site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा उमेदवार चयन गर्दा आफ्नै निर्णय पालना गर्छ कांग्रेसले ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको पुस १२ देखि १४ गतेसम्म चलेको बैठकको निर्णय नम्बर दुईमा ठाउँ पाएको छ, ‘राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार चयनसम्बन्धी विषय ।’ केन्द्रीय समिति बैठकमा निर्णय गर्दै कस्ता व्यक्तिलाई उमेदवार बनाउने भनी स्पष्ट लेखिएको छ ।

‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान  पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ निर्णयमा लेखिएको छ ।

निर्णयको अर्थ हुन्छ, अब कांग्रेसले राष्ट्रियसभालाई नेता व्यवस्थापन केन्द्र ‘डम्पिङ’ साइड बनाउने पक्षमा छैन । पटक–पटक पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिमा अवसर नपाएकाहरूलाई उमेदवार बनाउने नीति कांग्रेसले अंगीकार गर्‍यो भन्ने देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, व्यवहारिक रूपमा यो सम्भव छ त ?

पार्टी महामन्त्री गगन थापा नै सभपातिबाहेकको मान्छे उमेदवार नबन्ने निष्कर्षमा छन् । गएको शनिबार भक्तपुरको एक कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले कोटको खल्तीबाट नाम निकालेर उमेदवार बनाउने धारणा राखेका थिए ।

Global Ime bank

“प्रदेशलाई तीनजना छान्न भनेर पठाएको, प्रत्येकले ३०० जनाको नाम पठाएका छन् । कुल २१ सय मानिसको नाम छ । काँटछाँट गर्दा हजार पुग्छन् । सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ,” उनले भनेका थिए ।

आफैँ तीन दिनको बैठकमा बसेर छलफल गरेका र निर्णय लेखेका केन्द्रीय नेताहरूनै पार्टीमा लामो समय दुःख गरेका, कांग्रेसका लागि अहोरात्र खटेका र अवसर नपाएकाहरू उमेदवार बन्छन् भन्नेमा ढुक्क छैनन् ।

“जित्ने बेला चाहिँ पकेटको, गोजीको मान्छेलाई टिकट दिने । हार्ने बेला चाहिँ पार्टीलाई योगदान भन्दै अघि सार्ने,” केन्द्रीय सदस्य राजिव कोइरालाले बाह्रखरीसँग भने, “मलाई थाहा छैन, कसले टिकट पाउँछ । गठबन्धनले गर्दा जित सहज देखिन्छ । महेश दाई, मीन विश्वकर्माजीहरूलाई टिकट दिए भयो नि यतिबेला । छ नेतृत्वको आँट ?”

प्रदेश समितिहरूले गरेको सिफारिसअनुसार अघिल्लो वर्ष प्रतिनिधिसभा निर्वाचन हारेकाहरूको नाम बढी छ । यस्तै, समानुपातिकबाट प्रतिनिधिसभा छिर्न चाहेकाहरू र सफल नभएकाहरूले पनि समानुपातिकबाट नाम फिर्ता लिएर राष्ट्रियसभामा छिर्न चाहेका छन् ।

विशेष गरेर एक वर्षअघि प्रतिनिधिसभा निर्वाचन हारेका कृष्णप्रसाद सिटौला, सुजाता कोइरालाको नाम कोसी प्रदेशबाट सिफारिस भएको छ । सिटौलालाई राष्ट्रियसभा सदस्य बनाउँदै अध्यक्ष बनाउने वचन सभापति देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका छन् ।

गएको वर्ष प्रदेशसभा निर्वाचन हारेका गुरूराज घिमिरे, प्रतिनिधिसभा निर्वाचन हारेका भरतकुमार शाह लगायतले पनि आकांक्षा राखेका छन् ।

यस्तै, समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै गोपालमान श्रेष्ठ पनि राष्ट्रियसभा प्रवेश गर्न चाहन्छन् । केन्द्रीय नेताहरू आनन्दप्रसाद ढुंगाना, अब्दुल सतारले पनि राष्ट्रियसभा छिर्नकै निम्ति नाम फिर्ता लिएका छन् । उनीहरूले अनौपचारिक संवादमा राष्ट्रियसभाकै निम्ति समानुपातिक उमेदवारी फिर्ता लिएको स्वीकार गरेका छन् ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पार्टीको निर्णयलाई साँघुरो अर्थबाट विश्लेषण गर्न नहुने धारणा राख्छन् । राष्ट्रियसभामा जाने व्यक्ति झोला बोकेर जाने र हाजिर गरेर आउनेमा सीमिति नभई स्वीकार्य व्यक्ति आवश्यक हुने उनको धारणा छ ।

संविधानले परिकल्पना गरे अनुसारको व्यक्ति पठाउन कांग्रेसले मापदण्ड बनाएको उनले बताए । “त्यस्ता व्यक्ति जसलाई समाजले स्वीकार्न सक्छ त्यस्ता व्यक्ति पठाउने हो । हामीले बनाएको मापदण्डअनुसार संसदीय बोर्डमा छलफल हुन्छ र उमेदवार चयन हुन्छ,” उनले भने ।    

आसन्न २१ फागुनबाट राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिँदैछ । जसमध्ये १९ जना निर्वाचित र एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुनेछ । निर्वाचनका लागि पुस २३ गते उमेदवारी दर्ताको मिति तोकिएको छ ।

कांग्रेस सत्ता गठबन्धनमा छ । कांग्रेसले बढीमा ९ सिट राष्ट्रियसभामा पाउनेछ । गठबन्धनले एमालेलाई पनि भाग दिए कांग्रेसको यो सिट संख्या पनि घट्नेछ । यतिखेर कांग्रेस संस्थापन निकट नेताहरू हाँसीमजाकमा भन्दैछन्, ‘‘सभापति देउवाले ९ सिटमा १०९ जनाभन्दा बढीलाई उमेदवार बनाउँछु भनिरहेका छन् । सँगै प्रत्येकलाई बाहिर हल्ला नगर्नु माहौल बिग्रन्छ ।’’

यस्तोमा कांग्रेसले आफ्नै निर्णयलाई अपव्याख्या गर्दै पटक–पटक अवसर पाएकालाई नै टिकट दिन्छ भन्नेमा दुईमत छैन ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा राष्ट्रियसभालाई ‘डम्पिङ साइट’ बनाउन नहुने बताउँछन् । संविधानको मर्म नै सबैलाई समान अवसर भएको भन्दै एक पटक अवसर पाएकालाई  दोहोर्‍याउन नहुने धारणा राख्छन् । उनी भन्छन्, ‘‘पुरानै नेता र अवसर पाएकाहरूलाई पुनः दोहोर्‍याउने भए जनता कांग्रेसबाट दिक्क भएर टाढिने अवस्था सिर्जना हुन्छ ।’’

“नेताहरू आफ्नो घेरबाट बाहिर निस्केर अवसर नपाएका र नयाँ अनुहारलाई अवसर नदिए जनता हामीबाट टाढिने छन् । जनताले हामीलाई उन्मुक्ति दिनेछन्,” खतिवडाले बाह्रखरीसँग भने, “राष्ट्रियसभालाई ‘डम्पिङ साइट’ नबनाऊ । मेरो तेरो नभनी राष्ट्रियसभाको चरित्रअनुरुपका व्यक्तिहरूलाई अवसर दिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय