site stats
बाह्रखरी :: Baahrakhari
देश
अपर्याप्त जनशक्तिका बाबजुद वार्षिक एकलाख बढीलाई सेवा दिँदै शुक्रराज अस्पताल 

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बुधबार आफ्नो ९०औँ वार्षिकोत्सव मनायो । सरकारीस्तरको एकमात्र सरुवा रोग अस्पतालको रूपमा रहेको शुक्रराज अस्पतालमा जनशक्ति अभावका बाबजुद पनि वार्षिक एकलाख बढी बिरामीलाई सेवा दिँदै आएको छ । 

अस्पतालले आर्थिक वर्ष २०७९/०८० मा मात्रै एकलाख ६०० जनालाई ओपीडी सेवा दिएको तथ्यांक छ । एमर्जेन्सीमा ११ हजार तथा अन्य विभिन्न सेवामा गरी एकलाख १५ हजार बढी बिरामीले सेवा लिएको अस्पतालको तथ्यांक छ । 

अस्पतालमा लागि सरकारले छुट्याएकोमध्ये करिब ४० प्रतिशत दरबन्दी रिक्त छ । १६७ जनाको दरबन्दी रहेकोमा ६३ वटा रिक्त रहेको अस्पताल निर्देशक डा. युवनिधि बसौलाले बताए । 

विशेषज्ञ चिकित्सकको दरबन्दी अस्पतालमा भएपनि काजमा अन्यत्र कार्यरत रहँदा समस्या देखिएको उनको भनाइ छ । 

अस्पताल विकास समितिकासहित हाल अस्पतालमा २६ चिकित्सक, ६७ नर्स र ६४ पारामेडिक्स, ४० प्रशासनिक कर्मचारी र ५६ जना सफाइ तथा सुरक्षाकर्मी गरी २५३ जना कर्मचारी कार्यरत छन् । 

अस्पताललाई केन्द्रीय सरुवा रोग अस्पतालको रूपमा विस्तार गरी ३०० शैयाको बनाउन चालु आर्थिक वर्षदेखि नै निर्माण थालिने डा. बसौलाले बताए । नयाँ भवन विस्तारका लागि हाल सहरी विकास तथा भवन निर्माण विभागबाट ठेक्काका लागि अन्तिम तयारीमा छ । 

बहुवर्षीय ठेक्का प्रक्रियाबाट अस्पताल निर्माणको काम अघि बढाउने निर्देशक डा. बसौलाको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्