
काठमाडौं । उच्च अदालत पाटनले एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्ने बाटो खोलेको छ । पीडित महिलाको करिब डेढ वर्षसम्मको निरन्तर कानुनी लडाईंपछि उच्च अदालत पाटनले अनुसन्धान गर्न कानुनी बाटो खुलाएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आर्चायको इजलासले गत असार १२ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई आदेश गर्दै भनेकोे छ, ‘‘निवेदकले रिट निवेदन ल्याए नियम बमोजिम रित पुर्याई कानुन बमोजिम गर्नुहोला ।’’
बस्नेतविरुद्ध धादिङकी एक महिलाले २०८१ भदौमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिन प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले सुरुआतमा उनको उजुरी दर्ता गरेन । पछि हुलाकमार्फत जिल्ला सरकारी वकिल कार्यालय हुँदै प्रहरीमा पुगेपछि जाहेरी निवेदन दर्ता भएको थियो ।
तर, प्राप्त प्रमाणका आधारमा बस्नेतविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको जिकिर लिँदै प्रहरीले बस्नेतविरुद्ध अनुसन्धान नै नगरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझायो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पनि २०८१ माघ २० मा बस्नेतविरुद्ध जाहेरी दिँदाको आधार र प्रमाण नभएको दाबी गर्दै कार्यालयले प्रतिवेदन तामेलीमा राख्ने निर्णय गर्यो ।
उक्त निर्णयविरुद्ध पीडित महिला अनुसन्धान गरिपाउँ भन्ने तथा जिल्ला सरकारी वकिल कार्यालयको निर्णय बदरको माग गर्दै उच्च अदालत पाटन पुगिन् । उच्च अदालत पाटनका रजिष्टारले २०८२ वैशाख ४ गते पीडित महिलाको निवेदन बेरितको उल्लेख गरी दरपिठ गरेर बदर गरिदिए । त्यसपछि निवेदन दर्तासमेत भएन ।
रजिष्टारको उक्त दरपिठविरुद्ध उनी पुनः निवेदन लिएर इजलासमा पुगिन् । उक्त निवेदनमाथि आदेश गर्दै न्यायाधीश गुरुङ र आर्चायको इजलासले निवेदनबारे इजलासबाटै विचार हुनुपर्ने भन्दै निवेदन दर्ताको बाटो खुलाइ दिएको हो ।
यससँगै पीडित महिलाले पुन बस्नेतविरुद्ध अनुसन्धानको माग गर्दै निवेदन दिएमा दर्ता गरी कानुनी प्रक्रियामा लैजानुपर्नेछ ।
उजुरीकर्ता महिलाले आफूलाई बस्नेतले पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । आफूमाथि अनामनगरस्थित सनराइज अपार्टमेन्टमा बस्नेतले पटक–पटक जबरजस्ती करणी भएको आरोप लगाएकी हुन् ।
त्यसबाहेक आफूसित रहेको प्रमाण नष्ट गर्ने उद्देश्यले केही युवाहरूलाई आफू बस्दै आएको अमार्टमेन्टमा पठाएर मोबाइललगायतका समान चोरीसमेत गराएको आरोप लगाएकी छन् ।
आफूविरुद्धको निवेदनबारे उच्च अदालत पाटनले अनुसन्धानको बाटो खुलाएपछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स लेख्दै आफूविरुद्धको आरोप झुटो चक्रब्यूह भएको दाबी गरेका छन् ।
बस्नेतले स्टाट्समा लेखेका छन्, ‘‘नेपालको न्याय प्रणालीमा हामीले नै बनाएका बलात्कारविरुद्धको कडा कानुनहरू महिलाका पक्षमा एक ऐतिहासिक उपलब्धि हुन् । तर, पछिल्लो वर्षहरूमा देखिएको प्रवृतिले चिन्ताजनक मोड लिएको छ । बलात्कार जस्तो गम्भीर अभियोग व्यक्तिगत बदला र चरित्रहत्या वा राजनीतिक बद्नियतको औजार बन्दै गएको छ ।’’
उच्च अदालतको अनुसन्धान गर्ने कानुनी बाटोसँगै आइतबार पीडित महिलाले बस्नेतविरुद्ध अनुसन्धानका लागि उच्च अदालत पाटनमा निवेदन दिएकी छन् । आइतबार नै महेश बस्नेतकी पत्नीले पनि लामो स्टाट्स लेख्दै पीडित महिलामाथि गम्भीर आरोप लगाएकी छन् ।
उनले लेखेकी छन्, ‘‘प्रेमका नाममा ठगी धन्दा, पटक–पटक बिबाह अनि धोका, बहु–पुरुषसित लिभिङ टुगेदर, अनि बार्गेनिङ माग पूरा नभए बालात्कार मुद्दा ? के बलात्कार र भ्र्रुण हत्या पनि फरक–फरक पुरुषसित पटक–पटक हुन्छ ?’’ बस्नेतकी श्रीमतीले यसबाहेक अन्य गम्भीर आरोप लगाउँदै आफू पनि कानुनी लडाईँका लागि तयार रहेको सन्देश दिएकी छन् ।
यसरी बलात्कार आरोपमा उजरी परेर कानुनी बोटामै नआएका बस्नेतबाहेक नेकपा एमालेकै अर्का नेता बझाङका ऐन महर पनि हुन् ।
उनी विरुद्ध बझाङकै एक महिला जबरजस्ती करणीको मुद्दामा लामो समयदेखि कानुनी लडाइँमा छन् ।
महरमाथि पनि अनुसन्धान हुन सकेको छैन । महरले ती महिलासित भएको प्रमाण नस्ट गर्ने उद्देश्यले एक अर्की युवती प्रयोग गरी महिलाको मोबाइल चोरी गरेको आरोप पीडित महिलाले लगाउँदै आएकी छन् ।
महरविरुद्ध ती महिलाले २०८० जेठमै काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । तर, प्रहरीले हदम्याद र आवश्यक प्रमाणको आधारमा मुद्दा दर्ता हुन सक्ने आधार नहरेको भन्दै उजुरी दर्ता भएन ।
उनको मुद्दा समेत हुलाकी प्रक्रियाबाट दर्ता भएको थियो । तर, प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले महरविरुद्धको मुद्दा अघि बढ्ने आधार नरहेको भन्दै तामेलीमा राखेको थियो । प्रहरी र सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध उनीसमेत उच्च अदालत पाटन पुगेकी थिइन् ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय कृष्णराम कोइराला र ब्रजेस प्याकुरेलको इजलासले २०८१ माघमा महरमाथिसमेत अनुसन्धान गर्न आदेश दिएको थियो । तर, अझै पनि महरमाथिको अनुसन्धान प्रहरीले अघि बढाएको छैन ।
महरमाथिको अनुसन्धान प्रहरीले नबढाएको भन्दै महरविरुद्धको विभिन्न प्रमाण पीडित महिलाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै आएकी छन् । केही समयअघि महरकी श्रीमतीले समेत पीडित महिलाले आफ्ना पति ऐन महरको चरित्रहत्या गर्ने उद्देश्यले बलात्कार जस्तो कसुरमा जाहेरी दिन खोजेको आरोप लगाएकी थिइन् ।
ती महिलाले महरबाट विभिन्न मितिमा विभिन्न प्रलोभनमा पारी बलात्कार भएको आरोप लगाएकी छन् । आफूमाथि बलात्कारको लडाइँ लडिरहेका दुबै पिडित यो बीचमा साइबर अपराधका कसुरमा पक्राउसमेत परिसकेका छन् ।