काठमाडौं । सरकारले चलचित्रले समाज बिगार्ने र उच्छृंखल बनाउने भन्दै सेन्सरलाई थप कडा बनाउँदै गएको छ । पारदर्शी कपडा लगाउनदेखि गाली गर्न समेत नपाइने प्रावधान सरकारले ल्याउने तयारी गरेको छ । पाँच सेकेन्डभन्दा लामो समय चुम्बनका दृश्य सिनेमामा राख्न नहुने गरी चलचित्र जाँचपास समितिले कार्यविधिको मस्यौदा तयार पारेको छ । चलचित्रमा बलात्कारका दृश्य पनि समावेश गर्न नपाइने प्रावधान ल्याउने तयारी छ ।
सेन्सर बोर्ड नै आवश्यक नभएको बहस भइरहेका बेला सरकारी निकायले सिनेमा निर्माणलाई थप कस्न खोजेपछि चलचित्रकर्मीले चर्को विरोध गरिरहेका छन् । सिनेमाले समाजलाई उच्छृंखल बनाउँछ भन्दै नियन्त्रण गर्न खोज्ने सरकारले यसको संरचना नै नबुझेको चलचित्रकर्मीको आरोप छ । चलचित्रको फर्म्याट बुझ्ने व्यक्ति र निकायले कहिल्यै सेन्सरका नाममा कस्न नखोज्ने सिनेकर्मीको टिप्पणी छ ।
चलचित्र समाजमा भए/गरेका घटना र विषय उठान गर्ने माध्यम भन्ने न्यूनतम बुझाइ पनि सरकारको सम्बन्धित निकायमा रहेका व्यक्तिमा नरहेको कलाकार हरिवंश आचार्य, दीपकराज गिरी र ऋचा शर्माको भनाइ छ । अहिलेको खुला समाजमा पनि सरकारले विभिन्न बहाना बनाएर सिनेमा निर्माणमा उल्झन सिर्जना गर्न खोजिरहेको उनीहरूको जिकिर छ ।
समाज बिगार्ने चलचित्र अहिले चल्दै नचल्ने कलाकार हरिवंश बताउँछन् । “समाज बिगार्ने चलचित्र दर्शकले नै हेर्नु हुन्न । त्यस्तो फिल्म चल्दा पनि चल्दैन । त्यसैले त्यस्तो क्लज राख्नुपर्छ भन्ने मलाई लाग्दैन,” उनी भन्छन्, “अपाच्य चिज नागरिक स्वयंले तिरस्कार गर्छन् । त्यसबाहेक मिडियाले त्यस्ता कुरा कोट गर्ने भएपछि स्वतः खारेज हुन्छन् ।”
समाज बिगार्ने र भत्काउने सिनेमा हेर्न जान दर्शकलाई लाज लाग्ने र बनाउने पनि सतर्क हुने उनको भनाइ छ ।
प्रजातान्त्रिक समाजमा देशको अखण्डता, जातीय सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउनेबाहेक अरू विषयलाई सेन्सरका नाममा रोक्न नहुने उनको धारणा छ ।
सरकार समयभन्दा उल्टो बाटो हिँड्न खोजिरहेको हरिवंशको टिप्पणी छ । “समय एकातिर हिँडिरहेको छ, तर कानुन त्यसको ठिक उल्टो हिँड्ने गरी बनाउने प्रयास भइरहेको छ । त्यस्तो प्रवृत्ति लामो समय टिक्दैन । सरकार पछि हड्न बाध्य हुनुपर्छ,” उनी भन्छन्, “अन्ततः पछि हट्नुपर्ने विषयमा सरकार अगाडि नबढेकै राम्रो हो ।”
सिनेमाको सेन्सरसम्बन्धी नियम बनाउने व्यक्तिलाई चलचित्रको ज्ञान नै नभएको उनी बताउँछन् । नियम बनाउने व्यक्तिहरू विज्ञ नै हुनुपर्नेमा उनको जोड छ । “सेन्सरको मस्यौदा जसले ड्राफ्ट गर्यो, सायद उसलाई सिनेमाको डेफ्तबारे जानकारी भएन,” उनी भन्छन्, “सिनेमा बुझ्ने मान्छेले यस्तो ड्राफ्ट बनाउँदैन । अहिले जे कुरा मस्यौदामा आएको छ, त्यो गलत छ ।”
सिनेमा बनाउनै नसक्ने ‘क्लज’ राखेर सेन्सर बोर्डले कार्यविधि बनाए सिनेकर्मी चुप नलाग्ने उनको भनाइ छ । सिनेमा एउटा उद्योग नै भइसकेको भन्दै उनी यो क्षेत्र विरोधमा उत्रिए राज्यले घुँडा टेक्ने बताउँछन् ।
कलाकार तथा निर्माता दीपकराज गिरी चलचित्रले समाजलाई बिगार्ने नभएर सपार्ने टिप्पणी गर्छन् । चलचित्रका सिन गनेर यो सिनेमा कस्तो भनेर मूल्यांकन गर्न नसकिने उनको धारणा छ । अन्तिमका केही सिनले चलचित्र कस्तो भन्ने निर्धारण गर्ने दीपक जिकिर गर्छन् ।
सिनेमा निर्माणको फर्मुला नबुझ्नेले मात्र चलचित्र नियन्त्रण गर्ने उनी बताउँछन् । “सिनेमाले समाजलाई बिगार्ने होइन, बनाउँछ । सेन्सर बोर्डमार्फत जे कुरा आउन लागेको त्यो सिनेमाको सामान्य फर्मुला नबुझ्नेले गर्ने काम हो । अधिकांश सिनेमाको ७० प्रतिशत सिन नेगेटिभ हुन्छ । बाँकी सिन पोजेटिभ हुन्छन्,” दीपक भन्छन्, “९० प्रतिशत सिनेमामा असत्यमाथि सत्यको जित, नकारात्मकविरुद्ध सकारात्मक पक्षको जित भएको देखाइन्छ । यो सत्यलाई बुझ्ने मान्छेको कमी हो, सरकारी निकायमा ।”
प्रहरीलाई खराब चरित्रमा देखाउन नपाइने अवस्था रहेको भन्दै दीपक प्रश्न गछन्– एउटा प्रहरीले यति धेरै खराब काम गर्यो, मैले उसलाई सिनेमामा मार्न पाउने कि नपाउने ? “आफ्नो व्यवहार सुधार्ने हो, सिनेमालाई सुधार्ने होइन । चलचित्रको सिर्जनशीलतालाई निमोठ्ने होइन । समाजमा रहेको खराबीविरुद्ध आवाज उठाउनु नै सिनेमाको काम हो,” उनी अगाडि थप्छन्, “सेन्स रबोर्डमा बस्ने व्यक्तिलाई चलचित्रको न्यूनतम ज्ञान समेत रहेनछ । खासमा सेन्सरमा बस्ने व्यक्ति सिनेमाको विज्ञ नै हुनुपर्छ ।”
पञ्चायतकालीन सोच भएका व्यक्ति जसले जीवनभर राजेश हमालका दुई सिनेमा हेरेको छ, उसलाई सेन्सर बोर्डको जिम्मेवारी दिन नहुनेमा उनको जोड छ । राजेश हमालका दुई र एउटा ‘छक्का पञ्जा’ हेरेको व्यक्तिले सेन्सर बोर्डमा बस्ने ल्याकत नराख्ने उनको टिप्पणी छ ।
“चलचित्रको सूक्ष्मता, विशिष्टता, समाजप्रति यसको दायित्व र सिनेमाको संरचनाबारे राजेश हमालका दुइटा र एकदुईवटा छक्का पञ्जा हेरेको व्यक्तिले कसरी बुझ्छ ?,” प्रश्न गर्दै दीपक भन्छन्, “चलचित्रले समाजमा कति परिवर्तन ल्याउँछ र क्रान्तिकारी भूमिका खेल्न सक्छ भन्ने मर्मलाई कति आत्मसात् गरेको छ, चलचित्रको विद्यार्थी नै होइन भने यसको विशिष्टता बुझेर कसरी मूल्यांकन गर्छ ?”
चलचित्रमा सुरुआत विकृत समाज र व्यक्तिबाट हुने र विस्तारै नकारात्मक पक्षमाथि सकारात्मक हाबी हुँदै जाने उनको भनाइ छ । चलचित्रको नायकले विकृति र विसंगतिविरुद्ध क्रान्ति गर्ने समाजलाई आफूसँगै डोर्याउँदै लगेर सत्यको विजयी भएको देखाउने दीपक बताउँछन् । उनी भन्छन्, “सिनेमाको यो संरचनालाई नै नबुझ्ने व्यक्ति र सरकारले कसरी राम्रो कुरा ल्याउँथ्यो सेन्सरको मस्यौदामा ?”
सिनेमा दृश्यभाषा हो । बलात्कार हुनु हुँदैन भन्न पनि त्यससम्बन्धी सिन देखाएर पछि पीडकलाई कारबाही वा पश्चात्ताप बोधको अवस्थामा पुर्याउने चलचित्रको संरचरनाभित्र पर्ने दीपक बताउँछन् ।
“अक्सर सिनेमाले असत्यमाथि सत्यको जित देखाउँछ । प्रधानमन्त्रीसँग एउटा नागरिकलाई रिस उठ्यो भने उसले प्रधानमन्त्रीलाई मार्ने योजना बनाउला सिनेमामा,” उनी अगाडि थप्छन्, “तर, फलानो सिनेमाले प्रधानमन्त्रीलाई मार्न सिकायो, यस्तो पनि सिनेमा बनाउने भनेर बुझ्न पाइन्छ ? त्यो सिनेमाको उद्देश्य के हो, दिन खोजेको सन्देश के हो त्यसमा ध्यान दिने हो ।”
नायिका ऋचा शर्मा सिनेमाले समाज बिगार्नेभन्दा पनि त्यहाँ जे छ, त्यसलाई छर्लंग पार्ने गरेको बताउँछिन् । “मलाई त सिनेमा समाजको ऐना हो भन्ने लाग्छ । समाजमा जे छ, भइरहेको छ, त्यही देखाइदिने हो,” उनी भन्छिन् ।
अक्सर समाजमा जे हुन्छ र बोलिन्छ, त्यही नै सिनेमामा देखाइने गरेको उनी स्पष्ट पार्छिन् । “लुट सिनेमा आउँदा ‘ओहो, कस्तो छाडा बोलिएको यो चलचित्रमा !’ भने । तर, सिनेमामा बोलेर त मान्छेले त्यो सिकेको होइन । समाजमा भएको कुरा देखाएको हो,” उनी भन्छिन्, “टलकजंग भर्सेस टुल्के पात्र सुरुमा गाउँबाट खेदियो । पछि ऊ सहरबाट फर्किएपछि क्रान्तिका कुरा गर्छ । टलकजंग भर्सेस टुल्के फिल्म आएपछि नेपालमा क्रान्ति हुन सुरु भएको हो र ? यो फिल्म आउनुअगाडि नै क्रान्ति भइरहेको थियो नि, होइन ?”
समाजका विषय सिनेमामार्फत देखाएर सूचना, शिक्षा र मनोरञ्जन दिने कार्यलाई नजरअन्दाज गर्न नहुनेमा उनको जोड छ । सिनेमामा चुम्बन गरेको सिन राखेकै कारण कसैले पनि त्यस्तो गर्न नसिकेको उनी बताउँछिन् । ऋचा भन्छिन्, “मान्छेलाई किस गर्न आउँछ, त्यसैले सिनेमामा किस गर्न लगाइएको हो ।”
सामान्य बुझाइलाई बेवास्ता गरेर सेन्सर बोर्डले ढुंगेयुगतर्फ फर्काउने कुचेष्टा गरेको उनको टिप्पणी छ । अहिलेको समय नेटफिल्क्स, अमेजन प्राइम भिडियोलगायत डिजिटल प्लेटफर्मका कारण विश्व खुला भइसकेको उनी बताउँछिन् । उनी अगाडि थप्छिन्, “यी प्लेटफर्ममा विश्वभरका हरेक किसिमका सिनेमा हेर्न पाइन्छ । कति कुरा हामी त्यहीँबाट सिकिरहेका छौँ । यो समयमा हामी ‘पाँच सेकेन्डभन्दा धेरै किस गर्न पाइँदैन, मित्रराष्ट्रलाई गाली गर्न पाइँदैन’ भन्ने कुरा गर्नु लाजमर्दो र बचपना मात्रै हो ।”
सिनेमाबारे न्यूनतम ज्ञान समेत नभएका व्यक्ति सेन्सर बोर्डमा रहेको परिणाम यसको कार्यविधिको मस्यौदा भएको ऋचाको भनाइ छ । “सेन्सर बोर्ड कसले चलाइरहेको छ ? सिनेमाबारे सेन्सर बोर्डमा बसेको मान्छेलाई थाहा छ कि छैन ? सेन्सर बोर्डमा बस्ने मान्छेलाई फिल्मको फ पनि थाहा छ कि छैन ?,” उनी प्रश्न गर्छिन्, “अहिलेसम्म अडल्ट सिनेमा छ भने कैँची लगाएर भए पनि सर्टिफिकेट दिइरहनुभएको थियो, अब त्यो पनि नहुने अवस्था आयो ।”
करोडौँ रुपैयाँ लगानी गरेर सिनेमा बनाए पनि सेन्सरले प्रदर्शनको अनुमति नै नदिने डर भएको उनी बताउँछिन् । नेपालमा निरन्तर सिनेमा बनाउने आठ/दश मेकर रहेकामा उनीहरूलाई पनि यस्तो मस्यौदाले सोच्न बाध्य बनाएको उनको बुझाइ छ ।
“जसले रेगुलर सिनेमा बनाएर सिनेमा उद्योगको इकोनोमी धानिरहनुभएको थियो, यस्तो निर्णयले के गर्ने भन्ने प्रश्न उठाइदियो,” ऋचा भन्छिन्, “हामी अगाडि जानुभन्दा पनि पछाडि गइरहेका छौँ । सिनेमा उद्योगलाई पछाडि लैजाने व्यक्तिले फिल्मबारे के बुझ्नुभएको छ भन्ने मेरो प्रश्न छ ।”
सेन्सरमा कस्ता मान्छे छन् र हुनुपर्छ भन्ने विषयले नेपाली सिनेमाको भविष्य निर्धारण गर्ने उनी बताउँछिन् ।