site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको १८ दिने यात्राको निष्कर्ष– जनताले विकल्प खोजे
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले १८औँ दिनमा आफ्नो मध्यपहाडी लोकमार्गकेन्द्रित यात्राको समापन गरेको छ । गएको मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिएको हो ।

अभियानको सुरुआत र समापन पार्टी अध्यक्ष केपी शर्माले राष्ट्रिय झन्डा फहराएर गरे । ‘समृद्धिका लागि संकल्पयात्रा’ नारा दिइएको अभियान शतप्रतिशत सफल भएको एमालेको निष्कर्ष छ । आइतबार चिवाभञ्ज्याङमा अभियानको समापन गर्ने क्रममा अध्यक्ष ओलीले यात्रा सफल भएको बताए ।

अरूले गर्न नसकेको काम एमालेले गर्न सक्छ भन्ने दृष्टान्त दिइएको उनले सुनाए । “नेकपा (एमाले) अरूले सोच्न नसकेका काम गर्न सक्छ भन्ने खालको अर्को दृष्टान्त हो । यो महान् यात्रा पूर्ण रूपमा शतप्रतिशत सफल भएको छ । यस सफलातको श्रेय सम्पूर्ण साथीहरूलाई जान्छ,” ओलीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

देशको राजनीति अलपत्र अवस्थामा छाड्न नहुने आफूहरूको निष्कर्ष रहेको उनले बताए । “सबैको निष्कर्ष के हो भने अब देशको राजनीति यसैगरी अलपत्र अवस्थाजस्तो गरेर चल्नु हुँदैन,” उनले भने, “अब देशको राजनीतिले सही निकास लिनुपर्छ । अलमलमा राष्ट्रको समय खेर फाल्नु हुँदैन ।”

a3-1702815225.jpg

Global Ime bank

ओलीले संकल्पयात्राबाट देशलाई जोगाउन ‘असाधारण’ योगदान दिइएको जिकिर पनि गरे । “यहाँ राष्ट्रको समय खेर गइरहेको छ, जनताको एउटा पिँढीको अवधि खेर गइरहेको छ । आउँदो पिँढीको भविष्य अप्ठ्यारोतर्फ धकेलिँदै छ,” ओलीले भने, “यस्तो स्थितिबाट देशलाई जोगाउनका लागि संकल्पयात्राले असाधारण योगदान गरेको छ ।”

उनले संकल्पयात्रालाई जोखिमसँग खेल्ने एउटा अभियानका रूपमा दर्शाए । ओलीले भने, “यो यात्राले विभिन्न प्रकारका चिन्तन, विचार, क्रियाकलापलाई जवाफ दिएको हुनुपर्छ, हतोत्साही गरेको हुनुपर्छ ।”

देश र जनतालाई ‘शिर’मा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । “देशलाई शिरमा राखेर, जनताको हितलाई शिरमा राखेर, राष्ट्रको हितलाई सर्वोपरी राखेर अगाडि बढ्न आमजनसमुदायको मनोबल उच्च रहेको छ,” ओलीले भने ।

राष्ट्रिय आवश्यकता के हो र अब देश कसरी अघि बढ्ने भन्ने सम्बन्धमा विचार प्रस्तुत गरेकामा उनले लेखकहरूलाई धन्यवाद दिए ।

यात्राका क्रममा कतिपय ठाउँमा विभिन्न पार्टी, संघसंस्थालगायत व्यक्तिले ध्यानाकर्षण गराएको र त्यसले अवस्था बुझ््न सहज भएको उनको भनाइ छ ।

‘पहिचानवादीको कमजोरी’
एमाले महासचिव शंकर पोखरेलले जनताले वर्तमान सरकारको विकल्प खोजिरहेको आफूहरूले पाएको बताए । यात्रा समापन गर्ने क्रममा उनले भने, “यात्राका क्रममा हामीले राजनीतिक परिवर्तनमाथि अनास्था पैदा गर्ने प्रवृत्तिमाथि विजय हासिल गरेका छौँ । गठबन्धन सरकारका असफलता र अकर्मण्यताका विरुद्धमा जनताले सही विकल्पको चाहना राखेको अनुभूति हामीले गरेका छौँ ।”

देशलाई कमजोर गराउने शक्तिविरुद्ध जनतालाई एकताबद्ध बनाउने यात्राको उद्देश्य राखिएको उनले सुनाए ।

सो यात्राका क्रममा एमाले नेतालाई कोसी प्रदेश प्रवेशमा अवरोधको प्रयास पनि गरिएको थियो । कोसीको नामकरणका विषयमा असन्तुष्ट पक्षबाट विभिन्न जिल्लामा बन्दको आह्वान गरिएको थियो ।

“यो यात्रा दलीय राजनीतिबाट माथि उठेर राष्ट्रिय संकल्पयात्रा थियो । यसलाई बुझ्न नसक्नु आन्दोलनकारी पक्षको कमजोरी देखियो । एमाले सांस्कृतिक पहिचानको विरोधी होइन, उसले विभिन्न जातीय संस्कृतिलाई उच्च सम्मान दिँदै आएको छ,” पोखरेलले भने, “यात्राका क्रममा यात्रालाई प्रभावकारी र जीवन्त बनाउन स्थानीय संस्कृति, राम्रो संयोजन गरिएको थियो स्थानीय आयोजकहरूका तर्फबाट । यसलाई बुझ्न नसक्नु पहिचानवादी भन्नेहरूको कमजोरी रह्यो ।”

कोसीको नामकरण एमाले एक्लैले नगरेको तथ्य आन्दोलनकारीले बुझ्नुपर्नेमा उनले जोड दिए ।

a2-1702815253.jpg

अभियानको सन्देश 
एमालेको १८ दिने अभियानमा ओलीले एक्लै भाषण गरे । बैतडीको झुलाघाटबाट चिवाभञ्ज्याङसम्म उनको सक्रियता लोभलाग्दो रहेको भन्दै प्रशंसा भइरहेको छ । अर्कोतर्फ, ओलीले एक्लै प्रस्तुति दिएको भन्दै आलोचना पनि गरिएको छ ।

चिवाभञ्ज्याङमा सञ्चारकर्मीसँग एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्षले मात्र भाषण गर्दा पार्टी एक ढिक्का रहेको सन्देश दिएको बताए । “हाल १७ जनाको पदाधिकारी टिम छौँ । अध्यक्षको नेतृत्वमा हामी पदाधिकारीसँगै भयौँ । यसले एमाले एक ढिक्का छ भन्ने सन्देश दिएको छ,” गुरुङले भने ।

भूगोलको रक्षा गर्ने पार्टी एमाले हो भन्ने सन्देश यात्राले दिएको उनको भनाइ छ । गुरुङले एमालेले देश विकासको नक्सा फेर्न चाहेको सन्देश दिएको पनि बताए ।

“एमाले देशको समृद्धि चाहन्छ, विकासको नक्सा फेर्न चाहन्छ भन्ने सन्देश गएको छ,” उनले भने, “दलहरू चुनावका बेलामा मात्रै गाउँगाउँ आउँछन् भन्ने थियो, चुनाव सकिएपछि वास्ता हुुँदैन भन्ने थियो । हामी अहिले नै यात्रामा गयौँ ।”

एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपाल यो अभियान सरकार परिवर्तनका निम्ति अघि बढ्ने माध्यम बन्न सक्ने बताउँछन् । “यो जनताको अभिमत बुझ्ने हो । जनताको अभिमत सरकारले केही गरेन, चेन्ज गर्नुपर्छ भन्ने रह्यो र हामीले निष्कर्ष निकाल्यौँ भने सरकार परिवर्तनको लागि पनि यो अभियानले भूमिका खेल्नेछ,” उनले भने ।

मध्यपहाडी लोकमार्ग निर्माण एमालेकै पालामा थालिएको भन्दै उनले त्यहाँ सहरीकरण गर्ने योजना अघि नबढाइएको विषयमा झक्झक्याउन अभियानले भूमिका खेलेको उनले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको बाटो अनावश्यक घुमाउरो भएका क्षेत्रमा सच्याउने, ट्रयाक खोलिए पनि निर्माण नगरिएको ठाउँलाई बनाउन पहल गर्न आफूहरूको यात्राको भूमिका रहने उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement