काठमाडौं । कास्की प्रहरीले यात्रुहरूलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा–९ बसपार्क बस्ने २६ वर्षीय सागर क्षेत्री, पोखरा–३२ बस्ने २४ वर्षीय राजन खत्री, पोखरा–१४ खाल्टेमशिना बस्ने १९ वर्षीय सुनिल मल्ल र पोखरा–१५ बस्ने १९ वर्षीय अमृत सुनार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले आइतबार पोखरास्थित पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधनमा चढ्ने क्रममा यात्रुहरूलाई जबरजस्ती आफ्नो गाडीमा चढाउने तथा उनीहरूको इच्छाविपरीत झोला समेत खोसाखोस गर्ने काम गरेका थिए ।
सर्वसाधारणलाई हैरान पारेर अभद्र व्यवहार गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्वको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।