site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अघोषित संकटकाल’ र फेसबुकको प्रयोग

भारतको राजस्थान प्रदेशको इन्दौरबाट प्रकाशित हुने ’राजस्थान पत्रिका’ले राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजे सिन्धियासँग सम्बन्धित समाचार प्रकाशित नगर्ने निर्णय गरेको छ । पत्रिकाको अनलाइन संस्करणअनुसार राजस्थान सरकारले हालै विधान सभामा प्रस्तुत गरेको विधेयकमा रहेको प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रावधानको विरोधमा यस्तो निर्णय गरेको हो । विधेयकमा सरकारको अनुमतिविना सरकारी पदाधिकारीविरुद्ध अनियमितता वा भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशन, प्रसारण गर्न नपाइने प्रावधान समावेश गरिएको छ । यसैले सञ्चार जगत्मा यस विधेयकलाई ‘कालो कानुन’ भनिएको छ । राजस्थान पत्रिकाले ‘जबतक काला तबतक ताला’ भन्दै मुख्यमन्त्री सिन्धियाको समाचार बहिष्कार गर्ने घोषणा गरेको हो । 

करिब ८० लाख पाठक भएको राजस्थान पत्रिका दैनिक १८ लाखप्रतिभन्दा बढी छापिँदो रहेछ । सन् १९५६ मा सुरु भएको राजस्थान पत्रिका छैटौं ठूलो हिन्दी अखबार मानिन्छ । समाचारमा जनाइएअनुसार भारतमा इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएका बेलामा पनि प्रेस स्वतन्त्रतामा अंकुश लगाइएको थियो । अहिले कानुनमा समावेश गर्न खोजिएको प्रावधान पनि संकटकालकै जस्तो छ । फरक यत्ति हो, उतिबेला संकटकाल घोषित थियो र अहिले अघोषित संकटकाल लगाइएको छ । 

राजस्थानमा भारतीय जनता पार्टीको सरकार छ । प्रधानमन्त्री नरेन्द्र मोदी लोकतन्त्रप्रति खासै प्रतिबद्ध नभएकाले भारतीय लोकतन्त्र बिस्तारै अधिनायकवादको चंगुलमा पर्ने जोखिम त्यहाँका स्वतन्त्र विश्लेषकहरूले औँल्याउन थालेका छन् । पछिल्ला वर्षहरू सरकार समर्थकहरूले समाजमा असष्णिुता बढाएका छन् भने सामाजिक सञ्जालमा समेत अत्यन्त असहिष्णु प्रवृत्ति देखाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीकै कथन पनि पदीय गरिमालाई नसुहाउने गरी आक्रामक हुने गरेको छ । 
इन्दिरा गान्धीलाई घोषित संकटकाल पनि फापेन । नरेन्द्र मोदीलाई ’अघोषित संकटकाल’ फाप्ला त ?

चीनमा फेसबुक चलाउन पाइँदैन । कम्युनिस्ट पार्टीको मात्र हैन पार्टीका नेताविरुद्ध पनि सामाजिक सञ्जालमा लेखे सजाय हुन्छ । चिनियाँलाई टाउको दुखेको छैन भने अरूलाई के चासो ? तर, देशभित्र आफ्ना नागरिकलाई फेसबुक चलाउन नदिने चीनले आफ्नो चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको प्रचार गर्न भने फेसबुकमा लाखौं डलरको विज्ञापन गर्दोरहेछ । द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा बिहीबार दिइएको एउटा समाचारअनुसार अंग्रेजी भाषामा दिइने त्यस्ता विज्ञापनमा चीनको शासन व्यवस्थाको प्रशंसा र पश्चिमी शैलीको खुला समाज तथा लोकतन्त्रको आलोचना गरिएको हुन्छ ।

रुसले फेसबुकलाई अमेरिकी चुनावमा आफूले मन नपराएको उमेदवारलाई हराउन प्रयोग गरेको विषय अब सिद्ध भइसकेको छ । त्यसमा राष्ट्रपति चुनाव जित्ने डोनाल्ड ट्रम्पको हात कति छ भन्ने जाँच भइरहेको छ । 

अर्काे मुलुकको चुनावमा हस्तक्षेप गर्न रुसले प्रयोग गरे पनि आफ्नो मुलुकको प्रचार गर्न चीनले प्रयोग गरे पनि पैसा भने अमेरिकी कम्पनी फेसबुकले नै कमाउने रहेछ ।   


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro