site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तारा–बिटु जोडीको सपना : अमेरिका छाडेर नेपाल फर्कने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बष्टन (अमेरिका) । अमेरिकालाई सपनाको गन्तव्य देशको रुपमा मान्नेहरु धेरै छन् । 

तर अमेरिकामा २० वर्ष बिताएका एक जोडी आफ्नो जन्मभूमि नेपालमा फर्किने तयारीमा छन् । अमेरिका यस्तो देश हो, जहाँ अवैध रुपले आउँदा पनि थुपै्र नेपालीहरुले दलाललाई लाखौं रुपैयाँ बुझाएर चोर–बाटो हुँदै आउने गर्छन् । 
 
अमेरिका आउनुअघिको पेशा क्रमशः पत्रकारिता र कानून व्यवसाय भएका तारा बराल र बिटु केसी अमेरिकाबाट नेपाल सपना देखिरहेका छन् ।  केसी भन्छिन्, “अमेरिका आउनेका अमेरिकन ड्रिम होलान्, तर हाम्रो नेपाल सपनामा सानो र शान्तमय जीवन बिताउने हो ।”

उनीहरु नेपालमा फर्कदै सामाजिक क्षेत्र र फेरि लेखनमै सक्रिय हुने अठोट व्यक्त गर्छन् ।  सन् २०२० तिर तारा बिटुको जोडी नेपाल फर्किने तयारीमा थियो । तर उनीहरु त्यतिबेला कोभिड महामारीको लकडाउनका कारण रोकिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोभिडको अलमलले नेपालमा फर्किने उनीहरुको उद्देश्य र औचित्यलाई झन् दरिलो बनायो । तारा—बिटु दम्पतीले जब नेपालमा सधैँका लागि फर्किने निर्णय गर्‍यो ।  त्यसपछि उनीहरु आफ्नो व्यवसाय बेचविखन र छिनोफानो गरेर तीन महिनाका लागि नेपाल गएका थिए । 

आफन्त र साथीभाइको प्रेमले पुलकित उनीहरु काठमाण्डुको धुवाँ धूलो र बिग्रहले केही बिथोलिएका थिए ।  ‘‘काठमाण्डुको धुवाँ धूलोले यहाँ बस्न सकिँदैन कि जस्तो लागेको थियो,’’ बिटुले भनिन्, ‘‘जब हामी झापाको समथर भू–भाग र सफा परिवेशमा पुग्यौं त्यसले भने खुसी तुल्यायो ।’’
उता बराल अमेरिकामा कमाएको आफ्नै मुलुकमा खर्च गर्ने योजना सुनाउँछन् ।  उनी भन्छन्, ‘‘पैसाले जति भए पनि पुग्दैन, अपेक्षा र आकांक्षा जति बढाए उति बढ्छ । अबको बाँकी जीवन मातृभूमिमै बिताउने हो र जे जति सम्पत्ति जोहो गरेका छौं, त्यसलाई पनि आफ्नै मुलुकमा खर्च गर्ने हो ।’’

Royal Enfield Island Ad

तारा बरालको उमेरले अवकाशप्राप्त गर्ने बेला भइसक्यो । छोराछोरी पनि हुर्किइसके र ठूलो आर्थिक जिम्मेवारी पनि छैन ।  नेपालमा जन्मे हुर्केर पछि घरपरिवार र बालबच्चाका लागि अमेरिका, अष्ट्रेलिया वा युरोपका देशहरु बसाइँ सराइँ गरेका मान्छेको साझा कथा र पथ हुन सक्छ, तारा बिटुको यो नेपाल फिर्ती । 

सन्तानप्रतिको आफ्ना आर्थिक जिम्मेवारीहरु पूरा गरिसकेको एउटा आम आप्रवासी नेपाली जो नेपालमै फर्किन चाहन्छ ।  जो अवकाशपछिको जीवनमा अमेरिकामा रोकिन चाहँदैन बाँकी जीवन यो यस किसिमका प्रवासी नेपालीहरुको पनि कथा हो ।

आफ्नो जीवनको एउटा सक्रिय कालखण्ड विदेशमा बराइँसराइँ गरेर त्यही अर्थोपार्जन गर्ने र अवकाशको समयमा जन्मभूमि ‘मिस’ भएर आफ्नै परिवेश सहज वा प्यारो लागेर फर्किनेहरुको यो ‘रिभर्स माइग्रेसन’को एउटा ‘ट्रेन्ड’ हो । नेपालमा ‘रिभर्स माइग्रेसन’ अबका दिनमा ठूलो संख्यामा हुँदै छ ।

यसलाई व्यवस्थित र थप आकर्षित गर्न सरकारले भावी दिनमा अनूकुल नीति नियमको तर्जुमा गर्नुपर्ने देखिन्छ । किनभने विदेसमा कमाएको पैसा र सीप लिएर फर्किनेहरुले नेपालको स्थानीय बजार, पुँजी तरलता र सामाजिक जीवनलाई चलायमान बनाउँछन् । 
 Usg1-1694016027.jpg
अमेरिका अर्थात् युएसएलाई कतिपयले ‘यु स्टार्ट अगेन’ वा ‘फेरि सुरुवात गर’ पनि भन्छन् ।  हुन पनि अमेरिकाको शिक्षा वा तालिम छैन भने जे काम सुरु गर्न पनि लगभग शून्यकै तहबाट यहाँ कामको सुरुवात गर्नुपर्छ । 

अमेरिकाको त्यो सक्रिय २० वर्षको अवधिमध्ये सुरुका केही वर्ष यताको मोटेल र रियलस्टका सीप सिक्नमै बित्यो, बरालको पनि । संघर्षका ती दिनहरुमा मोटेलमा १२ घण्टाको रात्रीकालीन सिफ्टमा काम गरेका बरालले प्रोफेशनल कामहरु भेट्दै गए । 

नेपालमा छँदा ठूलो पद र आरामदायी जीवन भए पनि त्यो स्मृतिलाई थाती राख्दै फेरि संघर्ष गर्नुपरेको थियो । 

रियलस्टेट अपार्टमेन्ट व्यवस्थापन तालिम लिएपछि उनले केही वर्ष एसोसियट म्यानेजर र म्यानेजरको जागिर पनि खाए । अनि त्यसपछि त्यो सीपको उपयोग गर्दै आर्थिक अवस्था सुदृढ बनाउँदै व्यापार व्यवसाय गरे ।
 
अमेरिकाको ह्यूस्टन टेक्सासबाट सुरु भएको संघर्षले त्यही आर्थिक सम्पन्नता दिलायो, गरगहनाको व्यवसायमार्फत् । र उनी त्यही ह्यूस्टन टेक्सासबाट नै नेपाल फर्किंदैछन्, केही सातापछि ।

बरालले पञ्चायतकालमा आफ्नै सम्पादकत्वमा साप्ताहिक विचार प्रकाशन गर्थे ।  प्रजातान्त्रिक विचारधाराको उक्त पत्रिका पूर्वाञ्चलबाट प्रकाशित हुने पत्रिकामध्ये प्रभावशाली मानिन्थ्यो भने विष्णु निष्ठुरी, कृष्ण धराबासी पनि त्यही पत्रिकामा पत्रकारिता गर्थे ।

नेपालको सरकारी मुखपत्र गोरखापत्र दैनिकको प्रधानसम्पादक र नेपाल टेलिभिजनको अध्यक्षसमेत बनेका बराललाई अमेरिका बसाइँको क्रममा ‘मिस’ भएको कुरा लेखन नै थियो । अमेरिका आइसकेपछि फाट्टफुट्ट नलेखेका पनि होइनन् बरालले ।

अमेरिकाको डालस टेक्सासबाट प्रकाशित तथा प्रसारित हुने अनलाइन न्यूज पोर्टल हिमालयखबर डटकमको सल्लाहकार सम्पादकको रुपमा जीवन एक मोड अनेक भन्ने स्तम्भमा मानिसका जीवन भोगाइका कथाहरु लेखे । 

तर सक्रिय रुपले लेख्ने धोको अब नेपालमै गएर पूरा गर्ने उनको योजना छ । 


‘‘अवकाशप्राप्त जीवन अब लेखेरै बिताउने हो,’’ उनी भन्छन्, ‘‘लेख्न दिमागमा धेरै कन्टेन्टहरु छन् । केही कुरा मैले नोटमा पनि टिपेर राखेको छु ।’’

बराल नेपालका दूरदराजका स्थानहरुमा गएर यात्रा–वृत्तान्तहरु लेख्ने योजनामा छन् ।  बरालकी जीवन साथी बिटु केसी नेपालमा हुँदा कानुन व्यवसाय र पत्रकारितामा सम्बद्ध थिइन् । अमेरिका आएपछि उनको परिचयमा कवियत्री तथा गजलकार पनि थपिएको छ ।

उनको गरगहनासम्बन्धी व्यवसायमा केही अनुभव भएकाले आफ्नै व्यवसाय किन नगर्ने भनेर यसको व्यवसाय सुरु गरेको बराल बताउँछन् । गरगहनासम्बन्धी व्यवसायले उनीहरुलाई आर्थिक रुपले समृद्ध बनायो । 

अमेरिकाको एकांकीपन मन नपरेर र नेपाल मिस भएर उनले दुई पटक त अमेरिका बस्दिनँ भनेर नेपाल गएकी थिइन् ।  तर दोस्रोपटक नेपाल गएर फर्किएपछि भने उनी अमेरिका २० वर्ष ढुक्कैले बसिन् । 

प्रवास बसाइँका सुरुवाती दिनहरुमा विविध भावलाई लिएर उनले एउटा मुक्तक संग्रह पनि प्रकाशित गरिन् । 

मायाको मात शीर्षकको मुक्तक संग्रहमा एउटा मुक्तक यस्तो थियो । 
 
घुम्न मलाई मेरै देशको डाँडा पाखा मन थियो 
पुग्न मलाई मेरै देशको कुनो काप्चो मन थियो 
कुन अभागले गर्दाखेरि परदेशको वास गरायो 
चुम्न मलाई मेरै अग्लो सगरमाथा मन थियो । 
 

अन्तमा, मन दह्रो बनाएर अमेरिकामा धेरै वर्ष बिताइन् ।  आफ्नै अनुभवमा आधारित एउटा व्यवसाय गरगहनाको व्यापार गरेर ।

अमेरिकामा आइसकेपछि उनीहरु दुवैलाई नेपालको मिस भएको कुरा सामाजिक परिवश रहेछ ।  नेपालमा फर्केपछि कस्तो ठाऊँमा बस्ने भन्नेबारेमा बराल र केसी दुवैको उस्तै योजना छन् । 

दुवैलाई काठमाण्डुको भीडभाडमा अवकाशप्राप्त जीवन बिताउनु छैन ।  काठमाण्डुको भीडभाडबाट अलिक टाढा भक्तपुरको सूर्यविनायक र झापाको बुधबारेमा बस्ने उनीहरुको योजना छ । 

झापाको बुधबारे बरालको बाल्यकालीन यादहरु जोडिएको स्थान हो ।  प्राकृतिक अवस्थितिमा पनि इलाम पहाडको ठ्याक्कै फेदीमा रहेको ठाऊँ हो, बुधबारे ।  बरालले शान्ति आदर्श हाइस्कुलबाट २०२५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । 

उनी आफूलाई उक्त विद्यालयको उत्पादन हुँ भन्न पाउँदा गौरवान्वित महसुस हुने बताउँछन् ।  त्यही विद्यालयका साना भाइ–बहिनीहरुलाई केही पढाउने वा सिकाउने सोच पनि उनको छ ।  ‘‘मेरो फुर्सदको समय मैले जीवनमा सिकेका र उनीहरुलाई उपयोगी हुनसक्ने कुराहरु सिकाउने छु’’ बराल भन्छन् । 

उनी आफ्नो अवकाशप्राप्त जीवनको एउटा योजनाकाबारेमा प्रष्ट पार्न चाहन्छन् ।  जीवन भोगाइले बराललाई जीवन बाँच्ने भनेको वर्तमानमा हो भन्ने सिकायो ।
 
प्रवासमा बस्दा नेपाली भएर बस्नुपर्ने र चिनिनुपर्ने बरालको सुझाव छ ।  उनले आफू नेपालमा छँदा नेपाली कांग्रेससँग नजिक भएपनि अमेरिकामा रहँदा जनसम्पर्क समितिको जिम्मेवारी लिन अस्वीकार गरेका थिए । 

कुनै पनि राजनीतिक पार्टीको झोले भएर र नेपालको जस्तो वर्गीय तथा क्षेत्रीय संगठनहरुमा विभाजित हुनु नहुने बरालको सुझाव छ ।

Usha-1694016027.jpg

अमेरिका बसाइले बिटुलाई एउटा फरक किसिमको सौख दियो गार्डेनिङको ।  जुन आवासमा बस्ने हो त्यहाँ एउटा सानो फुलबारीको बगैचा बनाउने केसीको सोच छ ।  अमेरिका बसाईंका क्रममा केसीले निकै आनन्द महसूस गर्ने सौख गार्डेनिङ हो । भन्छिन्, गार्डेनिङ गर्न पाएँ भने म त्यसमा एकदम आनन्दित हुन्छु ।

जिन्दगीको सबैभन्दा ठूलो खुसी र प्रतिक्षा नेपाल जानु नै भएको छ ।  कवि हृदयकी बिटु केसी आफ्ना यी भावनाहरुलाई प्रस्फूटन नगरी कसरी शान्त हुन सक्थिन् र ।  एउटा केही समय लेखेको एउटा कविताले उनी के चाहन्छिन् भनेर ठ्याक्कै बताउँछ उनको चाहना र भावलाई ।  जसका केही लाइनहरु यसप्रकार छन् । 
 
बिहानीमा हिमाल हाँसोस्
हरियालीमा पहाड बाँचोस
गह्रा, खेत, बारीहरु
लहलह झुल्दै नाचीरहोस
जिन्दगीलाई मनन गरुँ
जिन्दगीलाई नमन गरुँ
आहा 
मन्त्रमुध्द हँदै 
खुशीखुशी म त्यहीं मरुँ 

 
पछिल्ला दिनहरुमा बिटु केसीलाई आध्यात्मिक विषयको अध्ययनले आनन्द दिने गरेको छ ।  उनलाई दार्शनिक तथा आध्यात्मिक गुरु रजनीश ओशोका प्रवचन तथा पुस्तकहरु मन पर्छन् ।  ध्यानका विभिन्न विधिहरु उनको आध्यात्मिक यात्राका खुट्किलाहरु भएका छन् । 

उनलाई आजभोलि जिन्दगीको भागदौड र प्रतिस्पर्धाबाट पन्छिएर टाढा बस्न मन लाग्छ ।  आखिर मर्नु नै छ एकदिन भने खु्ला हात तयार भएर शान्त हृदयले नैं जाऔं न, उनी मृत्यु् चिन्तन गर्छिन् । 

बराल यथार्थतामा विश्वास गर्छन् । र भन्छन्, ‘‘जीवन बाँच्ने भनेको वर्तमानमै रहेछ ।’’ उनले अमेरिकामा सिकेको ज्ञान र अनुभव नेपालमा प्रयोग गर्नुलाई वर्तमानको सही सदुपयोगको रुपमा हेर्छन् ।   सपना त सपनै हो । एउटा सपनाले परदेशको रोमाञ्चक यात्राको रंग भर्यो । 

समयको अन्तरालपछि अर्को सपना स्वदेश फर्काउन मरिहत्ते गर्छ ।  अमेरिका ल्याउने पनि सपना थियो र अमेरिकाबाट फर्काउने पनि अर्को सपना ।  एउटा सपनाले गन्तव्य तय गरेर अमेरिकातिर डोहोर्यायो र समयको अन्तरालपछि अर्को सपनाले फेरि जहाँबाट यात्रा थालनी गरेको हो त्यहीँ जाऊँ भन्छ । 

यो सपनाको संशोधन हो कि सपनाको व्यर्थता वा वास्तविकतासँगको आलिङगन या सपनाको अर्को रंग ।  भनिन्छ, मान्छेको उमेर बढ्दै जाँदा ऊ आफ्नो जरा वा जग भएतिर बढी उत्सुक हुन्छ ।  शक्ति उत्कर्षमा हुँदा विस्तारित उसका इच्छा आकांक्षाहरु जसै शक्ति कम हुँदै गर्दा उ आफूलाई खुम्चयाउँदै लिएर जान्छ । जीवनको प्रारब्ध छान्ने छुट मान्छेलाई छैन । 

तर जीवनमा कहाँ र कसरी संघर्ष गर्ने र कहाँ विश्राम गर्ने भन्ने छान्न सक्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro