काठमाडौंका चर्चित मेयर बालेन शाह क्रमशः एक पछि अर्को विवादमा तानिंदै जान थालेका छन् ।
केही दिनअघिमात्र बालेन सेना अर्थात् महानगर प्रहरीले सुन्धारा नजिकै खुद्रा व्यापारीलाई निर्घात् रुपमा चुटेर यो महानगरमा आफ्नै कबल भाडामा लिएर पसल खोल्न नसक्नेले गरी खान पाउँदैनन् भन्ने अमानवीय सन्देश प्रवाह गरे ।
त्यतिमात्र होइन ति व्यापारीलाई नियन्त्रणमा लिएर मोटरमा राखेपछि पनि ‘तिमीहरूले सैनिक शासन देखेका छैनौ ?’ भन्दै पिट्दै लगेको बयानले यो सहर कसको हो भन्ने प्रश्न जनमानसमा उठ्न थालेको छ ।
काठमाडौंमा धेरै व्यक्ति मेयर भए र धेरै गए तर बालेन शाहजस्तो आक्रामक मेयर राजधानी सहरले देखेको थिएन ।
शाहको आक्रमकताले सहर सफा राख्न, सहरका पेटीहरूको द्रुत निर्माण कार्य गर्न तथा सरकारी जग्गाहरूको संरक्षण र सम्बद्र्धन गर्न अवश्य सहयोग गरेको छ ।
तर, हरेक विषयमा अत्यन्त आक्रामक ढंगले अघि बढ्ने कार्यशैलीले जनताका मौलिक अधिकार कुण्ठित हुन्छन् भन्ने विषयमा ध्यान दिन नसक्नुले युवा नेतृत्वमा जोश त हुन्छ तर होश हुँदैन भन्ने बुझाइलाई बारम्बार प्रमाणित गरेको छ ।
कुनै ‘भङ्जाहा’ व्यक्तिजस्तो कुनै कुरा बुझ्दै नबुझी स्याल हुँइया जमातको सामाजिक सञ्जालमा समर्थन पाउँछु भन्ने एकोहोरो बुझाइ राखेर लिएका दर्जनौं निर्णयले लज्जास्पद बनाइसक्दा पनि मेयर बालेनको काम गराइमा अलिकति पनि गम्भीरता र जिम्मेवारीपन आएको देखिँदैन ।
टुकुचा खोलालाई स्वतन्त्र बनाउने भन्दै हात्तिसारमा सय वर्षअघिदेखिको पुरानो संरचना भत्काउन जाँदा पुरातत्व विभागले रोक्नु पर्यो ।
सहरभरीका पसलमा सुर्ती र चुरोट बेच्न नपाउने भनेर आदेश जारीगर्दा अदालतले रोकिदियो ।
यो निर्णय आफैमा गलत भन्न सकिंदैन तर राज्यले यस्ता उद्योगहरूलाई स्विकृती दिएको छ कि छैन ? यस्ता उद्योग र व्यवसायीबाट राज्यले राजश्व उठाएर सरकार चलाएको छ कि छैन ? महानगरले यस्ता सामग्री बेच्ने व्यापारीबाट घर बहाललगायत अरु कर लिएको छ कि छैन ? भन्नुको अर्थ, यदी गलत कार्य हो भने सरकारले पनि यस्ता व्यापार, व्यवसायबाट कर लिनु भएन र उद्योग नै बन्द गरिदिनुपर्यो । हैनभने सस्तो लोकप्रियताका लागि जनताको दैनन्दिनीमा असर पार्ने निर्णयलाई लहडको भरमा लागु गर्नु भएन ।
ललिता निवासमा विशेष अदालतको आदेश आउनेबित्तिकै कुनै प्रक्रियानै पूरा नगरी त्यहाँका घर र अफिस उठाउन खोज्दा कानुनको ‘क’ पनि नजानेको र कसैसँग सल्लाह नलिने ‘बज्रस्वाँठ’ पारा रहेछ भनेर प्रमाणित भयो ।
विशेषको निर्णय त आयो तर त्यस निर्णयलाई अस्वीकार गर्दै, माथिल्लो अदालतमा पुनरावेदन दिन पाइन्छ भन्नेसम्म पनि ज्ञान नहुनुले हाम्रो युवा नेतृत्वको ज्ञानको दुःखद अवस्थालाई उजागर गरेको देखिन्छ । सुकुम्वासीको समस्या जबर्जस्ती समाधान गर्न खोज्दा उठेका समस्या जस्ताको तस्तै छ । सुकुम्बासीको समस्या समाधान हुनै पर्दछ र महानगरले आफूले चाहेजस्तो सहर सफा र सुन्दर बनाउनु पर्दछ ।
तर, कतिपय विषय नियम, कानुन र कतिपय विषय राजनीतिक पनि हुन्छन् । बल प्रयोग गरेरमात्रै सबै कुराको समाधान निस्कन सक्दैन भन्ने कुरा एक उत्कृष्ट र्याप गायकले थाहा पाएको हुनुपर्ने हो किनभने र्यापले पनि विचारको शक्तिलाई महत्व दिन्छ न कि पाखुराको शक्तिलाई ।
काठमाडौंका सडक र पेटीमा मान्छे हिँड्न सहज होस् भनेर महानगरद्वारा गरिएको कडाइलाई धेरैले समर्थन गरेकै छन् तर सडकमा सानो व्यवसाय गरेर, तरकारी बेचेर पेट पाल्ने ठूलो समूदायलाई कुनै विकल्प नै नदिइ हठात् पेटमा लात हान्ने व्यवहारलाई सामन्तवादी प्रवृतिबाहेक अरु केही भन्न सकिँदैन ।
फागुन १८ देखिमात्र कवाडी संकलन गरेर जीवन र व्यवसाय चलाइरहेका हजारौं व्यवसायीले मेयर बालेनविरुद्ध नारा लगाउँदै लगातार जुलुस र प्रदर्शन गर्दैछन् । सहर नराम्रो देखिन्छ भनेर कवाडी सामान थन्क्याउने र कारोवार गर्ने गोदाम र पसललाई हठात् बन्द गराउने निर्णय अर्को सामन्तवादी सोच हो ।
कवाडी पसललाई सफासँग राख्न लगाउन वा निश्चित समयमामात्र सामानको ढुवानी गर्न पाउने नियम बनाउनुलाई जायज मान्न सकिन्छ तर व्यवसायनै गर्न पाइन्न भन्नका लागि त्यस्ता व्यवसायले वायु प्रदुषण, ध्वनी प्रदुषण वा अन्य प्रकारले जनताको स्वास्थ्यमा सीधै असर पारेको हुनुपर्दछ ।
कवाडी सामानको सहज संकलनले सहर फोहोर हैन सफा बनाउन मद्दत गरेको तथ्यलाई नकार्न सकिंदैन ।
बालेन शाहले आफूलाई सर्वशक्तिशाली मेयर हुँ र मैले चाहेको जे पनि हुन्छ भन्ने सोच राखेको हो भने एकपल्ट मानवीय मनले र एक छोरीको पिता भएको हैसियतले पनि सोच्न हामी आह्वान गर्न चाहन्छौं । सहर सबैको हो ।
सबैलाई यस सहरमा मेहनत गरेर आफ्ना साना बच्चालाई हुर्काउन, पढाउन र बालेन शाह जस्तै सफल व्यक्ति बनाउने इच्छा हुन्छ ।
विभिन्न धर्म, जात, वर्ग, समुदाय आदि सबैको यो सहरमा बराबर अधिकार छ । सहरलाई राम्रो बनाउन सबैको साथ र सहयोग लिएर अघि बढ्ने कुरामा युवा मेयर बालेनलाई सबैले सचेत बनाऔं ।