site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भगवान्, भाग्य र भौतिकी — १

लेखेको पाइन्छ, देखेको पाइन्न । प्रारब्धमा जे छ, त्यही प्राप्त हुन्छ । भावीले लेखेको, छालाले छेकेको । भाग्यलाई को बदल्न सक्छ ?

प्रारब्ध अर्थात् ‘डेस्टिनी’ अर्थात् नियति । भावी अर्थात् जन्म लिनेवाला मनुष्यको हुनेहुनामी । विधाता अर्थात् सर्जक, सृष्टिकर्ता र व्यवस्थापक । विधाताको विधान अर्थात् उसले बनाएको नियम या मनुष्यको नियतिको निर्धारण ।

के मनुष्यको डेस्टिनी पहिल्यै तय हुन्छ ? हो, मनुष्यले धेरै कुरा जन्मदा नै लिएर आएको हुन्छ । कद, रङ, शरीरको बनावट, स्नायुप्रणाली, इन्द्रियहरूको पूर्णता, अपूर्णता या रिक्तता ।

Dabur Nepal
NIC Asia

कसैका पाँचै ज्ञानेन्द्रिय र कर्मेन्द्रिय ठिकठाक हुन्छन् भने कसैका अधुरा या रित्ता । कसैको वाणी मधुर र कर्णप्रिय हुन्छ भने कसैको कर्कस । कोही बोल्न सक्दैन, किनकि ऊ सुन्न पनि सक्दैन । कोही सुने पनि बोल्दैन ।

कसैको सुँघ्ने शक्ति कमजोर हुन्छ या हुँदै हुँदैन । कोही दृष्टिविहीन हुन्छ र कोही देखे पनि सबै रङ देख्दैन या रतन्धो हुन्छ । कोही भकभकाउने, कोही तोते बोल्ने र कसैको स्वर कोइलीको जस्तो मधुर ।

यसरी भाग्यको निर्धारण गर्ने को होला ? सायद सबैभन्दा जटिल प्रश्न हो यो । भाग्यको निर्धारक भगवान् हो कि भौतिकी (फिजिक्स) ? कि फिजिक्स नै भगवान् हो या भगवान् नै फिजिक्स ?

हाम्रा पूर्वजले कहिले प्रारब्धको कुरा गरे, कहिले भाग्यको र कहिले पुनसको । उनीहरूले विधाता र धाताका कुरा गरे ।

आधुनिक समयमा सारा कुराको निर्धारक फिजिक्स नै हो भन्नेहरू पनि छन् । भगवान् याने फिजिक्स । फिजिक्स याने विधाता । फिजिक्स नै डेस्टिनी या प्रारब्धको निर्धारक ।

पूर्वजले फिजिक्स बुझेका थिएनन् या फरक ढंगले बुझेका थिए । उनीहरू कुनै अदृश्य शक्तिलाई भाग्यको निर्धारक मान्थे, जसलाई उनीहरूले भावी, भगवान् या विधाता भने ।

जो हुनु छ, हुनु नै छ । जो भोग्नु छ, निर्धारित छ ।

भगवान् कृष्ण बडो बुद्धिमान र शक्तिशाली थिए । तर, उनले ‘मैले पनि डेस्टिनीलाई बदल्न सक्दिनँ’ भने ।

फेरि प्रश्न उठ्न सक्छ, कि सबै कुरा पूर्वनिर्धारित छ भने किन परिश्रम गर्ने ? किन कर्म गर्ने र किन भगवान्को भक्ति या उपासना गर्ने ? परिश्रम गर्ने, किनकि कर्म नगरी त जिउनै सकिन्न ।

व्यक्तिले आफूले जन्मदा लिएर आएको प्रारब्धलाई बदल्न सक्दैन । उसले आफ्नो नियतिलाई इन्कार र तिरस्कार गरेर अर्कै स्वरूप प्राप्त गर्न सक्दैन । गोरो रङ लिएर जन्मेकाले आफूलाई कालो र कालो रङ लिएर जन्मेकाले गोरोमा रूपान्तरण गर्न सक्दैन ।

जन्मान्धलाई दृष्टिमान् बनाउन सकिन्न र सके पनि फिजिक्सकै सहयोगमा मात्र सकिन्छ । जन्मजात लाटोलाई वाचाल बनाउन सम्भव छैन । यदि, छ भने त्यो सम्भावना पनि फिजिक्ससँग मात्र छ ।

यही नै हो प्रारब्ध या भाग्य या डेस्टिनी । र, यसको निर्धारण गर्नेलाई भगवान्, विधाता या भौतिकी जे नामले पुकारे पनि भयो । मनुष्यले लिएर आएको भागअनुरूपको भोग त गर्नैपर्छ ।

कसैलाई फिजिक्सले दृष्टिविहीन बनाएर जन्मायो भने जन्मायो । दिदीभन्दा बहिनी कुरूप जन्मिन् त जन्मिन् । दाजुभन्दा भाइ सुन्दर जन्म्यो त जन्म्यो । एक बहिनी बक्क लाटी र अर्कीचाहिँ वाचाल जन्मिन् त जन्मिन् ।

एउटा कुनै बालक शारीरिक अशक्तताका कारण आजीवन ह्विल चियरमा बस्न बाध्य भयो त भयो । कोही तेस्रो या उभयलिंगी भएर जन्म्यो त जन्म्यो । प्रारब्ध नै विपरीत चलेपछि कसैको केही लाग्दैन ।

अब प्रश्न उठ्छ कि यस्तो अवस्थामा के गर्ने ? सर्वप्रथम कुरा हो, सम्बन्धित अभिभावक र व्यक्तिले आफ्नो अवस्था या प्रारब्धलाई स्वीकार गर्ने । यस्तो परिस्थितिमा भाग्यवादी बनेर बस्ने हो भने त झनै दुःख हुन्छ ।

भाग्यवादी बनेर आत्मसमर्पण गर्नुभन्दा अस्तित्ववादी भएर सामना गर्नुमा नै श्रेय छ । मनुष्यले नियतिलाई बदल्न त सक्तैन, किन्तु जीवनको मार्गलाई तुलनात्मक रूपमा सहज बनाउन सक्छ ।

कोही अरूभन्दा क्रोधी हुनु उसको निर्णय होइन । उसलाई क्रोधी बनाएको उसको हार्मोनले हो । उसको स्नायुप्रणालीले हो । कोही बडो विनम्र र मनोहर वाणीमा बोल्छ भने त्यो उसको फिजिक्सको कारणले हो ।

मानसिक र शारीरिक सबलता या दुर्बलताको निर्धारक फिजिक्स नै हो । कसैलाई रिस नै उठ्दैन भने उसले रिसको औषधि नै गर्नु परेन । कसैलाई बेकारका र मूल्यहीन कुरामा मानसिक अशान्ति, अवसाद र पीडा हुँदैन भने उसले योग, अभ्यास र ध्यान गर्नै परेन ।

प्रारब्धले काँडैकाँडाले भरिएको जीवन दियो त दियो । त्यसलाई स्वीकार गर्ने र चुनौतीलाई सामना गर्दै संघर्ष गर्नेबाहेक अर्को बाटो पनि त छैन । मनुष्यको जन्म उसको निर्णय र इच्छाले भएको पनि होइन ।

हाम्रा पूर्वजहरू भन्ने गर्दथे– सबै कुरा तय छ । आश्चर्यजनक रूपमा हाम्रा अत्याधुनिक समयका सैद्धान्तिक भौतिकशास्त्री स्टिफेन हकिङ पनि भन्छन्– सबै कुरा तय याने पूर्वनिर्धारित छ ।

पूर्वजले अदृश्य शक्तिलाई निर्धारक माने र उसको नाम भगवान्, ईश्वर या विधाता राखे । उनीहरूले कसैको नियतिलाई ईश्वरको अनुकम्पा या कोपका रूपमा व्याख्या गरे ।

परन्तु, आधुनिक युगले त्यो अज्ञात शक्तिलाई चिन्यो । पूर्वजले त्यो अज्ञातलाई ईश्वर भनेर चिने भने विज्ञानले उसलाई फिजिक्स भनेर चिन्यो । अघिको मानिसले दुर्भाग्यको निराकरण गर्न भूतप्रेत आदिको पूजा, प्रार्थना, दान र तन्त्रमन्त्रमा जोड दियो भने विज्ञानले फिजिक्सको कारणले भएको कमीलाई यथासम्भव फिजिक्सकै सामग्री र उपकरणको माध्यमले क्षतिपूर्ति गर्ने उपाय अवलम्बन गर्यो ।

पूर्वजले भन्दै आएको प्रारब्ध सायद फिजिक्सको आध्यात्मिकीकरण थियो भने हकिङले भनेको प्रारब्ध अध्यात्मको भौतिकीकरण हो ।

कोही सभ्य, शालीन र दयालु छ भने उसले चरित्र निर्माणका लागि ठूलो अभ्यास गर्नु पर्दैन । सायद उसलाई त्यसको जरुरत छैन । उसले योग गर्नु पर्दैन, किनकि उसको फिजिक्स आफैँ योगसिद्ध छ ।

कोही अभ्यास गर्दैन, किनकि ऊ स्वयंसिद्ध अभ्यसित छ । कृष्ण भन्छन् नि– म वेदमा सामवेद हुँ । देवतामा इन्द्र हुँ । प्राणीमा चेतना हुँ । रुद्रमा शंकर हुँ । यक्षमा कुबेर हुँ । सेनापतिमा कुमार कार्तिकेय हुँ । ध्वनिमा ॐकार हुँ । सिद्धमा कपिल हुँ । मनुष्यमा राजा हुँ ।

र, यस्तै अनेकौँ मानुषी र अमानुषी गुण र ऐश्वर्यले भरिपूर्ण भएर जन्मन पाएपछि के चाहियो ?

कृष्णको मस्तिष्क र शरीरबीचको सम्बन्ध र सन्तुलन व्यवस्थित थियो । कृष्ण सानै उमेरदेखि बुझ्ने, जान्ने, सुनेको नबिर्सने, कुरालाई परिपाक लाउन सक्ने र सम्झाउन, बुझाउन सक्ने क्षमताका धनी थिए ।

उनलाई फिजिक्सले पूर्णता प्रदान गर्यो । त्यसैले उनी सानै उमेरमा बुझकी थिए । जन्मजात योगी, भोगी अभिनेता र नेता थिए । मौकामा ठोक्न जान्ने, मौकामा भाग्न जान्ने र मौकामा छकाउन र फकाउन जान्ने ।

उनको आकर्षक रूप जन्मजात, सुरिलो र मोहक वाणी जन्मजात, दिव्य र कञ्चन देह जन्मजात । मनमोहन मानसिक स्वास्थ्य जन्मजात । स्नायुप्रणाली ठिकठाक, मुटुको स्पन्दन ठिक्क, रक्तचाप ठिक्क र रगत बहने धमनीहरू दुरुस्त थिए ।

सारा कर्मेन्द्रिय र ज्ञानेन्द्रिय सही र सक्रिय थिए । मस्तिष्क र मनबीच सम्बन्धका तन्तुहरू साबुत थिए । अन्तःकरण चंगा र तन पनि चंगा थियो । कत्रो ‘कन्फिडेन्स’ थियो कृष्णमा ! 

जसको फिजिक्स जीवनयापनका लागि आफैँ पर्याप्त छ, उसले कम परिश्रम गरे भयो । उसको मस्तिष्क चतुरो हुनाले एकबार सुनेको र पढेको कुरा सहजै ‘स्टोर’ गरेर राख्न सक्षम हुने भयो ।

जसको रूप सुन्दर र वाणी मधुर छ, ऊ प्रथम भेटमै कसैको नजरमा पर्छ । उसको पेट बलियो छ, खाएको कुरा सहजै पच्छ । ऊ जन्मजात सौभाग्यशाली हो । प्राप्त भएको सौभाग्यको सदुपयोग मात्र गर्यो भने उसको जीवनको नैया पार हुन्छ ।

कमजोर प्रारब्ध र भग्न तकदिर लिएर जन्मेको मनुष्यले आफ्नो भाग्यको निर्धारक अव्यक्त र अभौतिकमा खोज्नु र निराकारलाई साकार रूप दिएर भक्ति गर्नु पनि तार्किक नै छ । 

परन्तु, यदि भक्तिको माध्यमले मनुष्य नैतिकता र सत्कर्ममा प्रवृत्त हुन्छ भने, क्लान्त र अशान्त मन अज्ञातको भक्तिमा लीन भएर शान्त र प्रसन्न हुन्छ भने, फिजिक्सले कमजोर तुल्याएको अन्तश्चेतना भक्तिको माध्यमबाट परिशुद्ध हुन्छ भने, भक्तिकै माध्यमबाट खानपान र जीवनशैली विशुद्ध हुन्छ भने त्यसैको प्रेरणाले दिल करुणामय हुन्छ ।

मृत्युको भयबाट मुक्त भइन्छ भने क्रोधको उत्सर्जन गराउने हार्मोन परोपकारको उत्सर्जन गराउनमा प्रवृत्त हुन्छ ।

र, सर्वोपरि कुरा भक्ति र उपासना नै अन्ततोगत्वा आडम्बर, अभिमान र पाखण्डमा रूपान्तर हुँदैन भने शास्त्रमा भगवान्को सन्निकट पुग्ने उपायको रूपमा कर्म, उपासना र ज्ञानलाई मानिएको पाइन्छ ।

प्राथमिक मानवीय कर्तव्य कर्म हो । चाहे अत्यन्तै आस्तिक होस् या आस्तिक अस्तित्ववादी या नास्तिक अस्तित्ववादी नै किन नहोस्, प्रथम कर्तव्य र अधिकार कर्ममा छ ।

जो आफ्नो सम्यक कर्ममा अविरल सरिक हुन्छ, उसलाई उपासनको दरकार नै पर्दैन । जसमा ज्ञान छ, ऊ उल्झेको हुँदैन, सुल्झेको हुन्छ । सुल्झेको व्यक्ति भ्रममा हुँदैन । भ्रम नभएपछि जीवनको पहिचान हुने भयो ।

जसले जीवन बुझेको छ, उसले स्वयंलाई निरन्तर कर्ममा लगाए भयो । जसले बुझेको छ, ऊ मुक्त छ । जो  स्वयंसिद्ध अनुशासित छ, उसलाई कसैको सहाराको जरुरत छैन ।

जसले छ्यान विवेक राख्छ, जो अधिक लुब्ध छैन, जो आशक्त छैन र जो स्वयं व्यवस्थापक छ, उसलाई दोस्रो व्यवस्थापक या अदृष्टको सहयोग पो किन चाहियो ?

जो अपूर्णांग छ, उसले त प्रयास गर्नैपर्यो । आँखा कमजोर भए चस्मा चाहियो । आँखामा दृष्टिशक्ति नै नभए श्रवण र सिकाइ चाहियो । प्रारब्धले दिएको भाग्यलाई स्वीकार गरेर अविचल र अविरल यत्न गर्नैपर्यो ।

हातगोडा, मन, पेट, आँखा, साबुत हुनेले थोरै प्रयत्न गरे पुग्यो । जो कमजोर छ, उसलाई अधिक अभ्यासको आवश्यकता पर्छ ।

क्रोधी स्वभाव फिजिक्सको निर्धारण हो । क्रोधी मनुष्यले आफ्नो स्वभावलाई पहिचान एवं महसुस गर्ने र कम क्रोधी अनि क्रोधहीन हुन निरन्तर अभ्यास गर्ने । कृष्ण र बुद्ध त्यही भन्छन् ।

आधुनिक औषधविज्ञानीहरू पनि त्यही कमीको परिपूर्ति गर्ने दबाइ लिने या थेरापी गर्ने सल्लाह दिन्छन् । अस्तित्ववाद पनि विसंगत जीवनलाई स्वीकार गरेर निरन्तर प्रयत्न गरिरहने प्रेरणा दिन्छ ।

कसैलाई हिंसा मन पर्छ, कसैलाई शान्ति । कोही खानका लागि हानाहान गर्छ, कोही चुप लागेर तमासा हेरेर बसिदिन्छ । कसैलाई हिंसात्मक प्रक्रिया रुचिकर लाग्छ । हिंसाप्रेमी व्यक्तिको हातमा कुनै आन्दोलनको नेतृत्व पुग्यो र सफल भयो भने सत्तामा पुगे पनि ऊ हिंसामै लिप्त हुन्छ या त्यसको पक्षपोषण गर्छ ।

हिंसाप्रेमीहरूको झुन्ड सत्तामा पनि आपसी लडाइँमै निमग्न हुन्छन् । उनीहरूको सोच र संगतले शान्त भएर बस्न दिए पो ! इतिहास साक्षी छ ।

त्यसो भए हिंसा, अन्याय, उत्पीडन, करुणाहीनता र विभेद नै मानवको मूल स्वभाव हो त ? सायद हो कि, यसै भन्न कठिन छ । तथापि, प्रायः उदार प्रवृत्तिमा अभ्यस्त नभएको समाजमा त्यस्तो अवस्था देखिन्छ ।

त्यसो भए मानवजगत्को सत्य के हो त ? नित्सेले भन्थे— सत्य सापेक्ष हुन्छ । मान्छेले जे मान्छ, उसको हकमा त्यही सत्य हो । हिटलरको विचारमा आर्य उच्चता सत्य हो । उनी त्यही सत्य कायम गर्ने ध्येयले हिंसामा प्रवृत्त भए ।

सत्यको कुनै वास्तविकता हुँदैन । सत्यको कुनै तथ्य हुँदैन । यो सार्वभौम, स्वतन्त्र र सार्वकालीन छैन । सत्य सापेक्ष छ ।

महाभारतका अर्जुन बहादुर त थिए, तर दृढ निश्चयको अभाव थियो । त्यही निश्चयको कमी परिपूर्ति गर्न उनलाई उपदेशको आवश्यकता पर्यो । भीष्मपितामहको हतारमा निर्णय गर्ने बानी थियो र जीवनभर त्यसको मार भोगे ।

तथापि, उनी अर्जुनभन्दा तगडा फिजिक्सले युक्त थिए । भीष्म कृष्णलाई हार्दिक सम्मान गर्दथे, किनकि कृष्णको तन, मन र मस्तिष्कसम्बन्धी फिजिक्स पूर्ण एवं पर्याप्त छ भन्ने कुरा भीष्मलाई थाहा थियो ।

त्यही आधारमा उनले विष्णुका हजार नाम सुनाएर गए । उनलाई ज्ञान थियो, फिजिक्सको अनुकूलताका कारण कृष्ण अद्भुत भौतिक, मानसिक र आध्यात्मिक ऐश्वर्यले युक्त छन्  । 

क्रमशः
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro