काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन 'सकारात्मक' भएको छ । मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको भेटवार्ता सकारात्मक रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र उनी सकारात्मक रहेको बताए । यद्यपि, नेकपा (एकीकृत समाजवादी)ले बुधबारको बैठकबाट टुंगो लगाउने बताएको छ ।
"हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ । सकारात्मक छ । यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ," उनले भने ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी ओली सहभागी थिए । साथमा एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल पनि थिए ।
बैठकबाट बाहिरिने क्रममा ओलीले पनि वार्ता सकारात्मक रहेको बताएका थिए ।