काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले पार्टीको वरिष्ठ नेताका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा कांग्रेस वाग्मती प्रदेशको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
वरिष्ठ नेताका विषयमा पार्टीले कुनै निर्णय नगरेको उनले स्पष्ट पारे । प्रदेश सम्मेलनमा वर्तमान मर्यादाक्रमानुसार नै आसनग्रहण गराइने उनले बताए ।
पार्टी एकता हुँदा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेसको माइन्युटमार्फत नै शेरबहादुर देउवालाई वरिष्ठ नेता भनेको उनले उल्लेख गरे । त्यसपछि देउवा पार्टी सभापति हुँदा माइन्युट गरेरै रामचन्द्र पौडेललाई वरिष्ठ नेता तोकेको उनले सुनाए । त्यसबाहेक पार्टीको विधानानुसार कसैलाई पनि वरिष्ठ नेता नतोकिएको उनले स्पष्ट पारे ।
“नेपाली कांग्रेसको मर्यादाक्रम पार्टीले तय गरेको, अहिलेसम्म निर्णय गरेको छैन । हामीले परम्परागत र अहिलेको प्रक्रियालाई हेर्ने हो भने विधान र प्रक्रियाबमोजिम अहिले बनाएको मर्यादाक्रमानुसार नै हुनेछ,” उनले भने, “स्व. गिरिजाप्रसाद कोइरालाले पार्टी एकता हुँदा माइन्युटमा नै मेन्सन गरेर शेरबहादुर देउवा वरिष्ठ नेता भनेको अवस्था थियो । त्यसपछि अहिलेका वर्तमान सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेल, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई भनेको हो । अहिले वरिष्ठको बारेमा कसैले पनि टेन्सन लिनु पर्दैन । कांग्रेसले जे गर्छ, विधि, विधानानुसार गर्छ । वाग्मती प्रदेशले विधि, पद्धतिअनुसार प्रदेश अधिवेशन अघि बढाउँछ ।”