विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश सञ्चारसम्बन्धी विधेयक सभामा पेस गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले विधेयक पेस गर्नेसहित पाँच निर्णय भएको बताए ।
बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । यो उपचार केन्द्र विराटनगरमा सञ्चालन गर्ने सरकारको तयारी छ ।
बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।