काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताए । कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताए । मन्त्रालय तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे । यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए ।
प्रधानमन्त्रीले भने, "नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरू तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको संकेत होइन । यो निकै नै जटिल परिस्थितिको संकेत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ ।"
राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए ।