site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कुर्थी दालको बास्ना र साइँला मामा   

अगहन अर्थात् मंसिर भर्खरै बितेको छ । यो पनि अगहनकै सम्झना हो, तर साढे चार दशकअघिको ।

साइँला मामा खेतको आलीमा टुसुक्क बस्नुभएको थियो । छेवैमा मकुवा छाता लडिरहेको थियो । कमिज, सुरुवाल र इस्कोट लगाउनुभएका मामा रहडीको झ्याङमा अडेसिएर बस्नुभएको हो कि ! त्यस्तै भान हुन्थ्यो ।

तर होइन, रहडीमा अडेस लगाउन कहाँ सकिन्छ र ! रुख त हैन त्यो अडेसा लगाउने खालको । खेतको ऊ पर कुनाबाट हेर्दा त्यस्तो लाग्ने मात्रै हो ।

Dabur Nepal
NIC Asia

अगहनको मधेस । अनि, पारिलो घाम । रापिलो नभएकैले होला, मामाको छाता आलीमा लडिरहेको थियो । कडक घाम भएदेखि खुल्थ्यो होला । मामालाई छाताले दोहोरो भरथेग गर्छ । अर्थात्, घामले पोले ओढ्न मिल्यो । हिँड्डुल गर्दा टेक्न पनि ।

हरेक साल अगहनमा साइँला मामा गाउँ आउनुहुन्थ्यो । डाक्टर मामाका पनि मामा साइँला मामा, मेरा हजुरमामा हुनुहुन्थ्यो । उहाँ खार्पाबाट हरेक वर्ष मधेस झर्नुहुन्थ्यो । अनि, एकआध महिना भलुवाहीको बसोबाससँगै उहाँको मायामा म सरोबरी भिज्थेँ ।

एक बिहान बाबा (हजुरबुवा) र साइँला मामा खाना खान चुलोनजिकै बस्नुभयो । भान्सा छुइने खालको ठेट्ना म (व्रतबन्ध भएको थिएन । व्रतबन्ध नभई भान्सामाथिसम्म हामी जान पाउँथेनौँ) अलि परै बसेँ, कान्छी सानिमा सरिता दिदी (मामाहरूले सानिमाहरूलाई दिदी सम्बोधन गर्ने हुँदा हामीले पनि सधैँ दिदी नै भन्यौँ) सँगै ।

गमढीको भात, कुर्थीको दाल र बारीझाडीमै फलेका तरकारी थालभरि फैलिएको थियो । हामी सबै खान थाल्यौँ । त्यसै बेला साइँला मामाले मलाई हेरेर भन्नुभयो— नाति केटोलाई कुर्थीको दाल मिठो लाग्छ ?

केही वर्षदेखि मामाघरै बस्दै आएकाले कुर्थीको दाल, गमढी र आँसु धानको भातसँग मेरो गहिरो साइनो जोडिसकेको थियो ।

आमा (हजुरआमा)ले चुलो छेउबाटै ‘खान्छ’ भनेर कुरो टुंग्याउनुभयो । 

साइँल ामामाको ओेठमा मृदुमुस्कान फैलियो । ‘सहरबजारतिर बसेको केटो, मिठो लाग्दैन कि भन्ने लागेको थियो । खाँदो रहेछ, हैन दिदी !’

आमा हाँस्नुभयो । अब देहातमा यस्तै नखाएर भो त ! सायद आमाले यस्तै सोच्नुभयो । बाबाको सोचाइ के रह्यो भन्न सक्ने कुरो भएन । बोल्नुपरे उहाँले पनि भन्नुहुन्थ्यो होला– कुर्थीको दालमा बानी बसिसकेको छ ।

०००

कुरो कुर्थीकै । आज साढे चार दशकपछि पनि साइँला मामा सम्झनामा आइरहनुहुन्छ । कारण त्यै कुर्थी हो । म्याडमको भान्सामा कुर्थी दालको बास्ना चल्यो कि मेरो स्मृतिमा साइँला मामा रगमगिनुहुन्छ, हररर ! उहाँको अतिस्नेहपूर्ण बोलीवचनले आज पनि मलाई अँगालो मारिरहेको हुन्छ ।

तिनताक उहाँसँगको भेट सालमा एकफेर मात्रै हुन्थ्यो । त्यो पनि यस्तै पाँचसात वर्षसम्म । तर, आजपर्यन्त साइँला मामालाई भुल्न सकेको छैन ।

ठ्याक्कै मेसो छैन मलाई, गाउँमा साइँला मामाका कति खेतबारी थिए भन्ने । सुनेको हुँ, राम्रै थियो रे ! मुसहरी टोलातिर पनि उहाँका खेत थिए । त्यसैले कट्नीफट्नीको समय उहाँको गाउँयात्रा हुन्थ्यो ।

रोपाइँको समय असारमा साइँला मामा आउनुभएको मेरो सम्झनामा छैन ।

०००

कहिलेकाहीँ भात खाने बेला साइँला मामा मलाई भन्नुहुन्थ्यो– लौ, नाति केटाले आज मुसहरीबाला कोलामा लोढहा लोढ्छ ।

आफूलाई खाईवरी स्कुल जानुपर्ने हुन्थ्यो । तर, साइँला मामाको कुरो सुनेपछि स्कुल जान नपाए हुन्थ्यो भन्ने लाग्थ्यो । स्कुल नगए लोढहाको बोझ अलि भरिलो हुन सक्थ्यो । स्कुल गएपछि त के लोढ्नु, अरूले नै सिध्याउँछन् !

अचेल भन्छन् नि– मन मे लड्डु फुटा । हो, ठ्याक्कै त्यही हुन्थ्यो मलाई त्यस बेला । मुंगेरीलाल के हसीन सपनेझैँ मेरा पनि सपना शृंखलाहरू वरिपरि नाच्न थाल्थ्यो । अपितु, स्कुल जानैपर्थ्यो । जाडोमा ३ बजेतिरै छुट्टी हुने भएकाले यदाकदा लोढ्हा पनि भ्याइन्थ्यो ।

धान काट्ने समयमा दैनिक पाँचसातवटा कोलाका धान काट्नुपर्थ्यो । त्यसैले समय त लाग्थ्यो नै । साइँला मामा साँझसम्मै खेतमा रहनुहुन्थ्यो । र, उहाँलाई भेट्टउने गरी दगुरेरै मुसहरी पुग्थेँ म ।

साँझपख खेतमा के नै भेटिन्थ्यो र ! बिहानै कटनी भएका खेत त झन् दारी खौरेझैँ सफाचट भइसक्थ्यो । छुटेका धानका बाला अरूको पोल्टामा पुगिसक्थ्यो । आफ्नो भागमा पर्ने नसोचे पनि हुन्थ्यो ।

कुनैकुनै ठाउँमा फेला परे मेरा हातले तान्न नसक्ने । धौनखीहरू भन्थे– ‘तोरो अबई है लोढ्ला लोढे ?

सन्ठी मार्का दुब्लो काया र पातलो हातखुट्टा । त्यस्तै मसिना पञ्जा । त्यसैले तिनलाई लाग्थ्यो, राजेशले लोढ्न सक्दैन । तथापि, म दुईचार मुठी धानका त्यान्द्रा भए पनि पञ्जामा पक्डिन चाहन्थेँ ।

जे होस्, कटनी हुँदै गरेका खेतबाट १०/२० त्यान्द्रा धानका बाला लोढ्न पाउनु पनि मेरा लागि युद्ध जितेभन्दा कम हुँदैनथ्यो । उता साइँला मामा खेतको पर कुनाबाट मेरो चर्तिकला हेरिरहनुहुन्थ्यो ।

मनमा लाग्थ्यो, काट्न बाँकी रहेका धानका बाला भए पनि तानूँ । मामाले देख्नु हुन्न क्यारे ! जनहरूले ‘रजेसबा धान लुछै है’ भनेर चुक्ली लगाउने छैनन् होला । भान्जा खलक भएकाले तिनले पनि ढील दिन्थे ।

अहँ, साइँला मामाकै अघिल्तिर धानका बाला उखेल्ने मेरो हिम्मत हुन्थेन । यसो यताउता छलिएका बेला धान तानेको हुँला, तर देखादेखी त्यो आँट कसरी गर्नु !

साइँला मामालाई कहिले कोसँग त कहिले कोसँग कुरा गरिरहेको देख्थेँ । गाउँका सबैसँग मामा उत्तिक्कै भिज्नुभएको थियो । हरेक वर्ष गाउँ आउने भएकाले पनि होला सबैसँग उहाँको हिमचिम रहेको ।

एक बिहान फेरि मामाले फरमान जारी गर्नुभयो– नाति केटो, मुसहरी आइज ।

त्यस दिन स्कुलबाट साथीहरूसँग न अल्मलिएर घरतिर भागेँ । हातमा बोकेका किताबहरू अँगनाको चटाईमा फ्याँक्दै म मुसहरीतिर दौडिएँ । न ड्र्ेस थियो न किताब राख्ने ब्याग । खुट्टोमा हवाई चप्पलकै वर्चस्व रह्यो, गाउँ बसुन्जेल ।

ड्रेस खोल्नुपर्ने, किताब राख्नुपर्ने, टिफिन र टुल्लेट थन्काउनुपर्ने केही थिएन । मेरो दिमागमा खेतमै बेच्न ल्याउने झिल्ली, मुरही, कचरी र लोढ्हा मात्रै थियो ।

घरको खाजामा अधिकांशतः बिहानको भात नै हुन्थ्यो । त्यही भात नुनतेलसँग मुछेर प्याज टोक्दै खाइन्थ्यो । तर, त्यस दिन त साइँला मामाको निम्तो परेको थियो नाति केटोलाई । खेतमा आउने ढक्की, चँगेरी व्यापारीको व्यापार पनि त गरिदिनुपर्यो !

आमाले कराउँदा कराउँदै पनि नसुनेर दौडिएँ । गोडा सुपर गाडीभन्दा बेगवान् थियो । खेतमा पुगेर झिल्ली मुरही खाने लालसाका अघिल्तिर बासी भात ! आमाले पनि बुझ्नुभयो होला, दौडाइको रहस्य ।

आज यतिका वर्षपछि पनि मलाई झिल्लीको सम्झना हुन्छ । अचेल मधेसमै पनि झिल्ली भेट्दिनँ म ।

खेतमा पुग्दा साइँला मामा जनबनिहार र अरू गाउँलेसँग वार्तामा हुनुहुन्थ्यो । म सिधै खेतमा पसेँ । दुईचारथान धान झरेको लार–पुवार हात लाग्यो । अब मामाका छेउ पुगेर टाउको चिलाउनुको विकल्प थिएन । सायद चाकडी थियो त्यो । आलीमै थचक्क बसेँ ।

‘खाजा खाइस् नाति केटा ?’

‘छैन...’

‘रे छौँडा, मुरहीबाली कत गेलै ?,’ मामाले सोध्नुभयो । खासमा खाजा बेच्ने महिलालाई बोलाऊ भन्ने संकेत थियो त्यो ।

केही बेरमा चँगेरीबाली आइपुगिन् । कचरी, झिल्ली र मुरहीको जलखै खान पाएपछि अरू के चाहियो र !

कसैको गम्छामै राखेर मैले खाजा खाएँ ।

धान कट्नीफट्नी समयको एउटा मिठो विम्ब हो, मुरही, कचरी । अरू बेला चोकबजारै पुगेर खानुपर्ने यो स्थानीय स्वादको खाजा तिनताक खेतखेतमै भेटिन्थ्यो । हामीजस्ता किशोरवयका ठेट्नाहरूका लागि त्यो खाजा नुनतेल भातभन्दा उपल्लो दर्जाको हुन्थ्यो । अचेलका केटाकेटीले चिउराभन्दा चाउचाउ मिठो मानेझैँ ।

जलखै खाइसकेपछि म साइँला मामाकै छेउमा बसिरहेँ । मेरो हातमा दुईचारथान पुवारको त्यान्द्रो झुन्डिरहेको थियो । मैले लोढ्न नसकेको मामाले देखिसक्नुभएको थियो ।

उहाँ हाँस्नुभयो । अनि, कट्नी गरिरहेको एउटा जनलाई एक पँजिया आँटी (कतैकतै अँटिया पनि भन्छन्) दिन अह्राउनुभयो । काटेर राखेको तर बोझा नबनाइएको धानबाट एक अँगालो झिकेर पोराले बाँधेर उसले मेरो दुवै हातमा थमायो ।

त्यहाँबाट दौडिएको म एकैचोटि घरमा रोकिएँ । साइँला मामालाई न त धन्यवाद भनेँ न त ‘मैले आँटी लिएँ मामा’ नै भन्न सकेँ । कस्तो अल्लारे उमेर होला !

यस्ता धानका आँटी कहिलेकाहीँ बाबाआमाले पनि दिन अह्राउनुहुन्थ्यो । यसरी हात लागेको एक अँगालो आँटीलाई खुट्टाले माडेर धान निकालिन्थ्यो । भ्याए आफैँ, नभए घरमै भएका कसैलाई भनेर धान र पराल छुट्ट्याइन्थ्यो ।

अनि, माडेर निस्केको धान बोकेर म मेरा फुपाजुको दोकानमा बेच्न जान्थेँ ।

त्यही एकआध सेर धानबाट आएको पैसाले दुईचार दिन मेरो फुर्माइसी चल्थ्यो । त्यो पैसोले कहिले लेमनचुस चुस्थेँ, कहिले मन लागेका कुरा हटियामा गएर किन्थेँ र खान्थेँ ।

साइँला मामाले दिनुभएको आँटीको धान बेचेर आएको पैसाले सिनेमा हेरिएन । किनभने, त्या ेबेला जयनगर गएर सिनेमा हेर्ने उमेर भइसकेको थिएन । साथीभाइसँग मिलेर अलिक टाढा जाने भनेको सारस्वर बजारसम्म मात्रै हो । त्यो पनि हटिया लागेको दिन ।

०००

कुर्थी अर्थात् गहतको दाल खानेलाई उहिले हेपिन्थ्यो । तर, आज त्यही कुर्थीको माग बढेको छ । कुर्थी भान्साभान्सामा पुगेको छ । र, मेरा लागि साइँला मामालाई सम्झिने एउटा आधार बनेको छ कुर्थी ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro