गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित पारित गर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा महासमिति बैठकको समापन गर्दै सभापति देउवाले आगामी केन्द्रीय समितिबाट महासमिति बैठकमा आएका प्रस्तावहरू परिमार्जनसहित पारित गर्ने बताएका हुन् ।
"यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ," उनले भने ।
देउवाले वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा कांग्रेसले सरकारलाई सुशासनका लागि निरन्तर सुझाव दिइरहेको पनि बताए ।
"कांग्रेसलाई वैचारिकरूपमा अनुशासित ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्त्व राखेको छ," उनले भने ।
देउवाले आठ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको स्मरण गरे ।