site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
व्यापारी श्रेष्ठको हत्या सम्झाउने शैलीमा दाङमा अर्को घटना

काठमाडौं । दाङ प्रहरीले बुधबार घोराही उपमहानगरपालिका–६, अघराका ४५ वर्षीय शिवराज केसीको हत्या आरोपित सार्वजनिक गर्‍यो । केसीको हत्या आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–४, गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी श्रीमती ३५ वर्षीया दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र मेघबहादुर कुँवरलाइ पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उक्त घटना ६ वर्षअघि दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या सम्झाउने गरी भएको छ । ०७४ जेठ २६ गते तुलसीपुरका व्यापारी श्रेष्ठको ‘हनी ट्रयाप’मा पारेर हत्या गरिएको थियो ।

तुलसीपुरकै १७ वर्षीया पूजा घर्तीलाई प्रयोग गरेर श्रेष्ठसँग प्रेमसम्बन्ध गर्न लगाइयो । पूजाले बोलाएको ठाउँबाट उनका बुवा टीकाराम घर्तीलगायत व्यक्तिको समूहले श्रेष्ठलाई अपहरण गरी हत्या गरेको थियो ।

Dabur Nepal
NIC Asia

उनीहरूले श्रेष्ठसँग तीन करोड रुपैयाँ फिरौती माग्ने उद्देश्यका साथ अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अपहरणपछि उनीहरूले श्रेष्ठलाई सल्यानको जंगलमा तीन दिनसम्म लगातार हिँडाएर बिरामी परेर ढलेपछि हत्या गरेका थिए ।

हाल पूजालगायत श्रेष्ठको हत्याका अभियुक्त उनकै बुवा टीकाराम र अरू संलग्न व्यक्तिले जेल जीवन भोगिरहेका छन् ।

ठिक त्यही शैलीमा केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । केसीको हत्यामा पनि शेरबहादुर कुँवरले आफ्नी श्रीमतीको प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले बताए ।

उनले श्रीमती दीपालाई फोन सम्पर्क गरी केसीलाई बोलाउन लगाएर बन्धनमा पार्ने योजना बनाएका थिए । केसीको सम्पत्ति हडप्ने उनको योजना थियो । तर, केसीले सम्पत्ति दिन अस्वीकार गरेपछि उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसरी बुनियो केसीको हत्या योजना
घोराही–६ स्थित अघरा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका केसी यही पुस ८ गतेदेखि बेपत्ता थिए । उनी घरबाट ‘घोराही बजार जान्छु’ भनी निस्किएका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा आएनन् । केसी सम्पर्कविहीन भएपछि आफन्तले प्रहरी गुहारे ।

बेपत्ता भएको पाँच दिनपछि बंगलाचुली गाउँपालिका–४, गदारी जंगलको कोइलाखानीमा उनको शव भेटियो । खानीभित्र ६० मिटर गहिराइमा कोइलाको धुलोले छोपेको अवस्थामा केसीको शव भेटिएको थियो ।

प्रहरीले शवबारे अनुसन्धान गर्‍यो । केसीको छातीमा गोली लागेको भेटियो । प्रहरीले केसीको हत्या भएको आशंका गर्दै त्यही दिनदेखि अनुसन्धान तीव्र पार्‍यो । कोइलाखानी आसपासका दजनौँ मानिससित सोधपुछ गर्‍यो ।

प्रहरीले केसीसँग अन्तिम फोन सम्पर्क भएकामाथि कडाइका साथ सोधपुछ थाल्यो । केसीसँग शेरबहादुरकी श्रीमती दीपाको फोन सम्पर्क अस्वभाविक देखियो ।

दीपामाथि प्रहरीले थप केरकार गर्‍यो । त्यही क्रममा उनले केसीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार गरिन् । प्रेमसम्बन्धका कारण आफूले केसीलाई कोइलाखानीमा बोलाएको र आएपछि आफ्नो भाइ र श्रीमान्ले हत्या गरेको स्वीकार गरिन् ।

दीपा र शिवराजको प्रेमसम्बन्धबारे शेरबहादुर समेत जानकार रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

त्यो दिन शेरबहादुरले शिवराजलाई कोइलाखानीमा बोलाउन लगाउने योजना बनाए । घोराहीमा केसीको नाममा रहेको दुई कट्ठा जग्गा आफ्नो नाममा राख्न लगाउने योजना बुने । त्यहीबमोजिम दीपाले केसीलाई फोनमार्फत कोइलाखानीमा बोलाइन् ।

त्यहाँ दीपासँगै उनका श्रीमान् र भाइ तिकल पनि थिए । प्रेमिका भेट्ने आसमा कोइलाखानी पुगेका केसीलाई शेरबहादुर र तिलकले बन्धक बनाए । घर फर्कने भए घोराहीको दुई कट्ठा जग्गा दीपाको नाममा राखिदिन दबाब थिए ।

केसीले त्यो स्वीकार गरेनन् । त्यसपछि शेरबहादुरले भरुवा बन्दुकले केसीको छातीमा गोली हानेर हत्या गरे । हत्यालगत्तै उनीहरू भारत भागेका थिए ।

दाङ प्रहरीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । दीपाले श्रीमान्सँग मिलेर ‘हनी ट्रयाप’मा पारी केसीको हत्या गरिएको प्रहरीको जिकिर छ ।

प्रहरीले केसीको हत्या गर्दा प्रयोग गरिएको भरुवा बन्दुक समेत बरामद गरेको छ । पक्राउ परेका चारैजनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro