site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शंकर लामिछानेको आँखा सापट माग्दा !
Sarbottam CementSarbottam Cement

ओशो तपोवन गएर साँझ घर फर्किएका छौँ । २०८० कार्तिक २५ गतेको दिन छ । शरीर थाकेर फतक्कै गलेको छ, पाकेको कर्कलोजस्तै । तपोवनकै खानाले टन्न भएकाले बैठक कोठामा आएर पल्टिएका छौँ, अघाएको अजिंगरझैँ ।

म्यासेन्जरमा एउटा म्यासेज ट्वाङ्ङ गर्यो, शान्त तलाउमा सानो ढुंग फ्याँकेझैँ । तर, जति थाके पनि मोबाइल त हातमै लिनुपर्ने आदत भएको छ । टुप्लुक्क देखापर्यो डाक्टर रामप्रसाद दाहालको म्यासेज । अनि, जुरूक्क उठेर म्यासेज हेर्न थालेँ ।

‘दुवैजनालाई निम्ता ।’

Prabhu Bank
Agni Group
NIC Asia

कस्तो निम्तो हो यो ? कता जाने होला ? केको निम्तो हो ? सोच्न पनि भ्याएकी थिइनँ । फेरि अर्को म्यासेज ट्वाङ्ङ बज्यो ।

‘मोडर्न कन्या कलेज बानेश्वरमा भोलि बिहान ७.५ बजे देवकोटाजयन्ती कार्यक्रम हुने भएकोले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।’

Global Ime bank

शरीरको गति र मनको मति हेर्दा भोलि जान सक्ने स्थिति देखिनँ । अनि, म्यासेज फिर्ता पठाएँ ।

‘नमस्कार सर, हार्दिक धन्यवाद । आउने कोसिस गर्छौँ ।’

कोठा संगीतमय छ । सोनी टीभीबाट इन्डियन आइडल रियालिटी शो आइरहेको छ । मेनुका पौडेलको भावपूर्ण गीत सुनेर आँखा जलमग्न पार्दै छौँ । ट्वाङ्ङ गरेर फेरि अर्को म्यासेज बज्यो ।

‘जसरी’नि दुवैजनासहित आउनु है । अरू इच्छुकलाई पनि हजुरले आफ्नो कार्यक्रम ठानेर खबर गरिदिनु न ल ।’

साहित्यिक मन न हो, म्यासेज पढेपछि एकैछिनमा चंगा भएर जागेजस्तो पो हुँदै गयो ।

सुभाष सरलाई भनेँ, “भोलि बिहान मोडर्न कन्या कलेज बानेश्वर जाऊँ है । रामप्रसाद दाहाल सरले बोलाउनुभएको छ । श्रद्धाले बोलाएको ठाउँमा जानुपर्छ । लक्ष्मीपूजा गर्नुपर्ने भएको भए त कुनै हालतमा पनि जान सम्भव नै थिएन । तर, यो वर्ष घरमा लक्ष्मीपूजा गर्नु हुँदैन । तिहारका परिकारहरू पनि केही पकाउनुपरेको छैन । कम्तीमा देवकोटालाई साहित्यिक वातावरणमा सम्झेर, केही साहित्य सिर्जना गरेर र साहित्यिक माहोलमा केही बेर बसेर लक्ष्मीप्रसादको पूजा गरेर चाँडै नै घर फर्कौंला हुन्न र ?”

२०८० सालमा हजुरआमा सासूको स्वर्गवास भएकोले यो वर्ष कुनै पनि चाडपर्वहरू हर्सोल्लासका साथ सम्पन्न भएनन् हाम्रो घरमा ।

भोलि पनि घरबाहिर जाने कुरा सुनेर सुभाष सरले नजानेजस्तो गर्नुभएको आभास पाएँ । तर, केही बोलिनँ । दुई दिनदेखि लगातार हिँडेर दिक्क लागेको पनि थियो होला । म पो सधैँ घरै बस्ने मान्छे भएर कहिलेकाहीँ बाहिरफेर हिँड्दा निकै रमाइलो लाग्छ । हरेक दिन हिँड्नुपर्ने मान्छेलाई त आरामले घरकै छतमा घाम तापेर बस्दा आनन्द लाग्ने नै भयो ।

अझ, बानेश्वर त सुभाष सरलाई हरेक दिन पुग्नुपर्नै ठाउँ भएकोले बिदाको दिनमा पक्कै हिँड्न मन नलागेको हुनुपर्छ । आफ्नै मनमा तर्कहरूको रोटेपिङ घुमाउन थाल्दै थिएँ, भुसुक्कै निदाएछु ।

बिहान सबेरै उठेपछि हृदयले नै भन्न थाल्यो– कार्यक्रममा जा अनिता जा ! अनि, सुभाष सरलाई पनि उठाएँ । कार्यक्रममा जाने नजाने केही प्रतिक्रिया नदिई मैले भनेको सहर्ष स्वीकार पो गर्नुभयो, म त फुरुङ्ङ हुने भइहालेँ ।

मनले ठान्यो– पक्कै उहाँको शरीरमा ऊर्जा पुनः फर्किएछ । पुलुक्क सुभाष सरको मुखमा हेरेँ, उत्साह छरपस्ट पोखिएको थियो, बिहानीको झुल्केघाम आँगनमा छरिएजसरी । जब जब सुभाष सरको मुहारमा मप्रतिको विश्वास र साहित्यप्रतिको अनुराग, प्रेम, प्रसन्नता र सम्मान देख्छु, म त्यसैत्यसै कुबेर बन्न पुग्छु ।

मैले भाग लिने हरेक साहित्यिक कार्यक्रमहरूमा उहाँ पनि साथै भइदिए मलाई पनि आनन्द र ढुक्क अनुभव हुने गर्छ । उहाँ साथमा हुँदा जति ढिलो भए पनि निर्भीक भएर कार्यक्रमको पूर्ण आनन्द उठाउन सक्छु । तर, सधैँ सम्भव हुँदैन । त्यसैले समय मिलेको र बिदाको बेलामा सुभाष सर साथै हुँदा मलाई रमाइलो लाग्ने त भइहाल्यो ।

उहाँलाई जिम्मेवारीको भारीले थिचेको छ । साहित्यमा बडो रस हुँदाहुँदै पनि रसायनशास्त्रको बिरसिलो प्रयोगशालामा उमेर पगाल्नुपरेको छ । सुभाष सर मभन्दा निकै अगाडि नै साहित्यको तपोवनमा दीक्षित हुनुभएको एक असल साहित्यप्रेमी मान्छे, म त उहाँकै छत्रछायामा हुर्किएकी नवीन बिरुवा मात्र न हुँ ।

अनि, सहमति, सहकार्य र शान्तिले साहित्यिक कार्यक्रममा दुवै जान पाउँदा हर्षले विभोर हुने गर्छु ।

नित्यकर्म सकेर हामी बानेश्वरतिर बत्तियौँ ।

आज देवकोटाको ११५औँ जन्मजयन्ती भएकोले कार्यक्रममा केही बोल्नुपर्ने पो हो कि भन्ने लाग्दै थियो । मनमा कुराहरू झुत्ती खेल्न थाले । देवकोटालाई सम्झिनेबित्तिकै देवकोटाको जीवनले मलाई पिरोल्न थाल्छ ।

‘संसार रूपी सुख स्वर्गभित्र रमेँ रमाएँ लिई भित्र चित्र’ यो कविता मनमनै  दोहोर्याएँ । मलाई कविताको भाव र मर्मले भित्रैसम्म चिथोर्न थाल्यो । उत्निखेरै मेरो मस्तिष्कमा शंकर लामिछाने अवतरित भए । अनि, म विम्बप्रतिविम्बमा पौडी खेल्न थालेँ  । शंकर लामिछानेका शब्दहरूले मलाई नराम्रोसँग भिजाउँदै लग्यो ।

शंकर लामिछानेको आँखा सापट मागेर म देवकोटालाई हेर्न थाल्छु । लामिछानेले देवकोटालाई पहिलोपटक भेट्दा देवकोटाको घरमा देखिएको दृश्यहरू मेरा आँखामा सजीव भएर नाच्न थाल्छन् । देवकोटाको दैनिकी, आर्थिक अवस्था, अद्भुत क्षमता, मैतिदेवीको देवकोटाको घरभित्र छरिएको दारूण कथा र व्यथाले मलाई उकुसमुकुस पार्न थाल्छ ।

मलाई शंकर लामिछानेका आँखाहरू ज्यादै मन पर्न थाल्छन् । किनकिन मलाई आजको साहित्यिक माहोलमा शंकर लामिछानेका आँखाहरू खोज्न मन लाग्छ, तर म निराश हुन्छु । देवकोटाका दाँत र नंग्राले सिसाकलम ताछेको दृश्य देख्छु । मंसिरको त्यो बेलाको काठमाडौंमा जाडो कस्तो थियो होला कल्पना गर्छु ।

मैलो दोलाइँ ओढेर धोती मात्र लगाएका देवकोटालाई ओछ्यानमा घोप्टो परेर पढिरहेको देख्छु । डसनामुनि चुरोटका ठुटाहरू असरल्ल छरिएको देख्छु । एउटा सिंगो चुरोट देख्दा खुसी भएको महाकविको त्यो अनुहार कल्पना गर्न पुग्छु ।

देवकोटाको सम्पूर्ण अवस्था देखेर शंकरलाई आफूले लगाएका सफा लुगा, घडी, जुत्ता सबै निरर्थक लाग्दै जान्छन् । महाकविको दरिद्रता र आफ्नो सम्पन्नता देखेर लामिछानेलाई आफैँसँग घृणा जाग्छ ।

आहा, शंकरको आँखा र सोच ! म त्यो युगमा पुगेकी हुन्छु । हठात् म झस्किन्छु ।

“बानेश्वर झर्ने अगाडि आउनुस्,” सहचालक भाइ जोडले कराउँछन् । म देवकोटाको मैतिदेवीको घरबाट एकैचोटि बानेश्वर फुत्त झर्छु ।

बानेश्वरदेखि भीमसेनगोलासम्म पैदलै हिँड्दै छौँ । प्रातःकालीन हिँडाइ गजब भएको छ । बाटोभरि बुढाबुढी देवकोटाकै कुरा गर्दै हिँडिरहेका छौँ । सुभाष सरले त देवकोटाको सम्झनामा गजबको कविता नै लेखिसक्नुभएछ । बाटोमै सुनाउनुभयो ।

हामी कलेजको गेटमा पुगेका छौँ । दाहाल सर गेटमै देखिनुहुन्छ । कलेजका बहिनीहरू फूलको गुच्छासहित हामीलाई स्वागत गर्न आएका छन् । नजिकै शर्मिला कोइराला दिदी उभिइरहनुभएको छ ।

शर्मिला दिदीसँग कुरै भएको थिएन । दिदी छक्क परेको देख्दै छु । दिदी र बहिनीको औपचारिक भेट सायद पहिलोपटक भएको छ । सार्वजनिकस्थलमा औपचारिक भएर दिदीसँग कहिले बोलेकी थिइनँ ।

एउटै कोखकी दिदीका अगाडि सम्हालिएर बोल्दा मलाई हुनसम्म भयो । भित्रभित्र लाज, संकोच र हाँसो एकैचोटि उठिरहेको छ । हामी अतिथि भएर गएका छौँ । पाहुनाहरू आउनेक्रम जारी नै छ ।

आँखाले छिचोल्दै छन् चिरपरिचित अनुहारहरू । देख्दै छु आदरणीय र सम्माननीय व्यक्तित्वहरूलाई । गेटमा देख्दै छु बच्चु काफ्ले मामालाई । मामालाई देखेपछि श्रद्धाले शिर झुकाएँ ।

साहित्यका अरू चिरपरिचित व्यक्तित्वहरूलाई आँखाले नियाल्दै हृदयले नमन गर्दै छु । अब सबैजना आ–आफ्नो आसनमा आरूढ भएका छौँ ।

मञ्चमा प्रमुख अतिथिको प्रतीक्षा हुँदै छ । वरिष्ठ कवि कृष्ण बाउसेको मिठो कविता प्रत्यक्ष सुन्ने सुनौलो माहोल बनेको छ । बिहानको चिसोले चाहिँ खलनायकको भूमिका निभाउँदै छ ।

केही समयको प्रतीक्षापछि प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसको आगमन भएको छ । अब भने बल्ल कार्यक्रम औपचारिक रूपमा सुरु भयो । पानसमा दीप प्रज्वलन गर्दा मेरो हृदयमा पनि साहित्य साधनाको चम्किलो दियो बल्दै जाओस् भन्ने कामना गरेँ । तुलसी दिवसको छायामा महाकविको साक्षात्कार भएको झैँ अनुभूत गर्दै छु ।

बाबा बस्नेत, काशीराज दाहाल, सन्ध्या पहाडी, कृष्ण बाउसे, रामप्रसाद पन्त, उपेन्द्र शर्मा काफ्लेलगायत निकै सम्मानित व्यक्तित्वहरूको उपस्थिति छ । म पनि थाहै नपाई यो भव्य मञ्चमा आसीन भएकी छु ।

महाकविलाई स्मरण गर्दै सबैका शिर श्रद्धावनत भएको देख्दै छु । महाकविलाई विभिन्न उपमा, विम्बले सम्बोधन गरिँदै छ । निराला कवि, अद्भुत प्रतिभाका विलक्षण कवि, विराट चेतनाका धनी र मानवतावादी कविका रूपमा स्मरण गरिएको छ ।

कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहाल भन्दै हुनुहुन्छ, ‘देवकोटा मान्छेलाई ईश्वर बनाउन नचाहने र ईश्वरलाई मान्छे बनाउन नचाहने स्रष्टा हुन् ।’

दाहाल सरको सरलता र बौद्धिकताले मलाई नतमस्तक पार्दै छ । सरको छोटो र मिठो सम्बोधन बडो सान्दर्भिक लाग्दै छ । कसैले महाकविलाई स्वच्छन्दतावादी कविको रूपमा सम्झिन पुग्नुभएको छ ।

तुलसी दिवसको सारगर्भित वाणी निकै श्रवणीय र मननीय लाग्दैछ, ‘महाकविको कालजयी रचनाका कारण नै आज नवीन स्रष्टाहरूको जन्म भएको छ । कविताभन्दा माथि कवि हुन्छन् ।’

यो भनाइले पनि हृदय छोयो । कविता लेखेर के हुन्छ ? भन्नेहरूलाई कति गजबको उदाहरण दिनुभयो भने म पनि सुनेर आशावादी पो हुँदै गएँ । तुलसी दिवसले फेरि थप्नुभयो, ‘कविताको सम्मानकै कारण मैल ९० वटा देशको भ्रमण गरेँ । कविताले नै दिएको चिनारी हो यो ।’

यसरी कवि दिवसले भनिरहँदा म त मक्ख परेकी थिएँ । साँच्चै त हो नि, महाकविको कृति र कविता त हामी सबैका घरघरमा छन्, तर पनि हामी महाकविको व्यक्तित्व र कवित्वलाई नमन गर्न, छाम्न र स्वयं महाकविलाई अनुभूत गर्नको खातिर आज लक्ष्मीपूजाको यो अस्तव्यस्त समयमा हामी एकजुट भएका छौँ ।

कलेजका प्रिन्सिपल सुबिन पोखरेलले तुलसी दिवसको यो अनुभव सुनेर अझ कविता लेख्ने उत्साह र जाँगर थपिएको उद्गार दिनुभयो । म पनि सोच्दै थिएँ– मोडर्न कन्या कलेजले देवकोटालाई स्मरण गर्दै साहित्यको यो सुन्दर पुष्प चढाएर सम्पन्न गरेको कार्यक्रम साँच्चै सफल भएको छ ।

वरिष्ठ व्यक्तिहरूको लहरमा बसेकी छु । उपेन्द्रराज शर्मा काफ्लेको कवितासंग्रहको विमोचनमा उपस्थित हुन पाएकी छु । विमोचित कृतिमा हस्ताक्षर गर्ने सुनौलो अवसर मिलेको छ । घाघडान दिग्गजहरूका अगाडि कविता भन्ने मौका प्राप्त गरेकी छु । सबैका अगाडि माइकमा उभिएर डरलाई निल्दै निडर भएर कवितावाचन गर्ने आँट गरेकी छु ।

स्नेहकी धनी प्राज्ञ बाबा बस्नेतको प्रेरणा, उत्साह र स्याबासीको सुकोमल हात मेरा हातमाथि सलबलाएका छन् । त्यसैत्यसै आनन्दले भरिएकी छु । छेउमै बस्नुभएका आदरणीय कृष्ण बाउसे सरको मुखबाट मैले वाचन गरेको कविता र वाचनशैलीको प्रशंसा सुन्दा नतमस्तक भएकी छु । आफ्नै घाँटीमा हेर्दै छु सयपत्रीको माला । कलमको शक्तिलाई बुझ्न्ने कोसिस गर्दै छु ।

माला लगाएर बसेकी मलाई मैले नै हेर्दै देवकोटाको चरणमा आशीर्वाद माग्दै छु– हे महाकवि, यो मानसम्मान र मालाको गरिमा बुझ्न सकूँ । कलमको मान र सम्मान बढाउन सकूँ । साहित्यको पूजा गर्न सकूँ । 

आफैँलाई हेरेर सम्झिँदै छु आफैँले लेखेका कविताका हरफहरू– 
कहिलेकाहीँ केही नबुझ्नु पनि आनन्द नै रहेछ 
बुझ्दै जाँदा जीवन गाह्रो हुने रहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय