काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।
सत्ता गठबन्धनका १९ उमेदवार, चुनाव हारेकादेखि समानुपातिक सूचीमा परेकासम्म
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।
निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।