रदशर्नमा आयो । दुई घण्टा ५५ मिनेट लामो चलचित्र यही लेन्थमा तीन दिनभन्दा धेरै चल्न पाएन । निर्माण पक्षले सोमबारदेखि यो सिनेमाको लम्बाइ छोट्ट्यायो । शुक्रबारदेखि आइतबारसम्म दर्शकले यो सिनेमा दुई घण्टा ५५ मिनेट हेरे । सोमबारदेखि भने दर्शकले दुई घण्टा ३० मिनेटको सिनेमा हेरिरहेका छन् ।

‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदी दर्शकले सिनेमा लामो भयो भन्ने गुनासो गरेपछि लम्बाइ छोट्ट्याइएको बताउँछन् । राम्रो प्रतिक्रिया पाए पनि लामो भएको गुनासोपछि छोट्ट्याइएको उनी सुनाउँछन् । “केही लामो भयो । केही घटाउँदा र फास्ट कटिङ गर्दा थप राम्रो हुन्थ्यो भन्ने दर्शकको टिप्पणीलाई आत्मसात् गर्दै हामीले सिनेमालाई २१ मिनेट घटाएका छौँ,” निर्देशक सुवेदीले भने ।

प्रिमियरमा देखाइएको सिनेमा शुक्रबार रिलिज गर्दा ६ मिनेट घटाइएको थियो । पछि १५ मिनेट घटाएर सिनेमाको लेन्थ दुईपटक गरेर २१ मिनेट छोट्ट्याइयो ।

Dabur Nepal
NIC Asia

‘रङ्गेली’ रिलिजको अघिल्लो हप्ता अर्थात् फागुन १८ गतेदेखि ‘अगस्त्य’ प्रदशर्नमा आएको थियो । रिलिज गरिँदा यो चलचित्र दुई घण्टा ५० मिनेट लामो थियो । पछि २० मिनेट छोट्ट्याएर १५० मिनेटमा झारियो । दर्शकको सुझावका आधारमा त्यस्तो गरिएको निर्माण पक्षले जनाएको थियो ।

रिलिजपछि सिनेमाका दृश्य काट्ने मात्र होइन, थपघट गर्ने परम्परा पनि नेपालमा नौलो होइन । दृश्य मात्र होइन, क्लाइमेक्स नै परिवर्तन गर्ने मेकर पनि छन् । गएको वैशाखमा प्रदर्शनमा आएको ‘ज्याकी : आई एम ट्वान्टी वान’को क्लाइमेक्समा परिवर्तन गरिएको थियो । दर्शकले क्लाइमेक्स अपूर्ण भएको भन्दै परिवर्तन गर्न सुझाव दिएकाले त्यस्तो गरिएको निर्देशक रेनेशा राईले बताएकी थिइन् । रेनेशाका शब्दमा ‘परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराए ।’ भलै, यो सिनेमाले लगानी उठाउन सकेन ।

त्यसअघि, चलचित्र ‘दुई नम्बरी’मा केही दृश्य परिवर्तन गरिएको थियो । ‘दुई नम्बरी’को दृश्य परिवर्तनप्रति सेन्सर बोर्डले प्रश्न उठाएको थियो । चलचित्र विकास बोर्डले वक्तव्य जारी गर्दै यसप्रति चासो व्यक्त गरेको थियो ।

यी त भए पछिल्ला सिनेमाका केही उदाहरण । यस्ता थुप्रै चलचित्र छन्, जसले रिलिजपछि लेन्थ छोट्ट्याए ।

किन छोट्ट्याउँछन् मेकरले सिनेमा ? 
“दर्शकले लामो भयो भन्नुभयो । त्यसैले हामीले केही छोट्ट्याएका हौँ,” निर्देशक अर्जुन भन्छन्, “हामीलाई राम्रो लाग्छ, रिलिजअगाडि सयौँपटक सिनेमा हेरिसकेका हुन्छौँ, त्यसैले यो दृश्य कथा अगाडि बढाउन चाहिन्छ भन्ने लाग्छ । त्यसैले सिनेमा लामो हुन्छ ।”

एक्सनप्रधान सिनेमा सुरुमा स्लो पेसमा अगाडि बढ्छ । तर, फास्ट कट हुनुपर्‍यो भनेपछि आफूले सिनेमाका केही दृश्य काटेको उनी सुनाउँछन् ।

सिनेमाको कथा नबिग्रने गरी दृश्य काटिएको उनको जिकिर छ । “हामीले २१ मिनेट सिनेमा छोट्ट्याए पनि कथामा असर गर्दैन । स्लो पेसको सिनेमालाई हामीले फास्ट बनाएका मात्रै हौँ,” उनी दाबी गर्छन् ।

सिनेमा रिलिजको दुई दिनमै २०/२१ मिनेट काटेर फाल्नुको कारण निर्देशकमा आत्मविश्वास र ज्ञानको कमी हो । सिनेमामा म के, कति र किन देखाउँदै छु भन्नेमा निर्देशक स्पष्ट हुनुपर्छ । यसमा स्पष्ट नहुँदा निर्देशक स्वयंको क्षमतामा प्रश्न उठाउन सकिन्छ । आफ्नो सिनेमाका हरेक दृश्य यस कारण हुन् भनेर तर्कसहितको जवाफ निर्देशकमा हुनुपर्छ ।

हरेक दर्शकको प्रतिक्रिया मनन गर्दै गए, सिनेमा छोट्ट्याउँदा छोट्ट्याउँदै सकिए निर्माताको हातमा चलचित्रै नरहला नि ! दर्शकले जुन जुन दृश्य काट् भन्छन्, त्यही त्यही काट्दै जाने हो भने निर्देशकको के काम ! इडिटर नै काफी भएन र ? निर्माताले सिनेमा बनाउन निर्देशक खोज्ने कि दर्शक ? त्यो निर्देशक क्षमतावान् हो, जसले दर्शकलाई आफ्नो सिनेमाका हरेक दृश्य महत्त्वका छन् भनेर कन्भिन्स गराउन सक्छ । यति क्षमता राख्दैन भने निर्देशकको क्षमतामा जो कोहीले प्रश्न उठाउन पाउँछ ।

सिनेमाको कथा जेसुकै होस्, यथार्थ वा काल्पनिक । आफूले बनाउने सिनेमाको कथालाई विश्वसनीय बनाउने काम निर्देशकको हो । किनकि, सिनेमा निर्देशकको हो । सिनेमा निर्देशकीय माध्यम हो । काल्पनिक कथालाई पनि जसले विश्वासयोग्य बनाएर भन्न सक्छ र त्यसमा दर्शकले विश्वास गर्छन्, त्यही नै निर्देशकको क्षमता हो । कला हो ।

२० मिनेटमा औसतमा २५ सिन हुन्छ । सोसल ड्रामा हो भने २५ सिन खिच्न कम्तीमा सात दिन लाग्छ । एक्सन सिनेमा भए अझै बढी दिन लाग्छ । “सोसल ड्रामा हो भने २५ सिन खिच्दा २५ देखि ३० लाखसम्म खर्च लाग्छ,” एक निर्देशकले बाह्रखरीसँग भन्छन् ।

के खिच्दै छु र के राख्ने, यो राख्दा र नराख्दा के हुन्छ भन्नेमा निर्देशक स्वयं क्लियर नहुँदा निर्माताको पैसा पनि डुबिरहेको छ । निर्देशकमा आफ्नै कामप्रति विश्वास नहुँदा त्यसको प्रत्यक्ष असर निर्मातालाई परिरहेको छ ।

त्यसो त निर्मातामा पनि कमजोरी छ । दश लाख बढी पारिश्रमिक दिनुपर्ने लोभले क्षमतावान् निर्देशकलाई नजरअन्दाज गर्दै जसले सस्तोमा काम गर्छ, उसैलाई हायर गर्ने निर्माता पनि कम दोषी छैनन् । यसको अर्थ नयाँ निर्देशक नरोज भनेर निर्मातालाई भनेको होइन । पहिलो निर्देशनमा आफूलाई अब्बल प्रमाणित गर्ने निर्देशक थुप्रै छन् । ‘लुट’ निश्चल बस्नेतको पहिलो निर्देशन थियो । ‘जात्रा’ पनि प्रदीप भट्टराईको पहिलो निर्देशन नै हो ।

निर्देशकको विश्वासमा करोडौँ लगानी गर्नेले कस्तो निर्देशकलाई हायर गर्दै छु, सकारात्मक र नकारात्मक पक्ष केके हुन् भनेर बुझ्नु पर्दैन ? नबुझ्नु निर्माताको कमजोरी हो । 

त्यसो त नेपाली सिनेमाका अधिकांश मेकर कति गैरजिम्मेवार छन् भन्ने ‘रङ्गेली’कै प्रिमियरले पनि संकेत गर्छ । अपराह्न साढे ४ बजे प्रिमियर शोमा चलचित्र हेर्न बोलाएर बेलुका ७ बजे कार्यक्रम सुरु गरियो । आधा घण्टा लगाएर कलाकार र प्राविधिकलाई अगाडि बोलाइयो । कलाकारलाई बोल्न लगाइयो । प्राविधिकलाई अगाडि बोलाएर चिनाए । करिब साढे ७ बजे सिनेमा सुरु गरे । तर, सिनेमामा साउन्ड थिएन । भिडियो मात्र थियो । पटक–पटक प्ले गर्दा पनि सिनेमामा अडियो नआएपछि आधाभन्दा धेरै पत्रकार र पाहुना त्यसै फर्किए ।

‘रङ्गेली’ रिलिजकै दिन प्रदशर्नमा आएको ‘काँडेतार’को प्रिमियर हेर्न पुगेका पत्रकार र पाहुना पनि सिट नपाएपछि त्यसै घर फर्किएका थिए । यही फागुन ११ गते रिलिज भएको ‘गोर्खा वारियर’मा पनि अवस्था उस्तै थियो । प्रिमियरमा पुगेका पाहुना र पत्रकार सिट नभएपछि सिनेमा नहेरी घर फर्किएका थिए ।

हलको सिट क्षमता कति छ भनेर क्यालकुलेसन नगरी पत्रकार र पाहुना बोलाउने त नेपाली मेकरको ‘रोग’ नै हो । निर्धारित समयभन्दा कम्तीमा अढाईदेखि तीन घण्टा ढिलो गरी कार्यक्रम सुरु गर्नु नेपाली मेकरका निम्ति बिहान–बेलुकाको दालभातजस्तै भइसकेको छ ।

अघिल्लो दिन एउटा लेन्थको सिनेमा भोलि अर्कैै हुन्छ भने निर्देशकको आत्मविश्वासमा कमी त हो नै, सँगै त्यो दर्शकप्रतिको हेपाहा प्रवृत्ति पनि हो । एउटै सिनेमाको लेन्थ आज एउटा, भोलि अर्कै । आज एउटा सिन छ, भोलि अर्कै । आज एउटा क्लाइमेक्स छ, भोलि अर्कै हुन्छ भने निःसन्देह त्यो निर्देशकको अल्पज्ञान हो । आफैँप्रतिको अविश्वास पनि हो । आफ्नै सिर्जनामा दुई दिनभन्दा बढी अडिन नसक्ने र डिफेन्स गर्ने तर्क नभएका सर्जक (निर्देशक)को सिर्जना (सिनेमा)मा दर्शकले कसरी गरून् भरोसा ? र, हेर्न जाऊन् हलमा ?

सिनेमा घोषणाभन्दा पहिले नै रिलिज डेट तोक्ने, कसलाई कोसँग इगो साध्नुपर्ने छ, उसको सिनेमासँग भिडाउने नेपाली मेकर र वितरकका लागि सामान्य भइसकेको छ । यसको परिणाम सिनेमा मेकिङ र बक्सअफिसमा देखिन्छ/देखिइरहेको छ । साउन्डबिनाको सिनेमा प्रिमियरमा आउनुपर्ने रिलिजको हतारोकै परिणाम हो ।

पछिल्लो समय २०/२१ मिनेट सिनेमा छोट्ट्याएका एक निर्देशकले भने, “दर्शकको सुझाव त सिनेमा छोट्ट्याउनुको कारण एउटा हो नै, अर्को मुख्य कारण हलवालाको दबाब पनि हो ।”

उनका अनुसार, हल मालिक आफैँले नभएर अरूमार्फत सिनेमा छोट्ट्याउन दबाब दिएका थिए । अन्यथा, शो घटाउने चेतावनी पाएका थिए । “यसै पनि थोरै शो थियो । त्यसमा पनि नछोट्ट्याए शो घटाइदिन्छौँ भनेपछि बाध्य भएर घटाउँनैपर्‍यो,” ती निर्देशकले गुनासो गरे, “जसले जति गफ गरे पनि पहिलो साता नै शो पाइएन भने कमाउन कठिन छ । त्यसैले बाध्य भएर सिनेमा काटेका हौँ ।”

ती मेकरको भनाइ सत्य हो भने आफूले साढे तीन घण्टासम्मका विदेशी सिनेमा ल्याएर चलाउने अनि नेपाली चलचित्र लामो भयो, छोट्टयाऊ भनेर दबाब दिन मिल्छ ? कुन नैतिकताले हलवालाले नेपाली मेकरलाई सिनेमा छोट्ट्याऊ भनिरहेका छन् ?

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro