काठमाडौं । तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (एनयूआरयूएफएफ) आगामी वैशाखमा रामेछाप नगरपालिकामा हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् ।
सेलिब्रेटी नेपालको आयोजनामा महोत्सवमा सहभागी हुन चाहनेहरूका लागि दर्ता खुला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाको भनाइ छ ।