काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइलाई लक्षित गर्दै सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ ।
पदयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सोमबारदेखि सुरु भएको हो । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन यात्रा गरिएको सभापति लामिछानेले बताए । यात्रामा पार्टी सभापति लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी छन् ।
दबाब यात्रामा सहभागी हुनेहरूलाई पार्टीको झण्डा, लोगो, टिसर्टलगायतका कुनै पनि सामग्री प्रयोग नगर्न र शुभेच्छुक तथा शुभचिन्तकहरूलाई यात्राको क्रममा भिडभाड नगरिदिन सभापति लामिछानेले आग्रह गरेका छन् ।
यस्तै, उनले आफू सदस्य नै नभएको सहकारीबाट एक करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको भन्दै आफूले ऋण लिएको प्रमाण दिन चुनौती दिए । सभापति लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको समेत बताए ।
पोखरामा आफूमाथि भएको मकैको खोया प्रहार 'वेल प्लान्ड' जस्तो देखिएको उनको भनाइ छ ।