site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला पन्तको घटना सम्झाउने चितवनकी १३ वर्षीया शालिनको मृत्यु प्रकरण के हो ?

काठमाडौं । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालभरी निधारमा रातो टीका र रातै गुन्युचोलीमा सजिएकी नाबालिकाको फोटो भाइरल छ । फोटोमै ‘जस्टिस फर’ शालिन लेखिएको छ ।

न्यायका लागि भन्दै सामाजिक सञ्जालमा त्यसरी अभियान नै चलाएर भाइरल बनाएको फोटो चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयको कक्षा ८ की १३ वर्षीया शालिन पोखरेलको हो । 

उनी फागुन १२ मा विद्यालयकै होस्टेलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शालिनको परिवारले उनी झुन्डिएको नभइ बलात्कारपछि झुन्ड्याएर हत्या गरेको आरोप लगाउँदै आएका छन् । 

परिवारले उनको पोस्टमार्टम चितवनको भरतपुर अस्पतालमा नगरी घटनाको ६ दिनपछि काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा गरेका छन् । टिचिङ अस्पतालले उनको पोस्टमार्टम रिपोर्ट तयार गरेर चितवन प्रहरीलाई पठाउने तयारी गरेको छ । 

पीडित परिवारको उजुरीका आधारमा विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरिएको चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । प्रहरीले पक्राउ गरिएकाहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए ।

शालिन दुई वर्षदेखि स्कुलकै होस्टेलमा बसेर पढ्दै आएकी थिइन् । प्रहरीका अनुसार शालिनको मामा घर रत्ननगर–१५ स्थित माधवपुरमा हो । घर भने गोरखा अजिरकोट–५ मा पर्छ ।

विद्यालयले घटना हुनासाथ परिवारलाई बोलाउनुको सट्टा प्रहरीलाई खबर गरेर परिवारका मानिस नपुग्दै शव कोठाबाट निकाल्नु नै घटना शंकास्पद भएको परिवारको आरोप छ । त्योबाहेक शालिनले आफ्नो जुत्ता र कपडासमेत धुने तयारी गरेको अवस्थामा शव फेला परेका कारण आत्महत्या नभई बलात्कारपछि हत्या गरेको परिवारको आरोप छ । 

चितवन प्रहरीले काठमाडौंबाट पोस्टमार्टम रिपोर्ट भने आउँन बाँकी रहेको जनाएको छ । चितवनका एसपी भाबेस रिमालले भने, “हामीले पीडित परिवारको उजुरीकै आधारमा तीनजनालाई पक्राउ गरिसकेका छौँ । पोस्टमार्टम रिपोर्ट पाएका छैनौँ । रिपोर्ट आएपछि थप केही भन्न सकिएला ।”

शालिनको मृत्यु प्रकरणसँगै पाँच वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाजस्तै हुने आशंका उब्जिएको छ ।  निर्मलाको १० साउन २०७५ मा साथीको घर गएर फर्किदा बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । उक्त घटनाको आरोपी अझै पक्राउ परेका छैनन् ।

हत्याको एक महिनापछि भदौमा प्रहरीले कञ्चनपुरकै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । तर, पछि दिलीपको डीएनए परीक्षण नमिलेपछि उनी छुटेका थिए । प्रहरीले करिब दुई सय जनाको डीएनए परीक्षण गर्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलको न्यायका लागि पनि सामाजिक सञ्जालदेखि ठाउँठाउँमा प्रर्दशन भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro