काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन ल्याएर संघीयतालाई बलियो बनाउनेमा आफ्नो जोड रहेको भन्दै केही दिनभित्रै सदनमा पेस हुने जानकारी दिए । रूसी सेनामा रहेका नेपालीहरूको अवस्था बुझ्न रूस सरकारसँग छलफल भइरहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै सम्बोधन गर्ने प्रयास भइरहेको बताए ।