
काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रतिवेदनमा छलफलका लागि पर्याप्त समय नदिएको भन्दै कोसी र सुदूरपश्चिम प्रदेशका सदस्यहरूले विरोध गरेका छन् ।
बैठक सञ्चालन भइरहेको हलमै उनीहरूले नाराबाजी गर्दै समय तालिका परिवर्तन गर्न माग गरेका हुन् ।
'नीति महाधिवेशन'समेतको नाम दिएर कांग्रेसले गरेको गोदावरी बैठकको उद्घाटन गत सोबार भएको थियो । मंगलबार प्रतिवेदन पेस भएका थिए ।
सबै प्रतिवेदनमा छलफलका लागि चारवटा समूह बनाएको कांग्रेसले सदस्यहरूलाई छलफलका लागि आजको मात्र समय तोकेका थियो ।
तोकिएको समय अपुग भएको, प्रतिवेदन अध्ययन र सुझाव दिन थप समयको व्यवस्थाा गर्न माग गर्दै उनीहरूले नाराबाजी गरेका हुन् । बैठक सञ्चालन गरिरहेका सहमहामन्त्री बद्री पाण्डेले माफी मागेपछि मात्र सदस्यहरू शान्त भएका थिए ।
सहमहामन्त्री पाण्डेले समय व्यवस्थापन गर्न नसकेकोमा माफी मागे पनि सदस्यहरूको मागअनुसार समय भने थप गरिएको छैन ।