
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चाँडै ‘मिसन ८०’ सार्वजनिक गरिने बताएका छन् । शनिबार नैकापमा आयोजित खुला सभामा उनले रास्वपाको ‘मिसन ८४’ मा दलहरूको आँखा लागेको भन्दै चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।
उनले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेथितिलाई अन्त्य गर्न सकिने जिकिर गरे । हरेक दिन एउटा–एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने उनले बताए ।
उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अरू दलहरूले आसन्न राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आँट गर्न नसकेको टिप्पणी गरे ।
ठूला भनिएका दलहरूले मदन–बीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेन्डा मात्र भएको उल्लेख गरे ।
नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप उनले लगाए । अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ ।
जनताले चुनेरै पठाएका व्यक्तिलाई आउँदो निर्वाचनमा उमेदवार बनाउने घोषणा गर्दै उनले आफ्नै एजेन्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।
यस्तै, रास्वपाकी कोषध्यक्ष लिमा अधिकारीले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठाइन थालेको बताइन् । उनले विगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आए पनि निष्पक्ष छानबिन हुन नसकेको जिकिर गरिन् । हिमालयन टेली भ्वाइस