काठमाडौं । गोसाइँकुण्ड पदयात्रा । जहाँ धेरैको जाने इच्छा हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण त छँदै छ अझ हिन्दुहरूका लागि त धार्मिक महत्त्व नै बोकेको स्थल । म पनि जाने भएँ, साथीहरूसँग ।
नाभेम्बर मध्यतिरको एक बिहान, साढे ५ बजेतिर मसहित चारजना साथीहरूसँग गोसाइँकुण्ड पदयात्राका लागि निस्कछौँ, काठमाडौंको माछापोखरीबाट । हामी रसुवाको सदरमुकाम धुन्चेको बस चढ्यौँ । करिब ६ घण्टाको यात्रापछि धुन्चे पुगियो ।
त्यहाँ खाना खाएर केही बेर आराम गरेपछि हामी समुद्री सतहबाट चारहजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डको पदयात्रामा लाग्यौँ । बाटो सुरु हुनैलाग्दा सडकमै उभिएर बेच्न बसेका बालबालिकाहरूबाट हामीले लाठी किन्यौँ र अघि बढ्यौँ ।
करिब आधा घण्टा हिँडेपछि घट्टेखोला पुगियो । बाटोमा गोसाइँकुण्ड पुगेर फर्किनेहरू पनि भेटिन्थे । फर्किनेहरूको अवस्था राम्रै देख्दा पदयात्रा सजिलो रहेको अड्कल गर्थ्यौं । तर, सबैको अवस्था राम्रो थिएन, कोही थकित देखिन्थे । उनीहरूलाई देख्दा लाग्थ्यो– यात्रा कठिन छ ।
जे होस्, हाम्रो यात्रा जारी रह्यो, पाइला अघि बढिरहे । घट्टेखोला किनारमा एकछिन आराम गरेपछि हामी उकालो लाग्यौँ । हामीजस्तै धेरै समूह थिए– कोही फर्किंदै गरेका, कोही जाँदै गरेका ।
धुन्चेबाट करिब ६ घण्टापछि हामी देउराली, धिम्सा हुँदै सिंह गोम्पा (चन्दनबारी) पुग्यौँ । त्यो साँझ होटेल याक एन्ड न्याकमा बास बस्यौँ ।
अर्को दिन बिहान गोसाइँकुण्डका लागि हिँड्यौँ । चन्दनबारीबाट करिब डेढ घण्टा हिँडेपछि चोलाङपाटी पुगियो । चोलाङपाटीबाट माथितिर लाग्दैगर्दा हिमशृङ्खलाहरूको मनोरम दृष्यहरू देखिए । बिहानको घाममा टल्किँदै गरेका हिमालको दृष्य जतिमाथि जाँदै गयो त्यति मनमोहक हुँदै जान्छ । तर, थकान पनि उत्तिकै बढ्छ ।
चोलाङपाटी उकालो चढ्दै लउरिबिना र त्यसपछि बुद्धमन्दिर पुगिन्छ । लउरिबिनाबाट बुद्धमन्दिर पुग्दा जटिल यात्रा हुन्छ । उसो त उत्तिकै सुन्दर हिमालहरूको दृष्य पनि देखिन्छ ।
बाटोमा आउजाउ गरिरहेका घोडा, खच्चर, स्वदेशी विदेशी पर्यटक, ठाउँ ठाउँमा बस्ने खाने व्यवस्था हुँदा यात्रामा असहजता भने खासै हुँदैन । जाँदा–फर्किंदा हामीहरूबीचको गफगाफ, तर्कबितर्कले पदयात्रामा हाँसो, ऊर्जा र उत्साह थपिरहेको थियो ।
बुद्धमन्दिरबाट छड्केबाटो हिँडेर करिब अढाइ घण्टापछि गोसाइँकुण्ड पुगिन्छ । यसरी चन्दनबारीबाट ६ घण्टा भन्दा बढी समयमा गोसाइँकुण्ड पुगेपछि हामीले त्यहाँको सुन्दर र मोहक वातावरणमा समय बितायौँ ।
केही घण्टाको बसाइपछि त्यहीँ खाना खाएर हामीले फर्किने निर्णय गर्यौँ । तर, त्यहीँ बास बस्ने निर्णय गरेको भए वा अलि चाँडै पुग्न सकिएको भए सूर्यकुण्डको यात्रा पनि गर्न सकिन्थ्यो ।
गोसाइँकुण्डलाई ‘जुरे फेरि भेटौँला’ भन्दै हामी त्यहाँबाट चन्दनबारी नै पुग्ने गरी फर्कियौँ । फर्किंदा बुद्धमन्दिर र लउरिबिनाको बीचमा हामीले अस्ताउँदो सूर्यको मोहक दृष्य र हामीभन्दा टाढा तर हामीभन्दा तल रहेको बादलको मनोरम दृष्यावलोकन गर्यौँ ।
त्यहाँ रमाउँदा रमाउँदै त्यही रात परेपछि तल झर्यौँ । करिब डेढ घण्टा अँध्यारोमै हिँडेर चन्दनबारी पुग्यौँ र अघिल्लो रात बिताएकै होटेलमा बास बस्यौँ । भोलिपल्ट चन्दनबारीबाट आरालो झरेर धुन्चे फर्कियौँ र त्यहाँ खाना खाएर सोही दिन साँझ काठमाडौं फर्कियौँ ।
रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाइँकुण्ड समुद्री सतहदेखि चारहजार ३८० मिटरको उचाइमा छ ।
त्रिशूली नदीको उद्गमस्थलसमेत रहेको गोसाइँकुण्ड वरपर १०८ तालहरू रहेको बताइन्छ । हिउँदमा गोसाइँकुण्डको पानी जमेर बरफ बन्छ ।
हिन्दु पौराणिक कथाहरूमा गोसाइँकुण्डलाई भगवान् शिव र गौरीको वासस्थानका रूपमा वर्णन गरेको पाइन्छ । हिन्दु धर्मग्रन्थ भागवत् पुराण, विष्णु पुराण, रामायण र महाभारतमा उल्लेखित समुद्र मन्थन गोसाइँकुण्डको उत्पत्तिसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ ।
समुद्र मन्थनमा भगवान् शिवले विष निलेपछि जलेको घाँटीलाई चिसो पार्न पहाडमा त्रिशूल हानेर पानी निकालेको र त्यसैबेला गोसाइँकुण्ड उत्पत्ति भएको विश्वास गरिन्छ ।
गोसाइँकुण्ड पदयात्राको हाम्रो तीनदिने यात्रा त सकियो, यादहरू अविष्मरणीय छन् ।