site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुबईमा नेपाली युवती पुर्‍याइदिएवापत एजेन्टसँग पाँच लाखसम्म लिन्थे कांग्रेस जिल्लास्तरीय नेता कार्की 

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसाका नाममा नक्कली कागजात बनाएर पठाउने गिरोहलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ । कार्यालयले प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान टोली बनाएर गिरोहमा संलग्नलाई पक्राउ गर्न थालेको हो ।

हालसम्म पक्राउ पर्नेको सख्या ३७ जना पुगेको डीएसपी पन्थीले जानकारी दिए ।  त्यसरी पक्राउ पर्नेहरुको सूचीमा म्यानपावर व्यवसायी, ट्राभल, कन्सल्टेन्सी सञ्चालक र अध्यागमन कार्यालयका कर्मचारीदेखि नेतासम्म रहेका छन् ।

प्रहरीका अनुसार, गिरोहसँग मिलेमतो गरी नक्कली कागजात बनाएर पठाएको आरोपमा अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरविन यादव पक्राउ परेका छन् ।

कार्यालयको टोलीले असोजदेखि पक्राउ गर्न थालेको हो । पहिलो चरणमा पक्राउ गरेका ९ जनामाथि कीर्ते मुद्दा चलाएको थियो । उक्त मुद्दा हाल जिल्ला सरकारी वकिल कार्यालय हुँदै अदालत पुगेको छ । त्यसपछि पक्राउ पर्नेहरुमाथि समेत प्रहरीले कीर्ते मुद्दामा अनुसन्धान जारी राखेको छ ।

प्रहरीले कीर्तेलाई संगठित अपराध मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनीहरुमाथि त्यही अनुसारको अनुसन्धान गर्न सरकारी वकिल कार्यालयसँग समन्वय गरिरहेको छ ।

हाल मुद्दा दर्ता भएकाहरुमा डिल्लीबजारस्थित निप्पन एजुकेशन कन्सल्टेन्सी सञ्चालक पशुपति मैनाली, बागबजारस्थित एस टु कन्सल्टेन्सी प्रालिका सञ्चालक सागर चापागाईं र पुतलीसडकस्थित प्रगति विद्याश्रम कन्सल्टेन्सी सञ्चालक गोपाल रिजालसहित ९ जना छन् ।

त्यस्तै, ३ जना फरार प्रतिवादी बनाइएको छ । फरार प्रतिवादीहरुमा एकजना गृह मन्त्रालयका शाखा अधिकृत ताराबहादुर कुँवरसमेत छन् । उनी अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत रहँदा गिरोहसँग जोडिएको खुलेको हो । त्यस्तै अन्य दुई जना पनि कन्सल्टेन्सी सञ्चालक छन् ।

कन्सल्टेन्सीको नाममा मानव तस्करीमा कांग्रेस नेता कार्की

नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा मोरङका विनोद कार्की जोडिएका छन् । मोरङका ४५ वर्षीय कार्कीले ललितपुरको इमाडोलमा सीटी टुर्स ट्राभल सञ्चालन गरी नक्कली कागजातमा भिजिट भिसाको नाममा मानव तस्करी गर्ने गरेको खुलेको हो ।

कार्की नेपाली कांग्रेसका मोरङका नेतासमेत हुन् । कार्कीले नेपाली युवतीलाई खाडी मुलुकमा घरको कामदारको रुपमा भिजिट भिसामा पठाउने गरेको खुलेको हो ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा कार्कीले नेपाली युवतीलाई खाडी पुर्‍याएवापत दुबईको विभिन्न कम्पनीबाट तीनदेखि पाँच लाख रुपैयाँ कमिसन लिने गरेको खुलेको छ ।

त्यसबाहेक कामका लागि जाने महिलालेसमेत नक्कली कागजात बनाइदिएवापत छुट्टै रकम बुझाउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताए । २०७९ मंसिरमा भएको चुनावमा कार्की कोशी प्रदेश सभाका सदस्यका लागि मोरङ क्षेत्र नम्बर २ (ख) बाट उमेदवार नै बनेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए ।

भिजिट भिसामा विदेश जान लागेका २४६ युवायुवतीको नक्कली कागजात कार्कीले बनाएको अनुसन्धानका क्रममा खुलेको छ ।

अध्यागमनका उपसचिव पनि प्रहरीको निगरानीमा

नक्कली कागजातका आधारमा भिजिट भिसामा खाडी पठाउने गिरोहमा अध्यागमन कार्यालयका एक उपसचिवसमेत मुछिएका छन् । पक्राउ परेका आरोपीहरुको अनुसन्धानका क्रममा उपसचिवको समेत मिलेमतो देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेकाहरुमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । विमानस्थल अध्यागमन प्रमुखमा हाल सहसचिव गोगन हमाल छन् । त्यस्तै त्यही कार्यालयमा अन्य पाँच जना उपसचिव कार्यरत छन् ।

पाँच उपसचिवमध्ये एक जनाको भूमिका शंकास्पद देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीको दाबी छ । उनलाई पक्राउ गर्न आवश्यक प्रक्रिया अघि बढेको ती प्रहरीको दाबी छ । नक्कली कागजातका आधारमा विदेश पठाएवापत गिरोहले एयरलाइन्सका कर्मचारीलाई प्रतिब्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म बुझाउने गरेको खुलेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro