काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन् । उनलाई प्रहरीले २१ वर्षपछि सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विसं २०५९ फागुन २८ गते अंशसम्बन्धी विषयमा झगडा हुँदा उनले आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसेर हत्या गरेका थिए । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले उनलाई सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागी केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ ।