site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीको गठबन्धनमा अर्को समस्या : माओवादी संसदीय दलको बैठकमा गएनन् देवकोटा

पोखरा । सोमबार बनेको चार दलीय नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ‘प्रतिगमनकारी’ भन्दै सरकारमा सहभागी नगराउने निर्णय गर्‍यो । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर केन्द्रमा नयाँ गठबन्धन बन्दा राप्रपालाई ‘बाइपास’ गरे ।

त्यसको प्रभावले गण्डकी प्रदेश मध्यावधिउन्मुख बनेको छ । नयाँ गठबन्धनलाई सरकार चलाउन राप्रपा नभई हुँदैन । राप्रपालाई बिच्क्याएर सरकार बनाउन नसकिने बुझेको गठबन्धनले राप्रपालाई कसरी फकाउने भन्ने समाधान खोज्नुपर्नेमा झनै अर्को समस्या थपिएको छ ।

गण्डकीमा माओवादी आफ्ना आठ सांसद रहेको दाबी गर्छ । माओवादीले प्रत्यक्षतर्फ पाँच सिट र समानुपातिकतर्फ एक सिट जितेको बताउँदै आएको छ । तर, गोरखा–२ बाट प्रदेशसभामा निर्वाचित भएका फणिन्द्र देवकोटा भने डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट उमेदवार बनेर चुनाव जितेका हुन् । तर, उनी उमेदवार बन्दै गर्दा तत्कालीन गठबन्धनमा आबद्ध माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव जितेका थिए । त्यही कारण देखाउँदै माओवादीले देवकोटालाई पनि आफ्नै प्रदेशसभा सदस्य दाबी गर्दै आइरहेको छ । तर, देवकोटा त्यसलाई स्वीकार्दैनन् । उनले छुट्टै ‘स्पेस’ खोजेका छन् ।

अर्कातर्फ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रूपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

निर्वाचन आयोगले उक्त विषयबारे टुंगो लगाइसकेको छैन । नेसपाले संघीय संसद् सचिवालयमा पनि नेसपाको सांसदको रूपमा विवरण अभिलेख गरिदिन माग गर्दै निवेदन दिएको छ । संसद् सचिवालयले पनि यसबारे निर्णय लिइसकेको अवस्था छैन ।

संयुक्त चुनाव चिह्नबाट चुनाव लडेकाहरूमध्ये आफू कुन दलबाट चुनाव लडेको हो भनी त्यही दलको रूपमा विवरण अद्यावधिकका लागि निवेदन दिन सक्छन् । यस्तो अवस्थामा निर्वाचन आयोगले निवेदन दिने जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा दल छुट्याएर विवरण अभिलेख गरिदिन सक्ने व्यवस्था छ ।

राजनीतिक दल सम्बन्धी ऐनले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नमा चुनाव लड्नसक्ने व्यवस्था गरेको र त्यही ऐन अनुसार निर्वाचित भएपछि छुट्टिन चाहँदा निर्णय हुने बताउँछन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिई दुई वा दुईभन्दा बढी दलहरूले चुनाव लड्नसक्ने व्यवस्था छ ।

ऐनको सोही दफा अनुसार निर्वाचनमा चुनाव चिह्न मात्र प्रयोग गरिएको देवकोटाको भनाइ छ । बुधबार बिहान माओवादी संसदीय दलले गण्डकी प्रदेश सरकारलाई समर्थन फिर्ता लिने निर्णय गर्‍यो । उक्त महत्वपूर्ण बैठकमा देवकोटा गएनन् मात्र, आफू नेसपाको सांसद भएको दाबी पनि गरे ।

“नेपाल समाजवादी पार्टी छुट्टै पार्टी हो । संविधानले पार्टी खोल्ने, निर्वाचनमा भाग लिने अधिकार दिएको छ । संविधानको भाग २९ ले त्यो अधिकार दिएको छ र नेसपा त्यसरी नै दर्ता भएको पार्टी हो । अर्कातर्फ निर्वाचन कानुनले पनि एकल चुनाव चिह्न लिई चुनावमा भाग लिन पाइन्छ भनेको छ । हामीले चुनाव चिह्न लिए पनि हाम्रो पार्टी त छुट्टै हो नि । निर्वाचनका बेलामा नेसपा र माओवादीबीच चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको हो । पार्टी एकता त भएको छैन नि,” उनले भने ।

गण्डकीमा २०७९ को निर्वाचनपछि सुरुमा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा खगराज अधिकारी नेतृत्वको सरकार बन्यो । उक्त सरकार १०५ दिनमा ढलेपछि कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनको सरकार बन्यो ।

अहिले भने उक्त सरकार पनि अल्पमतमा परिसकेको छ । बुधबार माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीस दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

उनले संविधानको धारा १८८ (२) अनुसार विश्वासको मत नपाए ३ अनुसार स्वतः पदमुक्त हुन्छ । उनको विकल्पमा नयाँ सरकार बन्न पनि उत्तिकै जटिल छ । राप्रपा आएको खण्डमा मात्र नयाँ सरकार बन्ने अवस्था छ । तर, देवकोटालाई नेसपाले सरकारमा नजान भनेको खण्डमा राप्रपा आएपनि गठबन्धनको सरकार भन्ने नबन्ने देखिन्छ ।
एमालेका २२, माओवादीबाट सभामुखबाहेक र देवकोटासहित सात, राप्रपाका दुई गरी ३१ जनाको बहुमत पुग्छ । तर, बाबुराम भट्टराइको पार्टीले सरकारमा नजाने निर्णय गरेको खण्डमा देवकोटाले यो गठबन्धनलाई समर्थन गर्दैनन् । यसको अर्थ, नयाँ सरकार बन्न राप्रपा नआई सुखै छैन । आए पनि बहुमत पुर्‍याउन गाह्रो छ ।

देवकोटा पार्टीको निर्देशन कुरेर बसिरहेका छन् । उनी माओवादी दलको बैठकमा गएनन् । छलफलहरूमा आफूहरूलाई सहभागी नगराइएकोमा आक्रोश पोखे ।

“अनि यो पार्टीलाई कुनै छलफल, निर्णय प्रक्रियामा बोलाउनु पर्दैन ? के हामी जहाँ बाजा बजेको छ, गएर नाचिहाल्ने, प्लेट लिएर गएर भात खाइहाल्ने हो र ?,” उनले भने, “मलाई पार्टीले केही निर्देशन गरेको छैन । पार्टीको निर्देशन पर्खेर बसेको छु । के निर्णय आउँछ, त्यही अनुसार गर्छु,” उनले भने ।

हँसिया हथौडा चुनाव चिह्नबाट जितेको भन्दै माओवादीले भने उनलाई आफ्नै सांसद रहेको दाबी गर्दै आइरहेको छ । बुधबार संसदीय दलको बैठकपछि पनि नेताहरूले उनलाई माओवादीको सांसद होइन भन्ने हो भने ४० प्रतिशत बहुमत लिएर पार्टी फुटाउन चुनौती दिए । तर, देवकोटा भने सहमतिअनुसार नै चुनाव चिह्न प्रयोग गरिएको बताउँछन् ।

“गठबन्धनमा रहेर मत साटिएको हो, हामीले एक–अर्कालाई मत दिएका हौँ । अहिले यो कित्ताकाट अलिक जटिल बन्यो । नेताहरूले आफ्नो अनुकूलता गर्दा हामी बेवकुफ जस्तो भइयो । हामीले किन अरुलाई शत्रु मान्ने भनेर चुप लागेर बसेको हुँ,” उनले भने, “मलाई माओवादी संसदीय दलका नेताले पनि बैठकमा आउनुपर्छ भनेर भन्नुभएको थियो, मैले आफ्नो कुरा राखेर आउँदिन, अन्यथा नमान्नुहोस् भनेको हुँ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro