site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सवारी दुर्घटनाका तथ्यांक हेर्ने हो भने ‘स्तब्ध’ बनाउँछ । सँगै सवारी चालक नक्कली लाइसेन्सका फेहरिस्त देख्दा झनै अत्याउँछ । यो मुलुकमा ६ किसिमका नक्कली सवारी चालक अनुमतिपत्रका आधारमा एक लाख दुई हजार व्यक्ति सवारी साधन चलाउँदै छन् । 

सडकमा नक्कली लाइसेन्सको बिगबिगी हुनु भनेको ‘यमराज’ घुमिरहनु सरह हो । तिनले कतिखेर कसको ज्यान लिन्छन् भन्न सकिन्न । नक्कली लाइसेन्सको संख्या र नामनामेसीको फेहरिस्त स्वयं सरकारी संयन्त्रबाट संकलन भएका हुन् । अनि सरकारी अध्ययन प्रतिवेदनसँगै राज्यले तत्कालै संलग्नकर्ताहरू पहिचान गर्ने र नक्कली लाइसेन्स खोस्ने विशेष अभियान चल्छ भन्ने ठानिएको थियो । विकृति–बेथिति निन्त्रण गर्नु राज्यको आधारभूत दायित्व हो । अझ मन्त्री–प्रधानमन्त्रीले सुशासन मूल लक्ष्य बनाएको उद्घोष गरेको हुँदा त्यो भयावह तथ्यांकसँग सरोकार नराख्दा भनाइ–गराइबीचको विरोधाभासको खाडल बन्नेछ ।
    
सरकारले नक्कलीमाथि कारबाहीका अस्त्र चलाउनुको बदला उल्टो छानबिन प्रतिवेदन नै ‘भूमिगत’ राख्ने खेल रच्यो । मिडियाले समेत प्रतिवेदन प्राप्तिका निम्ति सूचनाको हक प्रयोग गर्नुपर्ने अवस्था आयो ।

राज्यसँगै रहेको कहालीलाग्दो तथ्यांकमाथि कारबाही गर्नुको बदला सरकारले मौनता साँध्नु रहस्यमय छ । यदि, सरकार नागरिकप्रति बफादार हुन्थ्यो भने ‘एक्सन’ देखापरिसक्ने थियो । सामान्य ‘एक्सन’ गर्न चाहेको भए पनि ट्राफिक प्रहरी कार्यालयहरूलाई ती ‘नक्कली लाइसेन्स’ नाम–नम्बर उपलब्ध गराउँदै कारबाही ‘निर्देशन’ गर्न सक्थ्यो । ट्राफिकले त्यो छानबिन फाइल समेत नपाएको जानकारी सार्वजनिक गराइसकेको छ । अर्थात् सरकार ट्राफिकलाई समेत नक्कली लाइसेन्सधारीको सूची उपलब्ध गराउन अनिच्छुक देखिनु आफैँमा उदेक लाग्दो छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सवारी दुर्घटनाको पहिलो कारण चालक हुन् । नक्कली लाइसेन्सधारी चालकको जगजगी रहेपछि दुर्घटना हुनु कुनै अनौठो रह्यो र ? सडकमा दश मिनेट उभिएर हेर्ने हो भने चालकका लापर्बाहीका हद् देख्न देखिन्छ, अझ मोटरसाइकल चालकहरू त आफ्नै ज्यानसमेत हत्केलामा पार्दै जिब्रो टोक्नुपर्ने दृश्य मञ्चन गरिरहेका हुन्छन् ।

प्रधानमन्त्री, मन्त्री, सचिवहरूलाई सडकमा उभिएर त्यस्ता दृश्य हेर्नुस् भन्न नमिल्ला । किनभने सडकमा त्यसरी उभिँदा उनीहरूलाई धक या लाज लाग्न सक्ला । तिनले ट्राफिकसँग सडकमा चालकका लापर्बाहीका ‘भिडियो’ माग्दै हेर्न सक्छन् । हाम्रा सडकमा अराजकताको राज छ ।  

न चालकले लेन अनुशासन पालना गर्छन्, न तिनलाई कतिबेला कसरी ओभरटेक गर्नुपर्छ भन्ने सामान्य ज्ञान छ । तिनले लाइसेन्स प्राप्त गर्नुपूर्व लिखित र ट्रायल (प्रयोगात्मक) परीक्षा पास गरेको भए त्यतिविधि अनुशासनहीन काम चालकहरूबाट प्रदर्शन हुने थिएन । सडकमा अनुशासनहीन दृश्य तीव्र हुनुमा एउटा कारण नक्कली लाइसेन्स पनि हो ।
नक्कली लाइसेन्सको तथ्य बाहिर आइसकेको पृष्ठभूमिमा सरकारी मौनता जायज ठानिँदैन । सडकमा नक्कली लाइसेन्सधारी सवारी चालकको ‘बिगबिगी’ अन्त्य गर्न सरकार तत्कालै रणनीतिमूलक योजनामा जानुपर्छ । पहिलो त, नक्कली लाइसेन्सधारीहरूको सूची ‘वेबसाइट’मा राखिनुपर्छ । सँगै ती लाइसेन्स ‘अवैध’ घोषित गरिनुपर्छ । 

दोस्रो, त्यस्ता लाइसेन्स निश्चित अवधिभित्र फिर्ताको चेतावनीमूलक योजना बनाइनुपर्छ । सरकारद्वारा तोकिएको अवधिभित्र लाइसेन्स फिर्ता नगर्ने हकमा जरिबानासहितको कारबाही प्रक्रियामा जानुपर्छ । तेस्रो, तत्काल नक्कली अनुमतिपत्र अनुसन्धान प्रतिवेदन ट्राफिकलाई उपलब्ध गराइनुपर्छ । ट्राफिकले पनि ‘चेक गर्ने’ अभियान चलाउनुपर्छ । सक्कली लाइसेन्सका निम्ति लिखित र प्रयोगात्मक दुवै परीक्षा पारदर्शी र पद्धति दह्रो बनाइनुपर्छ ।

कर्मचारीतन्त्रमा यातायात कार्यालय सरुवा मोह जाग्नुमा यस्तै नक्कली कामबाट अवैध धन आर्जन गर्न सकिन्छ भन्ने हो । त्यसो हुँदा नक्कली लाइसेन्स बाँड्ने महानिर्देशकहरूदेखि कर्मचारीहरूलाई निलम्बन गरी तत्कालै जाँचबुझमा जानुपर्छ । नक्कली लाइसेन्समा रजाईं चलाइरहेका दलाल–बिचौलियालाई कारबाहीको भागीदार बनाइनुपर्छ । 

सवारी चालक अनुमतिपत्रमा त्यस्तो विकृत काम गर्न दुस्साहस प्रदर्शन गर्ने अधिकृतदेखि सहसचिवसम्मका महानिर्देशकहरूले के–के गर्न मात्र बाँकी राख्लान् ? अझ यातायातमा कमाएकाहरू नै झन् आकर्षक कार्यालय पुगेको दृश्य पनि निरन्तर छन् नै ।

यस्ता प्रकरणमा मुछिएका सरकारी अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । उसले नक्कली लाइसेन्स प्रकरण छानबिनदेखि त्यसमा मुछिएकाहरूको हकमा सम्पत्तिको जाँचबुझ गर्नु जरुरी छ । नत्र विकृति–अराजकताको मूकदर्शक बन्दै गयो भने ‘रातो घर’ (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) माथि प्रश्न उठ्ने मात्र छैन कि विकृति–बदमासीकै संरक्षक ठानिनेछ ।

नक्कली लाइसेन्स प्रकरणमा अधिकारप्राप्त राज्यका अंग तथा संयन्त्रमा मौनता होइन, यतिखेर ‘अतिरिक्त सक्रियता’ चाहिएको छ । राज्य मौन रहन्छ भने चालु संसद् अविधेशनमा र संसदीय समितिमा पनि यी विषयमा बहस हुनुपर्छ । सरकारलाई कारबाही गर्न बाध्य पारिनुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro