
काठमाडौं । कीर्तिपुरमा पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सोमबार आयोजक पाँचपोखरी थाङपाल गााउँपालिका र सिन्धुपाल्चोक क्रिकेट संघले प्रतियोगिताबारे जानकारी गराएका हुन् ।
प्रतियोगिता भोलि (मंगलबार)देखि असार २ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सिन्धुपाल्चोकका सात टिमको सहभागिता रहनेछ ।
टोलीमा वाग्मती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेर प्रदेश र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका दुई खेलाडीसहित जिल्लाका बासिन्दालाई मात्र सामेल गराउन पाइनेछ ।
प्रतियोगितामा पहिलो हुनेले एक लाख रुपैयाँ र र दोस्रो हुनेले ५० हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वाेत्कृष्ट खेलाडीलाई 'म्यान अफ द सिरिज', उत्कृष्ट ब्याटरलाई 'बेस्ट ब्याट म्यान' र उत्कृष्ट बलरलाई 'बेस्ट बलर' पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ग्रेट हिमालयन क्रिकेट ऐकेडेमी (जीएचसीए)ले ६ महिना र बेस्ट बलर तथा बेस्ट ब्याटरलाई तीन महिनालाई निःशुल्क क्रिकेट तालिम दिनेछ । त्यसैगरी, एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन महिना निःशुल्क क्रिकेट तालिम दिनेछ ।