site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा उमेदवारमा कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम सिफारिस

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । 

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो । 

Argakhachi Cement Island Ad

कांग्रेस कोसी प्रदेश समितिको सूचना तथा सञ्चार समितिका संयोजक बासु कोइरालाका अनुसार सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चारजना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ ।

यसैगरी पूर्वसंघीय सांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेका छन् ।

सञ्चार समिति संयोजक कोइरालाले भने, “तलबाट प्रक्रियागत रूपमा आएका नामहरूको विषयमा छलफल गरी केन्द्रलाई पठाउने निर्णय भएको हो ।” 

बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ । 

बैठकले कांग्रेसको कोसी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । सम्मेलनको मिति तय नभएपनि माघ अन्तिमसम्ममा गर्ने तयारी रहेको जानकारी दिए । 

राष्ट्रियसभामा रिक्त हुने पदको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्