site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चिसोबाट किसानलाई पशु जोगाउन समस्या

टीकापुर । पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ । 

चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीले भने, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।”

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ । जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन् । “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ”, उनले भने, “तर पनि बचाउन सकिएन । जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ ।”

चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए । “चिसोले हामीजस्ता व्यावसायिक रुपमा पशुपालन गर्नेलाई हैरानी भएको छ । मसँग ५० बढी गाईभैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ”, उनले भने, “लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनुपर्ने बाध्यता हामीलाई छ ।”

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ । सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ । चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए । रासस

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro