निकै अग्लो कद, बलिष्ठ देखिनु हुन्थ्यो, केशव कुमार बुढाथोकी । ठूलो स्वर थियो । परैबाट सुनिने । उस्तै मान्छे त उहाँको स्वर सुनेरै थरर हुन्थे । अगाडि परेर बोल्न डराउँथे । तर, उहाँ निकै मिजासिलो अनि मिलनसार ।
२०३६ सालको जनमत संग्रहको बेला थियो, त्यही बेलादेखि हो मेरो मित्रता भएको । त्यो विस्तारै झाङ्गिएर गयो अनि राजनीतिकरूपमा पनि एकसाथ भएर धेरै समय काम गरियो । २०४६ सालमा कांग्रेसमा सँगै आएपछि त झन् निरन्तर भेटघाट हुने नै भयो ।
२०५१ सालमा झापामा क्षेत्र नम्बर ७ (हाल ५) बाट उहाँले प्रतिनिधिसभाका लागि टिकट पाउनुभयो । चुनाव लड्ने तयारी गर्न दमक बस्नुपर्ने थियो । उहाँले डेरा खोजिदिन आग्रह गर्नुभयो । तीन महिनाजति डेरा बस्नुपर्यो खोजिदिनुहोस् भन्नुभयो । मैले मेरै घरमा बसेर चुनाव लड्नुहोस्, के भाडामा बस्नुहुन्छ भनेँ, मान्नुभयो ।
नाताले भान्जा । अन्य अन्तरंग कुराकानीमा भने सधैँ मेरा गुरु । उहाँ ०४६ पछि पार्टीमा प्रवेश गरेको । निडर र हक्की । तल्लोस्तरसँग जनजीवनसँग घर घर गएर साक्षात्कार गर्ने बानी थियो । दुःखी बिरामीलाई सधैँ साथ दिने । सामान्य प्रशासनमन्त्री भएको बेला दमक कांग्रेसका युवा नेता प्रकाश प्रसाईंलाई नर्भिकमा राखेको छ भनेर फोन गरिदिएको थिएँ । उहाँ त राति नै भेट्न पुग्नुभएछ । राति एक्कासि मन्त्री सुरक्षाकर्मीसहित आएको देख्दा चिकित्सकहरू पनि छक्क परेछन् ।
उहाँ आफ्नो क्षेत्र र पार्टीका लागिमात्र नभएर सबैका लागि सहयोगी हुनुहुन्थ्यो । बिरामी हुँदा उपचारमा सधैँ सहयोग गर्ने बानी थियो । राजनीतिक परिवेशमा पनि नहेर्ने । पार्टीमात्र नहेर्ने । अन्याय वा थिचोमिचो भएको भए सबैलाई सहयोग गर्ने । पूर्व जलस्रोत सहायकमन्त्री भएका बेला दक्षिण पश्चिम झापामा बाँध र सिचाइँका लागि थुप्रै काम गर्नुभयो । दमक र धमरपुरमा धेरै सिचाइँको काम गर्नुभयो ।
देहवासन पीडादायी भएको । घरघर र कुनाकुना सबै जातिमा पुग्नुहुन्थ्यो । सतार, मुसहर वा जुन जातिका भए पनि बुढाथोकी चलगेले भनेर शोक मनाइरहेका छन् । कांग्रेसलाई पनि ठूलो क्षति भएको छ । उहाँ एकदमै निडर लिडर हुनुहुन्थ्यो । कोहीसँग नझुक्ने । नडराउने स्वभाव थियो ।
कहिले पनि निराशाको कुरा निकाल्न दिनुहुन्नथ्यो । कसैबाट अत्याचार भएको भए सहन हुन्न भन्नुहुथ्यो । उहाँकै भरोसामा हामी धेरै दिनसम्म चल्यौँ ।
उहाँका धेरै राम्रा गुणहरू थिए । एक गाउँमा दुःख परेको बेला अथवा मलामी जाँदा आफैँ जाने गर्नुहुन्थ्यो । संविधानसभामा पाँच क्षेत्र माओवादीले लग्दा कांग्रेसका उहाँमात्र विजयी हुनुभएको थियो । दोस्रो चुनावमा पनि जित्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सामान्य प्रशासनमन्त्री हुनुहुन्थ्यो । उहाँ सात वर्षअघि सामान्य प्रशासनमन्त्री बन्नुभयो । पाँच दशक अघिदेखि राजनीतिमा सक्रिय बन्नुभयो । २०२४ सालमा, विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित हुनुहुन्थ्यो । अनि प्रजातान्त्रिक आन्दोलन होमिनुभयो । नौ महिना जेल बस्नुभयो ।
पञ्चायतमा लागेर युवक संगठनको झापा जिल्ला सभापति हुनुभयो । पछि राष्ट्रिय पञ्चायतमा समेत विजयी बन्नुभयो । बहुदलको वकालत गर्दा राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासन गरिदिनुभयो । जिल्ला पञ्चायत झापाको सभापति पनि बन्नुभयो । २०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ (हालको ५) बाट र दोस्रो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित बन्नुभएको थियो । उहाँले भारतको दार्जिलिङ्मा पढ्नुभएको थियो ।
उहाँका दुई छोरा र दुई छोरी छन् । उहाँको जन्म झापा शनिश्चरेमा भएको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सदस्य, सगरमाथा अञ्चलको संयोजकसमेत हुनुभयो । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।