site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
'द लास्ट एम्परर' को विजिगीषा 

'सम्राटदेखि नागरिकसम्म' भन्ने जीवनीमा आधारित फिल्म 'द लास्ट एम्परर' मैले सन् १९९० को दशकमा हेरेको थिएँ ।  बरनाडो बर्टोलुची द्वारा निर्देशित यो चलचित्र  सन् १९८७ मा अस्कर पुरस्कारका ९ वटै विधामा उत्कृष्ट ठहरिएको थियो । 

यति धेरै अस्कर जितेको यो सिनेमा त्यतिखेर खुबै चर्चामा थियो।  चीनका अन्तिम सम्राट पु यीको लालसेनाद्वारा कब्जा,  उनको बाल्यकालमा राजा बन्दाको घटनाक्रम, विलाशी जीवन शैली र राजगद्दी बचाउन जापानीसँग को साँठगाठ अन्त्यमा उनको साधारण किसानमा रूपान्तरणलाई  बर्टोलुचीले  जीवन्त रूपमा पर्दामा उतारिदिएका थिए यस फिल्ममा । 

गणतान्त्रिक चीनको अस्तित्व  स्वीकार्न नसक्ने एक सम्राटलाई समयले कसरी सडकमा हिँड्न सिकाउँछ भन्ने फिल्ममा राम्ररी चित्रण गरिएको छ ।  तीन वर्षको उमेरमा राजा बनेका पु यीका अन्तर्क्रिया, राजनीतिक दाउपेच, उनको नागरिकमा रुपान्तरण हुँदाको दुबिधा अनिच्छा र अन्त्यमा उनको पतन लाई बर्टोलुचीले राम्ररी पर्दामा उतारेका छन् ।

Dabur Nepal
NIC Asia

तीस वर्ष पहिले हेरेको यस फिल्मका केही दृश्य मेरो मानसपटलमा अहिले पनि ताजै छन् ।   महाराजलाई भाँडामा सौच गराएर राजाको दिसा कस्तो होला भनी सुँघ्ने उनका सुसारेको अनुहार मैले कहल्यै भुल्न सकिन । 

पु यी एक दिन सुतिरहेका हुन्छन् । उनले मन्चुरियामा आफ्नो वंशको राजसंस्था पुनःजीवित भएको सपना देख्छन् । 

पु यी आफ्नो शक्ति  शासन कायम गर्न विरोधी जापानीहरूसँग  साँठगाँठ गर्छन् । दोस्रो विश्वयुद्धपछि उनलाई कम्युनिस्टहरूको जेलमा राखिन्छ । जुत्ताको तना पनि आफैँ बाँध्न नसक्ने पु यीलाई आफ्नो काम आफैँ गर्न सिकाइन्छ । 

सन् १९५९ मा जेल मुक्त  भएपछि उनी मालीको काम गर्न थाल्छन । एक दिन पु यी घर जाँदा 'रेड गार्ड'को परेड देख्छन् । त्यसपछि उनी पर्यटकको भेसमा 'फर्बिडन प्यालेस' जान्छन् । 

प्यालेसको पहरेदारका नाबालक छोराले पु यीलाई राजगद्दीमा बस्नबाट रोक्छन ।  पु यी आफू नै 'सन अफ हेवेन'  अर्थात् सम्राट भएको बताउँछन् । अन्त्यमा  ६० वर्ष पुरानो आफूले पालेको क्रिकेट ( किरा) सो बालकलाई  दिन्छन् र बालकलाई भुलाएर आफ्नो राजगद्दीमा बस्छन् ।   

फिल्मले नेपालको वर्तमान अवस्थालाई पनि केही हदसम्म झल्काउँछ । नेपालमा अहिले यस्तै वर्ग शिर उठाउँदै छ जो पूर्वराजा ज्ञानेन्द्रलाई  विष्णुको अवतारको रूपमा पुनःस्थापना गर्न चाहन्छ । 

राजा र उनको परिवार एउटा अलौकिक परिवार हो भनेर नयाँ पुस्तालाई  विभिन्न प्रचारवाजी गरेर सहमत गराउन चाहन्छ ।  यो जमात विदेशी हस्तक्षेपविरुद्ध चर्को 'राष्ट्रवादी' नारा लगाउँछ तर छिमेकी देशको प्रान्तीय सरकारका प्रमुखका अगाडि लम्पसार पर्नुमा नेपालको स्वाभिमान र सार्वभौमिकताको रक्षा देख्छ । 

यसले यी पूर्वराजाको विगतको विलाशी जीवन शैलीमा उडाइएको कर दाताको पैसा देख्दैन ।  यस जमातले जनता राजाको भोजन देखेर आफ्नो पेट भरिएको मह्सुस गरून् भन्ने चाहन्छ । 

राजाको पहिरन देखेर दंग पर्दै आफ्नो लाज छोपिएको ठानोस् भन्ने चाहन्छ । राजालाई अरूले दिएको सत्कार देखेर रमाउँछ र आफूले देशमा भोगेको अपमानलाई राजाको कृपा ठान्छ ।  सास लिन पाउनुलाई नै जीवन ठान्छ ।

त्यसैले यो जमात महिलाहरूलाई भन्छ - तिमी राजाको शासनमा मात्र सुरक्षित छौ । जनजातिलाई भन्छ - तिम्रा समुदायका मानिसलाई राजाले नै मन्त्री, प्रधानमन्त्री बनाएका हुन् । तिमी  सोझो जात, तिमी सोझो  भक्ति गर । 

तिमीले दिमागको प्रयोग गर्ने होइन । यो जमात दलितलाई भन्छ - तिमीलाई राजा महेन्द्रले मुलुकी ऐन दिए । त्यसैलई चाटेर बस । तिम्रा समाजका अगुवालाई राजाले मन्त्री बनाएका थिए । यही जमात मधेसीलाई भन्छ - तिमी नेपालमा छौ । यसैमा खुसी होऊ नागरिक बन्ने प्रयास नगर । तिमी दोस्रो दर्जाका नागरिकमात्र  हौ । 

यो जमात राष्ट्रवादको चर्को नारा लागाउँछ । यसले मालिक र दासको सम्बन्धमा नाफा देख्छ । यसले महिला, दलित, जनजाति, मधेसी समुदायका केही अनुहारलाई राजाको पक्षमा खडा गर्छ र भन्छ - नेपाली युगौंदेखि मिलेर बसेको समाज हो ।  यो जमात राजाको गुलामी पनि आफ्नै फाइदाका लागिमात्र गर्छ र आफ्नो फाइदाका लागि आफूभन्दा कमजोरलाई गुलाम बनाउन चाहन्छ ।

यस कथित राजावादी जमातले  राजा महाराजाले आफ्नो  वंशको  सत्ता कायम गर्न गरेको सबै कृयाकलापमा राष्ट्रको हित देखाउने प्रयत्न गर्छ । 

यो जमात इतिहासका एक पात्र राजा महेन्द्रको अलोकन्तान्त्रिक चरित्रमा पनि एक दूरदृष्टि देख्छ ।  समाजमा एउटा यस्तो समूह पनि तयार हुँदैछ जसले वर्तमान व्यवस्थाले दिएको स्वतन्त्रताको भरपूर उपयोग त गर्छ तर आफ्ना राजा र उनका कथित सिपाहीहरूलाई प्रश्न गर्दैन । 

यो जमात तिनलाई सोध्दैन - तिमी यस देशमा व्याप्त जातीय विभेद, भाषिक, सांस्कृतिक, लैंगिक असमानताविरुद्ध किन बोल्दैनौ  । 

यो नयाँ तप्का राजा महेन्द्रको आफू र आफ्नो वंशको शासन बचाउन गरेका काम र उनको अलोकतान्त्रिक चरित्रमा नै नेपालको भलो देख्छ । ज्ञानेन्द्रको शरीरमा महेन्द्रको आत्मा हालेर नेपाललाई विष्णुको नयाँ अवतार दिन उद्यत छ यो समूह ।

यो जमात आफैँ त्यति खतरनाक छैन जति यसले  जन्माएको 'सोचको प्रक्रिया' (थट प्रोसेस)  छ ।  भोक, गरिबी  उत्पीडन, दमनको सिकार समुदायका व्यक्ति पनि यो दासत्वमा आफ्नो उद्धार / मुक्ति  देख्छ । यो सबैभन्दा खतरनाक प्रवृत्ति हो । यसले एउटा पूरा पुस्तालाई पङ्गु बनाउनेछ । 

शताब्दियौंदेखि विभेद, गरिबी , दमन, अत्याचार खेप्दै आएका थुप्रै जनतामा असुरक्षा र अझ बढी सीमानेतिकृत र बहिस्कृत हुने भय बढेको छ ।  दासत्वमा देशको भलो देख्ने र मानवीय पहिचानको  लडाईं लडिरहेकाहरूबीच द्वन्द्व हुने सम्भावनालाई पन्छाउन मिल्दैन । यही अवस्थाको लाभ लिन भरमग्दुर प्रयास गर्दैछन् पूर्व राजा  । 

पूर्वराजा  कस्ता मान्छे हुन् भन्ने त पञ्चायतको कालो दिन  भोगेको पुस्तालाई  राम्ररी नै थाहा छ ।  उनी कस्ता राजा हुन् त्यो बुझ्न भने पञ्चायततिर पनि फर्किनु पर्दैन । उनको सोचको स्तरको बारेमा पनि सबैलाई थाहा छ । 

अरू राजाहरूले जस्तै आफूलाई राष्ट्रवादीका रूपमा देखाउन माहिर छन् उनी । मैलेमात्र देशको भलो सोच्छु, मैलेमात्र सबैको भलो गर्न सक्छु भन्ने उनको मानसिकता मध्ययुगीन हो ।

पञ्चायतको अत्याचारबाट आक्रान्त शोषित, पीडित आफ्नो मानवीय पहिचान खोजी रहेका जनताको पूर्ण नागरिक बन्ने, मानव बन्ने र विभेदरहित समाज निर्माण गर्ने अभिलाषा लाई राजा ज्ञानेद्र र उनका अनुयायी कुल्चन चाहन्छन् । यसरी उनीहरूले नेपाललाई द्वन्द्वतर्फ  धकेली रहेका छन् ।

उनी आफू विष्णुको अवतार भएको भ्रमबाट मुक्त हुनुपर्छ । आफू पूर्णरूपमा नागरिक बन्न अग्रसर हुनुपर्छ ।  नागरिकमा रूपान्तरण  हुनुमा नै पूर्वराजाको बुद्धिमता देखिनेछ । यो नै उनको राष्ट्रलाई सबैभन्दा ठुलो  योगदान हुनेछ । 

उनीबाट सायद उनका अनुयायीले पनि सिक्नेछन्  । उनलाई म राजगद्दीमा नै बस्छु भन्ने हठ पूरा गर्नुछ भन्ने एकपटक नारायणहिटी संग्रहालयको टिकट काटेर त्यहाँ राखेको राजगद्दीमा सेल्फी खिच्नु उपयुक्त हुन्छ ।

सत्य के हो भने अब जस्ले ले जति प्रयास गरे पनि राजतन्त्र नेपालमा फर्किन्न । ज्ञानेन्द्र नै नेपालको अन्तिम राजा अर्थात् 'द लास्ट एम्परर' हुन् ।

लेखक न्युयोर्कमा कार्यरत छन् 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro