
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचनको विधिबाट गठन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न माओवादीको प्रथम विधान अधिवेशनले पार्टी अध्यक्षले प्रस्तुत गरेको विधानलाई परिमार्जनसहित पारित गर्दै आगामी महाधिवेशनदेखि प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति गठन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी भने निर्वाचित कमिटीले चयन गर्ने निर्णय भएको छ । बैठकले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति र ११ जनाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको छ ।
बैठकले सबै जनवर्गीय संगठनको सम्मेलन गर्ने र पुनर्गठन गर्ने निर्णय गरेको छ । यस्तै, प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जनानकारी दिए ।
पार्टीको नाम र चुनाव चिह्नका विषयमा प्रश्न उठे पनि अहिले नै नाम र चुनाव चिह्न परिवर्तन गर्ने निर्णय नभएको उनको भनाइ छ ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विधान अभिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी विधान बनाइने बताउँदै त्यसैले संघीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने बताए ।
प्रचण्डले फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामा २० समूबाट सुझाव संकलन गरिएको थियो ।