
टोक्यो । आर्थिक वर्ष सन् २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानीस्तरमा पुगेको छ । मुलुकमा भालुको आक्रमण यो वर्ष सबैभन्दा खराब हो ।
पर्यावरण मन्त्रालयका अनुसार, आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर १९३ भालुको आक्रमण भएको छ । यसक्रममा २१२ घाइते र ६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०२० मा घाइते भएका १५८ जनाको कीर्तिमानी संख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा ४५ आक्रमण भएको थियो ।
गएको नोभेम्बरमा भालुले ३० जनामाथि आक्रमण गरेको थियो । उक्त आक्रमण ‘दोस्रो सबैभन्दा ठूलो’ थियो । भालुहरू सामान्यतया नोभेम्बरको अन्त्यदेखि डिसेम्बरसम्म शीतनिद्रामा जान्छन् । तर, मन्त्रालयका अधिकारीहरूले अझै आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । रासस/सिन्ह्वा