अमेरिका । न्यूजर्सीको बीएपीएस स्वामीनारायण मन्दिर ‘अक्षरधाम’ हेर्ने हुटहुटी मलाई सर्वसाधारणका लागि खुला गरिएको बेलादेखि थियो । खासगरी निर्माण हुँदै गर्दा परिचितहरूले मन्दिर हातामा गएर खिचेको फोटोहरू र उनीहरूले गरेका वर्णनहरूले नै मन्दिर निकै भब्य होला भन्ने लागेकै थियो ।
झन् यो मन्दिर गतवर्ष अक्टोवरमा भव्य समारोहमाकाबीच उद्घाटन भइसकेपछि त मन्दिरको भव्यताबारेमा तस्बिर, भिडियो र तथ्यहरू चित्ताकर्षक तवरले बाहिरिए, विद्युतीय मिडिया, सामाजिक सञ्जाल र छापामाध्यमहरूबाट ।
९६ मिलियन डलर लागतको यो मन्दिरको मूर्तिकला, वास्तुकला र प्राचीन इन्जिनियरिङको आधुनिक रुपान्तरण हेर्न म आतूर थिएँ ।
यो मन्दिरको विराट कला र दिव्यताको साक्षात्कार भने नेपालबाट बुबा–आमा अमेरिका आउँदाका बखतमा मात्र गर्न पाइयो । कार्यव्यस्तता र अरु प्राथमिकताका कारण ४ घण्टा पर रहेको यो मन्दिर हेर्न जाने विषय ओझेलमा परेको थियो ।
बिहान झिसमिसेमा मन्दिरस्थल रबिन्सभिल न्यूजर्सीका लागि बस्टनबाट हुँइकिएका हामी १० नबज्दै गन्तव्यमा पुग्यौं । मन्दिर पुग्नुअगाडि ठूलो क्षेत्रफल अर्थात् १८३ एकडमा फैलिएको छनक मुख्य प्रवेशढोका र मन्दिर प्रांगणको फराकिलो दूरीले नै दिन्थ्यो ।
दाहिनेपट्टीको एउटा कृत्रिम तलाउले प्रकृतिसँग मितेरी लगाइसकेछ । हुलकाहुल क्यानेडियन गुज (उड्ने पानीहासको एउटा प्रजाती)हरू आकाशबाट ओइरिँदै उड्दै गरिरहेका थिए, त्यो सुन्दर तलाउमा ।
पोखरी नजिकै गाडी रोक्दै फोटो खिचौँझैँ भइरहेको थियो, तर यात्राको मुख्य आकर्षण मन्दिर भएकाले मन्दिरतिरै गयौं । पार्किंग लटसँगै जोडिएको एउटा कलात्मक पार्कमा अग्लो बालयोगीको पित्तलको मूर्ति देखिन्छ ।
पित्तलको उक्त ४९ फिट अग्लो मूर्ति निलकण्ठ वार्णी अर्थात् स्वामी नारायणको रहेछ । मन्दिर र बाल तपस्वीको बीचमा एउटा सुन्दर आयाताकार जलाशय पनि बनाइएको रहेछ । जसमा मूर्ति र मन्दिरको प्रतिविम्ब मौसम खुलेको दिन निकै आकर्षक देखिनेरहेछ ।
मन्दिरभित्र जानुअघि स्वागतकेन्द्र पनि निकै भव्य र कलाले सुसज्जित देखिन्छ । त्यसलाई सुन्दर बनाउन कुनै कसर पनि बाँकी राखिएको छैन । मुख्य मन्दिरमा प्रवेश गर्न दुईवटा मुख्य नियम राखिएको रहेछ, फोटो खिच्न नपाइने र छुन नपाइने ।
मन्दिरका स्तम्भ, सिलिङ र भित्ताहरू यस्तो मिहिन ढंगले बनाइएको छ कि सानोभन्दा सानो संरचना पनि निकै समय खर्चेर कुँदिएको जस्तो लाग्ने । मूर्तिकला, वास्तुकला र संरचनाको अवलोकनमा समय बितेको पत्तै नहुने ।
आगन्तुकहरूलाई बाटो देखाउने, उनीहरूका प्रश्नका जवाफ दिने र उनीहरूलाई फोटो नखिच्न र नछुन सचेत गराउने स्वयंसेवकहरू यत्रतत्र देखिन्थे । भारतीय र नेपालीहरू मात्र होइन, मन्दिरको विशालता र भव्यता हेर्न रुचाउने अरु धर्मसंस्कृतिका स्थानीय अमेरिकनहरू पनि प्रशस्त देखिन्थे मन्दिर हातामा ।
निकै खुसी र सन्तुष्ट हुँदै हामी फर्किने क्रममा थियौं । फर्कंदै गर्दा बाहिर त्यही अग्लो मूर्तिको अलि अगाडितिर एउटा इन्फोग्राफिक म्यापले ध्यान खिच्यो । त्यसको सम्मुखमा गएर हेर्दा स्वामीनारायण ज्ञानप्राप्तिको क्रममा विभिन्न ठाउँमा गएको भन्ने जानकारी पाइयो ।
अनि एक ठाउँमा मुक्तिनाथ देखियो । त्यो देखेपछि नक्साको विस्तृत विवरणतर्फ जिज्ञासा जाग्यो ।
हेर्दै जाँदा एक्कासी मन अमिलो भएजस्तो, कताकता खल्लो लाग्यो । कताकता त्यसले स्वाभिमानमा पनि चोट दिएजस्तो भयो । कारण, त्यो नक्सामा नेपाल थिएन । त्यो नक्साको शीर्षकले नै मुक्तिनाथलाई भारतमा देखाएको थियो ।
मुक्तिनाथ भारतको भएको बाप्सको दाबी !
हिमालयको हृदयमा अवस्थित मुक्तिनाथ कुन देशमा पर्छ ? भूगोल, धर्म संस्कृति र देशहरूबारे जिज्ञासा र जानकारी राख्ने जो कोहीले पनि आँखा चिम्लेरै भन्न सक्छ, ‘यो नेपालमा पर्छ ।’
तर नेपालको मुस्ताङ जिल्लामा पर्ने हिन्दू तथा बौद्ध धर्माबलम्बीहरूको यो पवित्र तीर्थस्थल मुक्तिनाथलाई भारतको एउटा अति सम्पन्न र प्रभावशाली धार्मिक संगठनले आफ्नो देशको भनी दाबी गरेको छ । बीएपीएस स्वामीनारायण संस्था उत्तर अमेरिकाद्धारा न्यूजर्सीको रबिन्सभिलमा निर्माण गरिएको अक्षरधाम मन्दिरले आफ्ना प्रांगणमा लिखितरुपमै यस्तो दाबी गरेको हो ।
मुख्यमन्दिर प्रवेश गर्नु अगाडि बालयोगी निलकण्ठ वार्णीको ४९ फिट अग्लो पित्तलको भव्य शालिक अगाडि एउटा नक्सा राखिएको छ, जसमा उनी अर्थात् स्वामीनारायणले ज्ञानप्राप्तिको क्रममा ८ हजार माइल हिँडेर दर्शन गर्न गएका तीर्थस्थल पनि अंकित गरिएका छन् ।
त्यो नक्साको शीर्षकमै भनिएको छ, निलकण्ठ वार्णीद्वारा आफ्नो यात्राका क्रममा भ्रमण गरिएका भारतका महत्वपूर्ण हिन्दू तीर्थस्थल । यसको आठौँ नम्बरमा मुक्तिनाथलाई देखाइएको छ । नक्सा हेर्दा भारतको साविकको स्थानमा इन्डिया भनिएको छ भने नेपाल भनेर लेख्नुपर्ने स्थानमा केही लेखिएको छैन ।
सिरानमा हिमालहरू रहेको स्थानमा हिमालयज भनिएको छ भने त्यसमाथिको भागलाई तिब्बत भनिएको छ । तर नेपाल लेख्नुपर्ने ठाऊँमा केही लेखिएको छैन । नक्सा हेर्दा यस्तो देखिन्छ कि मानौं तिब्बतदेखि तलको सम्पूर्ण भूभाग सबै भारत हो ।
भगवानको मन्दिर बनाइसकेपछि त्यसले सत्य/तथ्यलाई आत्मसात् गर्नुपर्छ भन्ने सामान्य मान्यता हो । तर भौगोलिक तथा राजनीतिक तथ्यलाई बेवास्ता गर्दै मुक्तिनाथ इन्डियाको भएको दाबी उक्त धार्मिक संगठनले गरेको छ ।
९६ मिलियन डलरको लागतमा करिब १५ वर्ष लगाएर बनाइएको यो मन्दिरका अंकहरू र त्यसका अर्थ निकै रोचक लाग्छन् । यो मन्दिर अमेरिकाकै सबभन्दा ठूलो हिन्दू मन्दिर हो भने विश्वको दोस्रो ठूलो हिन्दु मन्दिर हो ।
यसमा १२ हजार ५०० स्वयंसेवक उत्तर अमेरिकाका विभिन्न राज्यबाट परिचालन भएका, ३३८ हिन्दूकथा कुँदिएका, ७८ वटा साधुहरूका मूर्ति हिन्दू संस्कृति झल्काउने १० हजारवटा मूर्तिहरू आदि रहेका छन् ।
यति धेरै साधन, स्रोत, शक्ति र समय खर्चेर बनाइएको यो विशाल मन्दिरले ऐतिहासिक तथ्यलाई किन बेवास्ता गरेको होलान् ? डाक्टर, इन्जिनियर, वकिल, व्यापारी, प्रोफेसर आदि सम्मिलित स्वयंसेवकहले श्रमदान गरेको यो ल्यान्डमार्कमा यति सामान्य ज्ञान राख्ने कुनै व्यक्ति थिएनन् ? यो प्रश्नले खिन्न बनाइरह्यो । यो गम्भीर त्रुटिलाई तत्काल सच्याइनुपर्छ ।