site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कीर्तिमानी ब्याटिङमा सारथी बनेका अनिल र भीम

काठमाडौं । अन्तिम खेलमा नौ विकेटको सहज जित निकालेपछि नेपालले घरेलु मैदानमा आयोजित क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिन स्विप’ गर्‍यो ।

सोमबार कीर्तिपुरमा नेपाललाई जिताउन कीर्तिमानी ब्याटिङ गरेका ओपनर अनिलकुमार साह र भीम सार्की दुवैले शतक बनाए । शृङ्खलाको अन्तिम खेलमा यी दुईले नेपाली टिमका लागि कीर्तिमानी प्रदर्शन त गरे नै, दुवैको व्यक्तिगत प्रदर्शन पनि कीर्तिमानी रह्यो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गरे । पाहुना टिम ब्याटिङमा उत्रियो । 

Dabur Nepal
NIC Asia

ANIl-Bhim-1707757373.jpg
 

नेपाली टिमसँग दुईपटक सहकार्य गरेका पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको क्यानडाले ५० ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर २३२ रन बनायो । 

दोस्रो इनिङमा नेपाल जितका लागि २३३ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालबाट अनिल र भीमले करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि घरेलु टिमले नौ विकेटको जितसहित शृङ्खलाको उपाधि उचाल्यो ।

अनिल र भीम चम्किएको दिन

नेपालको जितसम्म अविजित रहेको अनिल १२४ बलमा १२ चौका र दुई छक्कासहित ११२ रनमा अविजित रहे । करिब डेढ वर्षपछि राष्ट्रिय टिमका कमब्याक गरेका अनिलको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । 

उनले भीमसँग कीर्तिमानी १८९ रनको अविजित साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याए । यी दुईले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी बनाए । यो जोडीले यसअघि सन् २०२३ मा जिम्बाब्वेमा जिम्बाब्वेविरुद्ध नै ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले बनाएको १७१ रनको साझेदारी तोडे ।

“बलअनुसार खेल्ने रणनीति थियो । आजको शतक यही सकियो । हाम्रो अब अरू पनि खेलहरू बाँकी छन्,” जितपछि कीर्तिमानी ब्याटिङका सारथी बनेका अनिलले भने, “सन्तुष्टभन्दा पनि खुसी छु । अझै पुगेको छैन । एक ब्याटरको रूपमा हामीले जति खेलेको छौँ, सधैँ रन नै चाहिन्छ ।”

Bhim-ANil-1707757375.jpg
 

अनिलले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । नेदरल्यान्ड्सको एमस्टरड्याममा भएको दुई खेलको एकदिवसीय शृङ्खलामा अनिलले मौका पाएका थिए ।

तर, त्यो शृङ्खला अनिलका लागि सम्झनलायक रहेन । दुवै खेलमा मौका पाए पनि उनले ब्याटिङमा क्रमशः २१ र चार रनमात्र बनाए । त्यसपछि चार वर्ष अनिल राष्ट्रिय टिमबाट बाहिर रहे । २०२२ मा पुनः राष्ट्रिय टिममा मौका पाएका अनिल त्यसमा पनि आफूलाई प्रमाणित गर्न असफल भए । 

केही समयअघिमात्र सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने उनले उत्कृष्ट पुनरागमन गरे । प्रतियोगिताकै उच्च स्कोरर बनेका अनिलले त्यहाँ एक शतक र दुई अर्धशतकसहित ३८६ रन बनाए । त्यसबेलादेखि नै अनिल आफ्नो चाहना राष्ट्रिय टिममा फर्किनु रहेको बताउँथे । राष्ट्रिय टिममा पुनरागमन गरेको दोस्रो खेलमै उनले शतक जोडे । 

सोमबार पत्रकारबाट 'आएको यति चाँडै राष्ट्रिय टिममा फर्किन्छु भन्ने सोच्नु भएको थियो ?' भन्ने प्रश्नमा अनिलले गहकिलो जवाफ फर्काए ।

VM-ANil-1707757375.jpg
 

“छिटो ? पाँच वर्षको बीचमा दुई खेल खेलेको थिएँ, मैले । त्यो पनि त्यसबेला इन्जर्ड थिएँ । धेरैजनालाई थाहा पनि थिएन होला । तर, पनि मैले खेलेँ । सक्छु जस्तो लागेको थियो, सकिनँ । छिटो भन्दा पनि पुनरागमन गर्न सकेकोमा ठिक छ,” अनिलले भने ।

धैर्यपूर्ण ब्याटिङ गरेका अनिलको सुरुआत भने आक्रामक थियो । उनले दोस्रो ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । अनिलले क्यानडाका उदय भगवानले बलिङमा दोस्रो ओभरको पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरेका थिए ।  

एकाउन्न बलमा आठ चौकासहित ५० रन पूरा गरेका अनिलले अर्धशतकपछि पनि ‘सेलिब्रेसन’ भने गरेका थिएनन् । यसैकारण खेलपछि पत्रकार सम्मेलनमा प्रश्न आइहाल्यो– 'अर्धशतकमा सेलिब्रेसन किन गर्नुभएन ?'

यसको जवाफ अनिलले व्यग्यांत्मक शैलीमा फर्काए, “एउटा अर्धशतक बनाइसकेको थिएँ । त्यसमा सेलिब्रेट गरिसकेको थिएँ, पुगिसकेको थियो ।”

सोमबार ‘क्लिन स्विप’ गर्नुपछाडिको श्रेयमा अनिलसँगै भीमले पनि उत्तिकै दाबी गर्न सक्छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शतक बनाएका भीमले पनि १२९ बलमा ११ चौका र एक छक्कासहित अविजित १०१ रन बनाए ।

अनिलले प्रधानमन्त्री कपबाट पुनरागमन गर्दा उक्त प्रतियोगितामा भीमको प्रदर्शन भने उल्लेखनीय रहेन । राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेटमा २१ खेलमध्ये १९ खेलमा मौका पाउँदा भीमले तीन पटकमात्र ५० भन्दा माथि रन बनाएका थिए । प्रदर्शन सन्तोषजनक भए पनि भीम उत्कृष्टको सूचीमा पुग्न सकेका थिएनन् ।

तर, सोमबार उनले करियरकै सबैभन्दा उत्कृष्ट इनिङ खेले । खेलपछि भीमले नै आफू पछिल्लो समयको प्रदर्शनबाट सन्तुष्ट बन्न नसकेको बताए ।

“पछिल्लो प्रतियोगिताहरूमा पनि खासै राम्रो भइरहेको थिएन । यसैकारण अवसर थियो मेरो लागि । आफैँबाट आफूलाई नै धेरै आशाहरू थिए,” उनले भने, “खेलाडीहरूलाई सबै खेल महत्त्वपूर्ण हुन्छ । सधैँ राम्रो गर्छु नै भनेर मैदानमा आएको हुन्छ । तर, कहिले हुन्छ, कहिले हुँदैन । आज अनिल दाइसँग लामो इनिङ खेलेर जानुपर्छ भनेर कुरा भइरहेको थियो ।”

ANil-Bj-1707757373.jpg
यो प्रदर्शनबाट तेस्रो क्रममा स्थायी ब्याटर खोजिरहेका प्रशिक्षक देसाईलाई भीमले पुनः आफू लयमा रहेको सन्देश दिएका छन् ।

यसै शृङ्खलामा पनि देसाईले तेस्रो क्रममा दुई फरक प्रयोग गरेका थिए । उनले पहिलो र दोस्रो खेलमा तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई पठाएका थिए । शृङ्खलामा पहिलोपटक तेस्रो नम्बरमा ब्याटिङका लागि आएका भीमले यसअघिका दुई खेलमध्ये पहिलोमा चौथो र दोस्रोमा पाँचौँ नम्बरमा ब्याटिङ गरेका थिए ।

तस्बिहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro