site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तातोपानीमा चुर्लुम्म
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

आज हामी छोडियौँ अथवा छाड्यौँ समूह । उछल्टियौँ समूहबाट । जानीजानी अथवा अनजानमै । कहिलेकाहीँ यस्तो हुँदो रहेछ जीवनमा ।

योग र वियोगको सिलसिला नै त हो जीवन ! आउनु र जानुको क्रम । भेट्नु र बिछोडिनुको मर्म । सँगै हिँड्नु र एक्लिनुको मज्जा ।

हो, हामी छुट्टियौँ चालिसजनाको प्राज्ञिक समूहबाट, मात्र एक दिनका लागि । साँझमा त भेटिइहाल्ने छौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

छुट्नु वा छोड्नु एउटा क्रमभंग हो । हामीले आज क्रमभंग गर्यौँ सहयात्रीहरूलाई साथ नदिएर । हामी छुटेका होइनौँ, छोडेका हौँ आफैँले ।

बेनीको बिहान हुन बाँकी नै थियो । धवलागिरिको न्यानो काख ! म्याङ्दी अर्थात् म्याग्दी जिल्लाको सदरमुकाम । काली र म्याग्दी नदीको संगमस्थल बेनी ।

Royal Enfield Island Ad

कल्याङमल्याङ सुनियो कोठाबाहिर । उर्दी थियो बिहान पाँच बजे नै यात्राका लागि तयार हुन । आजको यात्रा कठिन हुने हिजै अड्कल काटेको थिएँ, बसको सट्टा चारचारवटा जीपको व्यवस्था गर्दा नै ।

दिनभरको उकाली–ओराली र घुमाइमा कति थेचारिनुपर्ने हो थाहापत्तो थिएन हामीलाई ।

अघिल्ला दुईतीन दिनभरको नागबेली कच्ची सडकको उफ्राइ र थेचराइको भुक्तभोगी थियौँ हामी । साँघुरा र घुमाउरा सडक र भीरपहरा छिचोल्दा जिउ नै थिलथिलो बनेको थियो । जिरिंग त कतिपल्ट भइयो भइयो ।

जर्याकजुरुक उठ्न नै अल्छी लागिरहेको थियो ।

यद्यपि, बिउँझिसकेको थिएँ । बिहान चार बजे नै निद्रा खुल्छ मेरो । बानी हो सधैँको । आजका कोठेमित्र (रुमपार्टनर)लाई नियालेर हेरेँ । फ्वाँफ्वाँ मात्र हैन, बाघ घुराइमा मस्त देखिए ।

लोभ त लागेकै हो आजको सामूहिक दृश्यावलोकन र कार्यक्रमको । म्याग्दीका उत्तुंगका पाखापखेराको साक्षात्कार गर्न लोभिएकै हो मेरो मन । कहिले आइन्छ र यसरी !

आठ हजार फिटभन्दा अग्ला लेकलेकमा पुगेर १६ हजार फिटभन्दा अग्ला धवलागिरि, अन्नपूर्णा, नीलगिरि, गुर्जा, चुरेनजस्ता हिमचुलीहरू नजिकैबाट हेर्न पाउनु पनि अहोभाग्य नै हुँदो हो ।

उठाऊँ त मित्रलाई ! एक मनले भनिरहेको थियो । अर्को मन भाँडियो मस्तैले । आँट आएन मित्रलाई उठाउन । न आफैँलाई ह्याउ पलायो लेकलेक चहार्न ।

आराम गर बाबै, आज एक दिन ! बुढ्यौलीमा ज्यादा धपेडी गर्नु हुन्न, बिमार पर्न सक्छ ! मेरो अन्तरकुन्तरबाट साउती गरिरहेझँै लाग्यो । अनि, गर्लम्म सिरक तान्छु र छिनमै भुसुक्कै हुन पुग्छु ।

टिर्रटिर्र फोनको घण्टी बज्दा बिउँझिन्छु म । कोठेमित्र चल्मलाउँछन् र आफ्नो गोजीफोनमा फुस्फुसाउँछन् अल्छी मान्दै ।

“लौ है हामी त भुसुक्कै भएछौँ ! तपाईंहरूले पनि उठाउनु भएन । हुन्दिनुस्, आज हामी यतै घुमेर सन्तोष लिऔँला,” कोठेमित्रले फुस्फुसाएको सुन्छु म ।

बिहानको साढे सात बजिसकेछ । उठौँ अब, कति सुत्ने !

म नित्यकर्ममा लाग्छु । मित्रलाई तातो चियाको सुर्को नलिएसम्म जाँगरै चल्दैन नित्यकर्म गर्न ।

हामी तल ओर्लिन्छाैँ होटेलको रिसेप्सनमा । न्यु शिख रेस्टुराँ एन्ड लज भर्खरै बिउँझिएको रहेछ । म्याग्दीको एउटा गाउँ रहेछ शिख । साहुनीको गाउँ । साहुनी नौमती पुनको मिठो मुस्कानसँगै ए’एक कप चिया पिउँछौँ र तृप्त हुन्छौँ ।

“अब घुम्न जाऔँ बेनीबजार,” मेरो प्रस्ताव हुन्छ ।

रेडियोमा बजिरहेको थियो टीकाबहादुर श्रेष्ठद्वारा संकलित लोकगीत मन छन्त्यालको सुमधुर आवाजमा–
    बेनीको बजार 
    जता माया उतै छ नजर 
    तिरेमिरे जाली रुमाल ।

अनायास मेरो मुख फुस्किन्छ, ‘बेनीको बजार, तिरेमिरे धुर्व घिमिरे’ ! हामी साथीसाथीमा जिस्कने मेसो ।

हो, मेरा आजका कोठेमित्र हुन् प्रा. डा. धु्रवकुमार घिमिरे । मेरा अनन्य मित्र । यात्रामा हाम्रो जोडीलाई हलगोरु भनेर जिस्क्याउँछन् साथीहरू । हामी फिस्स हाँसिदिन्छौँ । खेल खत्तम !

अहिले हलगोरुझैँ नारिएर हिँडिरहेछौँ बेनीबजार । अग्लाहोचा भवनहरूले अव्यवस्थित बन्दै गएको बेनीबजार फिसिक्क हाँसिरहेको थियो घामसँगै ।

बेनीबजार कालीगण्डकीसँगसँगै कुदिरहेको रहेछ लाम्चिएर । दुवैतिर उत्तुंगका पर्वतशृंखला । बीचमा काली अर्थात् कृष्णागण्डकी । कालीगण्डकी जसलाई कृष्णा वा शालीग्रामी गण्डकी पनि भनिन्छ । शालिग्रामको एक मात्र उद्गमस्थल । दामोदर हिमालदेखि आफ्नै बेगमा प्रवाहित छ अविरल !

घाम चर्किरहेकै थियो कार्तिक महिनामा पनि । नत्र यति बेला चिसोले अत्याउनुपर्थ्यो । तर, हामीलाई ज्याकेट घाँडो हुँदै जान्छ । बदलिरहेछ हावापानी । गर्मीको साम्राज्य बढ्दो छ ।

हिमाल कालो अनुहार लगाएर रुन थालिसकेको देखिन्छ, कुनै चहक देखिन्न । अर्काको गल्तीमा हाम्रो रुवाइ आलो लाग्छ । पिरलो यसैमा छ ।

कालीको किनारैकिनार धुलाम्मे सडकमा उँधोउँधो लाग्दा बजारको पुछारमा म्याग्दीलाई भेट्छौँ ।

आहा, म्याग्दी ! कालीलाई भेट्न बुर्कुसी मार्दै आउँदै रहेछ धवलागिरि हिमालदेखि । गुर्जा, रितुङ, न्यारे, अर्जेजस्ता थुप्रै ससाना खोलाहरू समेट्दै मुदी, मुना, ताकम, देवीस्थान, बराङ्जा, भकिम्ली, मराङ, बिम, सिंगा, अथुर्केे आदि गाउँहरू छिचोल्दै आइपुगेकी रहिछन् कालीलाई भेट्न ।

कति माया रहेछ त यी दिदीबहिनीमा ! म्याग्दी त विलीन नै भइछन् कालीगण्डकीमा । माया होस् न त यस्तो !

दुई नदीको दोभानलाई बेनी भनिँदो रहेछ । काली र म्याग्दी समाहित भएको यस पुण्यभूमिलाई म्याग्दीबेनी भनिन्छ, खुुसुक्क भनिन् कालीले ! कागखोलाको दोभानलाई कागबेनी, मोदीखोलाको संगमलाई मोदीबेनी भनेझैँ म्यादीखोलाको संगमलाई म्याग्दीबेनी भनिएको अरे !

काली र म्याग्दीको संगमकै नामबाट यस बजारको नाम ‘बेनी’ रहन गएको पत्तो पाउँदा गर्मी पनि छुमन्तर भयो । आचमन गर्यौँ फोटो क्लिकक्लिकले ।

पारि म्याग्दी र कालीको दोभानपछिको कालीगण्डकीको बगरमा चिता जलिरहेको थियो । नदीको दोभानमा त्यो पनि कालीगण्डकीको संगममा दाहसंस्कार हुनु भाग्यमानी मान्छ हाम्रो समाज । आफन्त र मलामीहरू सन्तुष्ट भए हुन् ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्न पुग्छु म । एक दिन हामी पनि यसरी नै धुवाँ भएर उड्नु नै त छ ।

बेनीबजार घुम्यौ फनक्कै । नयाँ काँचुली फेर्दै रहेछ बेनीबजार । ठूलासाना होटेल, लजहरू, ठूल्ठूला भवनहरू, पसल र शो रुमहरू, सवारीसाधनको उपलब्धता र घुइँचोसहितको नगरपालिकाको स्वरूप लिँदै रहेछ बेनीबजार । सदरमुकामको अहं त छँदै छ ।

पहिलेका रत्नेचौर, ज्यामरुककोट, अर्थुंगे, धतान, पुलाचौर, सिंगा, भकिम्ली र पातलेखेत गाविसहरू मक्ख थिए बेनी नगरपालिका बन्न पाउँदा ।

बेनीबजार तिब्बत जाने पश्चिमको प्राचीन मूल बाटो र काठमाडौंबाट जुम्ला जाने पुरानो बाटो । अहिले मुस्ताङ छिचोल्ने केन्द्र बनेको रहेछ । मुस्ताङ र मुक्तिनाथ जाने यात्रुहरूको विश्रामस्थल बनेर गजधम्म पल्टिरहेको छ बेनीबजार, कालीको किनारमा लम्पसार ।

दश नाघिसके छ बिहानको । अब कता भौँतारिने हो कुनै पत्तो थिएन ।

“जाऔँ तातोपानीमा नुहाउन,” मित्र धु्रव घिमिरे तम्सिए । सुनेको थिएँ, तातोपानी कुण्डमा नुहाउँदा हाइसन्चो हुन्छ रे ! म पनि हौसिएँ । आराम पनि हुने, दिन काट्ने मेसो पनि बन्ने ।

“तर, कता जाने ? यहाँ त थुपै्र ठाउँमा तातोपानीको कुण्ड छन् रे !,” मैले सुनेको भरमा प्रश्न तेर्स्याएँ ।

“हो हगि ! काली र म्याग्दी नदीका किनारामा थुप्रै तातोपानीको कुण्ड छन् । दर्मिजा, बरांजा, भुरुङ, फल्तीखेत, सिंजाजस्ता तातोपानी कुण्डहरूको त नामै चलेको छ । अरू पनि छन् रे म्याग्दी जिल्लामा थुप्रै,” धु्रव सरको स्वीकारोक्ति ।

“अनि, कता जाने त ? हिजो निम गाउँमा जाँदा म्याग्दीको किनारामा देखिएको सिंगा तातोपानी कुण्डमा जाने हो ? त्यो त यहाँबाट नौदश किलोमिटर मात्र टाढा होला,” मेरो जिज्ञासा थियो ।

मैले सुनेको छु– सिंगाको कुण्डमा नुहाउनेको अति भीडभाड हुन्छ । पहिले पैदलै हिँडेर पनि त्यहाँ पुग्थे रे बिरामीहरू ! खोच, कन्दरा र दुर्गममा थियो । ओडारमै बास बस्थे रे ! विश्वास हो ।

२०४२ सालमा व्यवस्थित गरेपछि सुविधा बढ्न थाल्यो । अहिले त कालोपत्र सडक नै बनिसकेकोले ज्यादै सजिलो भएको छ त्यहाँ पुग्न ।

“हैन, त्यहाँ हिजो पुगिहाल्यौँ नि ! आज कालीगण्डकीको किनारामा रहेको भुरुङ तातोपानी कुण्डमा जाऔँ । त्यो कुण्ड मुक्तिनाथ जाने बाटैमा पनि छ । म एकपटक गइसकेको पनि छु । यहाँबाट सायद तेइसचौबिस किलोमिटर टाढा पर्छ होला । रमाइलो छ, भीडभाड पनि हुन्न,” सहयात्रीको उत्सुकता पोखियो ।

“कसरी जाने त ?”

“जहाँ इच्छा त्यहाँ उपाय ।” हामी ट्याक्सीमा हुइँकियौँ । गलेश्वरधामभन्दा केही अगाडिसम्म सरर्र बग्यो कार, कालीको उल्टो धार पछ्याउँदै ।

पोहरसाल आउँदा गलेश्वरधामसम्म ग्राभेल पनि भएको थिएन, अहिले त कालोपत्र भइसकेछ । त्यसपछि भने सडक विस्तारको काम हुँदै रहेछ । विकासको एउटा पूर्वाधार मानिन्छ सडक सञ्जाल । डाँडापाखा जथाभावी खोस्रिँदै गरेको देखिन्छ जताततै ।

गलेश्वरधामपछिको उबडखाबडमा जोल्टिङ खाँदै पुग्यौँ भुरुङ तातोपानी कुण्ड ।

सडककै छेउमा रहेछ तातोपानी कुण्ड । नुहाउनेको भीड देखियो । बजारमा विशाल आधुनिक होटेल भवन समेत देखापर्यो । मुक्तिनाथ यात्रामा आउने देश–विदेशका यात्रुहरूले पनि झटपट प्रयोग गर्दा हुन् तातोपानी कुण्ड ।

बजारमा ससाना होटेल, लजका साथै प्रहरी चेकपोस्ट पनि रहेछ । धु्रव सरले ट्याक्सी त्यहाँ रोक्न दिएनन्, अगाडि बढाए । बजारबाट केही अगाडि कालीगण्डकीमा पुल तेर्सिएको देखियो । रोकियो ट्याक्सी ।

तातोपानी कुण्ड छोडेर अघि बढेकोमा छक्क पर्दै ओर्लिएँ म । पछि थाहा पाएँ, त्यस क्षेत्रमा पाँचवटा तातोपानीका मुहान रहेछन् । रोजीरोजी प्रयोग गर्न सकिँदो रहेछ । त्यसमध्येको एउटामा जाँदै रहेछौँ हामी ।

धु्रव सरले पुल तरेर केही बेर पहाडी गोरेटो हिँडाए । अलिकति उक्लिने, अलिकति ओर्लिने गर्दै अति शान्त र रमणीय कुण्डमा पुर्याएपछि दङदास भएँ म ।

यस तातोपानी कुण्डलाई पाउद्वार तातोपानी भन्दा रहेछन् ।

टाढैबाट ससाना केही पक्की छाप्राहरू गुजमुज्ज देखिए । आँगनमा लुगा सुकाएको देखिन्थ्यो । केही मानिसहरू सल्बलाइरहेका थिए ती छाप्राहरूमा । जाँदै गर्दा एउटा टहरोमा चियापसल भेटियो, कुण्डको मूल ढोकासँगै ।

तातोपानी कुण्डले मुसुक्क हाँसेर स्वागत गर्यो हाम्रो ।

वातावरणमा एकप्रकारको गन्ध वा सुगन्ध अनुभव गरेँ मैले । भनेको सुनेको थिएँ, यहाँको तातोपानीमा गन्धक र बिरेनुन मिसिएको छ । हुनसक्छ, त्यसैको हरक होस् ।

गन्ध र तातोपानीको आकर्षणले हामी हतारियौँ तप्तकुण्डमा चोपलिन । फटाफट ओर्लिन थाल्यौँ कुण्डतर्फ ।

“सर सर, नुहाउने भए पचास रुपैयाँ लाग्छ,” नारी स्वर ठोक्कियो मेरो कानमा । ‘पछि है’ भन्दै म पनि धु्रव सरको पछि लागेँ ।

कुण्डलाई धेरै व्यवस्थित गरिएको रहेछ । कुण्डलाई दुई भागमा बाँडिएको छ । अझ भनौँ, तीन भागमा विभक्त छ । ट्रस्ट राखेर जस्ताको छाना छाइएको र चारैतिर फलामे बारले बेरिएकोले सुरक्षित अनुभव हुन्थ्यो ।

पहाडको छेडोबाट मूल फुटिरहेको थियो । मूलबाट आएको तातोपानी पाइपबाट झारेर जम्मा गरिएको रहेछ । ठाउँठाउँमा धाराको पनि व्यवस्था गरिएको थियो । निकास पनि भएकोले पानी बिटुलिन पाउँदो रहेनछ ।

एकाछेउमा ढुंगामुनि तातोपानी बग्ने गरेर ढुंगा ओछ्याइएको खण्डमा प्लास्टिक ओढेर मानिसहरू सुतिरहेका देखेँ । जिज्ञासा कुलकुल गरिरह्यो मूलको पानीझैँ ।

तप्त कुण्डको एक खण्डमा एकजना महिला बन्दी (स्यान्डो) र लामो कट्टु पहिरिएर नुहाइरहेकी थिइन् । उनी बेलाबेलामा पानीबाट निस्केर डिलमा बस्थिन् र मगमा धाराको पानी थापेर सुस्तसुस्त पिउँथिन् । धेरै बेर चियाउन सकेनौँ उनलाई । शिष्टाचार हुँदैनथ्यो ।

त्यहाँ महिला–पुरुष सराबरी नुहाउनमा कुनै रोकटोक थिएन । बन्दी र लामो कट्टुमा निर्धक्क र निस्फिक्री देखिन्थे सबै । ती आ–आफ्नै तालमा पानीमा चोपलिरहेका थिए, डिलमा बसिरहेका थिए, तातोपानी पिइरहेका थिए र आत्मतुष्टिमा रमाइरहेका थिए ।

भनिन्छ, तातोपानी कुण्डको औसत तापक्रम ४५–४८ डिसेसम्म हुन्छ रे ! मूलमा त ५०–५३ डिसेसम्मै पुग्छ रे ! सुरुमा च्वास्सै पोल्ने तातोपानीलाई सुस्तसुस्त चलाउँदै जाँदा अनुकूलित हुँदो रहेछ । अनि त मज्जाले नुहाउन सकिने ।

आत्था ! हात चोबल्दा च्वास्स पोल्यो । पहिलो खेपमा मज्जैले पोल्दो रहेछ । पानी चलाउँदै जाँदा अनुकूलित हुँदै गयो ।

धु्रव सर र म पनि चुर्लुम्म डुब्यौँ । मज्जाले चोपलिएर एक घण्टा बितायौँ । पाँचदश मिनेट पानीमा चोबलिने र दुईचार मिनेट पानीबाहिर निस्केर तापक्रमलाई अनुकूलित पार्नुपर्दो रहेछ । हामीले पनि त्यस्तै गर्यौँ, गरिरह्यौँ ।

आहा, मज्जा आयो ! तीनचार दिनको कष्टप्रद उकाली–ओरालीको थकाइ फुमन्तर ! आजको विश्राम सार्थक लाग्यो हामीलाई ।

आजको औपचारिक दृश्यावलोकन र कार्यक्रम छुटेकोमा पनि पछुतो लागेन । छुटेका छन् यस्ता छुट्नै नहुने अवसर र ठाउँहरू अनगिन्ती । कति नै भ्याइन्छ र दुईदिने जीवनमा ! भ्याएसम्म र सकेसम्म गतिशील हुनैपर्छ जीवनमा । त्यसमा म दृढ छु ।

पेटमा मुसा दगुर्न थालेपछि हामी चियापसलमा उक्लियौँ । खानाको व्यवस्था गर्न पहिले नै भनिसकेका थियौँ । खाना तयार भइसकेको रहेछ ।

खानाकै क्रममा मैले साहुनी दिलकुमारी पुन – जो यस कुण्डका सञ्चालक पनि रहिछन्, लाई कुण्डतिर देखाउँदै सोधेँ, “ती यसरी किन सुतेका ?”

“यी विभिन्न रोगबाट ज्यादै पीडित बिरामी हुन् । कम्तीमा एक हप्ता तातोपानीमा नुहाएर यसरी एकडेढ घण्टा सुतेमा बाथरोग, ढाड दुख्ने, छालाको रोग, गलगाँड, ग्यास्ट्रिकजस्ता रोग निको हुन्छ भन्ने विश्वास गरिन्छ । सामान्य बिरामीले केही दिन एकडेढ घण्टा तातोपानीमा चोपलिएर बस्दा पनि निको हुन्छ है ! निको भएर गएका पनि छन् । त्यसैले बिरामीहरू यहीँ बसेर उपचार गर्छन्,” व्यापारिक मिठो बोलीमा साहुनीले प्रस्ट पारिन् ।

“अनि, हप्ता दुई हप्तासम्म कहाँ बस्छन् त ?”

“यी क्या त केबिनहरू ! हामीले नै सञ्चालन गरेका छौँ । सुबिस्ता हुन्छ यहाँ बस्दा । धेरै खर्च पनि लाग्दैन । त्यसैले कोही यहाँ बस्छन् । कोही होटेल, लजहरूमा बस्छन्, उपचारका लागि,” साहुनी मक्खै थिइन् ।

कुण्ड सञ्चालन गर्न उनले सम्बन्धित निकायबाट वार्षिक २३ लाख बुझाउने सर्तमा ठेक्का लिएकी रहिछिन् । आयस्रोत राम्रै देखियो । साहुनी सन्तुष्ट देखिन्थिन् ।

रोग निको हुने नहुने बेग्लै कुरा, विश्वास हो ठूलो । विकास समिति वा नगरपालिकाले पनि भजाएको रहेछ विश्वास । 

हामी पनि चोपलियौँ चुर्लुम्म । एकप्रकारको प्राकृतिक थेरापी । मनको शान्ति !

२०८० कार्तिक २३ को साँझ मक्ख थियो । लोकवार्ताका सहयात्रीहरूलाई पर्खिबस्दा होटेल डल्फिन, बेनी पनि मुस्कुरायो ।

(प्रतिभाकुञ्ज, तीनथाना)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro