site stats
बाह्रखरी :: Baahrakhari
देश
युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

दोधारा चाँदनी । इजरायल र आतंकवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् । 

इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ । 

Argakhachi Cement Island Ad

“छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भने, “नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस् ।”    

जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपीनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । 

“भगवानसँग प्रार्थना गर्छु छोरो सकुशल मेरो काखमा आइपुगोस्,” आमा पद्माले भनिन्,“ विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ ।”

आजै परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरे । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्