काठमाडौं । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारलाई आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्तिमार्फत पछिल्लो समय मुलुकमा सवारी दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका लागि तीनै तहको सरकार, यातायात व्यवसायी र यातायात मजदुरको संलग्नता रहने गरी कार्यदल गठन गर्न सरकारलाई आग्रह गरेका छन् ।
महासंघले पुस २७ गते नेपालगञ्जबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङ चेकपोस्ट नजिक दुर्घटना हुँदा १२ यात्रुको घटनास्थलमा मृत्यु भएको र २४ यात्रु घाइते भई देशको विभिन्न अस्पतालमा उपचार भइरहेको भन्दै दुःख व्यक्त गरेको छ ।
महासंघले दुर्घटनामा मृत्यु भएका आम यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
महासचिव गौतमले भवितव्य दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारलाई सरकारले उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्दै घाइतेको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिन पनि आग्रह गरेका छन् । रासस