पोखरा । अहिलेजस्तो पोखरा भरिभराउ थिएन, खुला थियो । गाउँ नै थियो । पृथ्वी राजमार्गले काठमाडौं र पोखरा भने जोडिइसकेको अवस्था थियो । बस्तीहरू पातलै थिए ।
०४२ सालमा पोखरामा दुई समुदायबीच झगडा भयो । थकाली र गुरुङ समुदायबीचको झगडाले त्यति बेला पोखरा तनावग्रस्त थियो । यो घटना देखेका गणेशबहादुर भट्टराईलाई यी समुदायलाई झगडाको सट्टा सद्भावको वातावरणमा कसरी ल्याउन सकिएला भन्ने लागिरहन्थ्यो ।
“गुरुङ र थकाली मात्र होइन, तामाङ, नेवार, मगर, थारु समुदायको आफ्नै संस्कृति छ, आफ्नै खाना छ, आफ्नै विशेषता छ । यिनीहरूलाई कसरी एकै ठाउँमा ल्याउन सकिएला भन्ने लाग्थ्यो,” उनी भन्छन् ।
पोखरा सडक महोत्सव २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती मनाइरहँदा त्यसका संस्थापक एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले यसका सुरुआती दिन सम्झिन पुगे ।
त्यो दुई समुदायबीचको झगडापछि सद्भाव कायम गर्न, स्थानीय उत्पादन र खानाको ‘ब्रान्डिङ’का निम्ति २५ वर्षअघि अर्थात् सन् १९९८ मा पोखरामा रेबान स्ट्रिट फेस्टिभल सुरु गरिएको उनी बताउँछन् ।
बेलाबेलाका मेला–महोत्सवभन्दा फरक तरिकाले सञ्चालन गर्न ‘फेस्टिभल’मा फुड र म्युजिक थपियो । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पर्यटकलाई पोखरामै राख्ने प्रयत्न गरियो । डिसेम्बरको अन्तिम दिन पोखराको लेकसाइड क्षेत्र रातभरजसो जागा देखिन्छ । तीन किलोमिटर क्षेत्रमा फैलिएको महोत्सवमा सडकमै म्युजिकमा रम्न पाइन्छ, मन परेको खाना त्यहीँ खान पाइन्छ ।
फेस्टिभलमा म्युजिक र फुड जोड्ने ‘कन्सेप्ट’चाहिँ गोवा गएपछि मात्र फुरेको उनी सुनाउँछन् । “म गोवा गएको थिएँ, त्यहाँ एआर रहमानले गीत गाउनुभयो,” भट्टराई सम्झिन्छन्, “त्यसपछि नै पोखराको स्ट्रिट फेस्टिभलमा संगीत र खाना जोडिए ।”
यो फेस्टिभलले २५ वर्ष पूरा गर्नुका पछाडि तत्कालीन राजा वीरेन्द्र पनि जोडिन्छन् । राजा वीरेन्द्र त्यति बेला पोखरा आएका थिए । पोखरामा उनले पर्यटक देखेनन् । आएका पर्यटक पनि आफ्नो देश फर्कंदै थिए ।
राजाले यस बारेमा भट्टराईसँग सोधे । “उहाँले पोखरामा पर्यटक किन छैनन्, अफ सिजनमा यहाँ बिजनेस किन कम्ती हुन्छ ? दक्ष जनशक्ति के कति छन्, व्यवसायलाई बैंकको फाइनासन्सको व्यवस्था के छ ? के गर्यो भने पर्यटक बढछ्न भनेर सोध्नुभयो,” भट्टराईले भने । त्यसपछि नै यो महोत्सवको खाका कोरिएको हो ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखरा २०५२ सालमा स्थापना गरियो । संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ र उपाध्यक्ष बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई थिए । यी दुईजनाको जोडीले पोखरा सडक महोत्सवको परिकल्पना गरेको थियो ।
पहिलो संस्करणको संयोजक उपाध्यक्ष भट्टराई थिए । राजासम्म कुरा पुर्याउने र कार्यक्रमको संयोजक रहेकाले परिकल्पनाकार भट्टराईलाई मानिन्छ ।
सन् १९९८ मा पोखरामा पहिलोपटक सानो आकारमा सडक महोत्सव गरियो । आधा किलोमिटर स्थानभित्र सो महोत्सव गरिएको थियो । अहिले यो महोत्सवले तीन किलोमिटरभन्दा बढी क्षेत्र ओगट्छ ।
सुरुमा रेबानले सञ्चालन गरेको महोत्सवको नाम अहिले पोखरा ‘स्ट्रिट फेस्टिभल’ राखिएको छ । ०५४ सालमा ‘लेकसाइड मिनि फेस्टिभल’ भनेर महोत्सव सुरु गरिएको थियो ।
त्यति बेला फेस्टिभल लेकसाइडको बाराहीचोकदेखि २०० मिटरभित्र मात्र सीमित थियो । दोस्रो वर्षदेखि महोत्सव तीन किलोमिटर क्षेत्रमा सात दिनसम्म गर्न थालिएको हो ।
पहिलो महोत्सवमा ह्यान्डी क्राफ्ट, माटोका सामान प्रदर्शनी गरिएको थियो । पहिलो संस्करणको फेस्टिभल एक ‘स्ट्रिट एक्स्पो’जस्तो रहेको भट्टराई बताउँछन् ।
महोत्सवको सुरुआती संस्करणमा अहिलेजस्तो विभिन्न परिकार र खानाको बिजनेस थिएन । त्यति बेला ह्यान्डी क्राफ्ट, माटोका भाँडा, ढाकाको कपडाका उत्पादन बिक्री गरिन्थ्यो । लेकसाइडको सडकका दुई किनारमा व्यवसायीले स्टल राख्थे । ठाउँठाउँमा गुरुङ, मगर, नेवार समुदायको नाच देखाइन्थ्यो ।
माओवादी द्वन्द्वकाल, कोरोना संक्रमणको समयमा पनि महोत्सव रोकिएन । सुरुआती समयमा सडकमा कम मात्र मान्छे हुन्थे । अहिले तीन किलोमिटर क्षेत्रमा पूरै भीड हुन्छ । फेस्टिभलमा आउनेमा अधिकांश भारतीय र नेपाली हुन्छन् ।
यो महोत्सवले अहिले पोखरा मात्र नभई आसपासका क्षेत्रको अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । यो वर्ष पुस १२ देखि सुरु महोत्सव १६ गते (सोमबार) सकिनेछ ।
महोत्सवमा बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडकनाटक, डकुमेन्ट्री प्रदर्शनी, स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, कृषि प्रदर्शनी, मःम, ससेज खाने प्रतियोगिता समावेश छ ।
यसका परिकल्पनाकार भट्टराई भने महोत्सव अझै सोचेजस्तो नभएको बताउँछन् । “हामीले अझै पनि सात प्रदेशका मान्छेहरूलाई भेला गराउन सकेका छैनौँ । हामी रेबान स्ट्रिट फेस्टिभलबाट पोखरा स्ट्रिट फेस्टिभलमा आइपुग्यौँ,” उनी भन्छन्, “तर, स्थानीय तहले हाम्रो महोत्सव हो भन्ने गराउनको लागि प्रदेशले ११ जिल्लाको उपस्थित गराउनुपर्छ, संघले चाहिँ सातै प्रदेशलाई भेला गराउनुपर्छ ।”
नेपाल शान्त छ भन्ने सन्देश दिएर अन्तर्राष्ट्रिय रूपमा नै यसको प्रवद्र्धन गरे पर्यटकको आवागमन बढ्ने उनको विश्वास छ ।