site stats
बाह्रखरी :: Baahrakhari
खेल
टसबाट जित्यो भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि छिनोफानो क्वाइन टसबाट भएको छ । बिहीबार बंगलादेशको ढाकामा भएको खेलमा भारतले घरेलु टिमलाई टसमा हराउँदै युवा महिला साफ च्याम्पियनसिपको उपाधि जितेको हो । 

घरेलु मैदानमा १–० ले पछि परेको अवस्थाबाट बंगलादेशले खेलमा बराबरी गरेपछि नतिजाको निर्णयका लागि पेनाल्टी भएको थियो । खेलको आठौँ मिनेटमा सिवानी देवीको गोलमा भारतले अग्रता बनाएको थियो । तर, इन्जुरी टाइममा बंगलादेशकी सागोरिकाले गोल फर्काएपछि घरेलु टिम खेलमा फर्किएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसपछि खेलको निर्णयका लागि पेनाल्टी भए पनि दुवै टिमका समान ११ जनाले नै गोल गरेपछि ११–११ को बराबरीमा टाइब्रेकर टुंगिएको थियो । यसपछि खेलका रेफ्रीले नतिजाका लागि टस गरेका हुन् । टसमा भाग्यशाली बन्दै भारतले प्रतियोगिताको उपाधि जित्यो । 

टसमा भारतले जितेपछि बंगलादेशका खेलाडीले विरोध गरेका थिए । तर, रेफ्रीले टसको निर्णयलाई सदर गर्दा घरेलु टिमले उपविजेतामै चित्त बुझाउनुपरेको हो ।

फेब्रुअरी २ देखि सञ्चालित यस प्रतियोगितामा कुल चार देशको सहभागिता थियो । सिंगल राउन्ड रोविन पद्दतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगिताको यस संस्करणमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्