site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नियमन गर्न छोडेर सरकारले किन बन्द गर्‍यो टिकटक ?

काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै यसको चर्काे विरोध भइरहेको छ ।  कात्तिक २६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसको केही दिनअघि कात्तिक १७ गते सरकारी अधिकारी र टिकटकको सिंगापुरस्थित कार्यालयका ६ जना प्रतिनिधिबीच टिकटकको नियमन एवम् व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृहमन्त्रालय र नेपाल प्रहरीको साइबर ब्यूरोले टिकटकका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा नेपालमा सामाजिक एवं धार्मिक सद्भाव भड्काउने, अनैतिक र अपाच्य हुनेखालका कन्टेन्ट हटाउनका लागि टिकटकले व्यवस्था गर्नुपर्ने माग सरकारी अधिकारीले राखेका थिए ।

उक्त छलफलबारे जानकार गृह मन्त्रालय स्रोतले टिकटकले सबै कन्टेन्टलाई अपलोड हुन नदिएर ‘करेक्सन’ वा ‘फिल्टर’ गरेर मात्रै पहुँच दिनुपर्ने माग अधिकारीहरुको थियो ।

Dabur Nepal
NIC Asia

“अश्लिल, सद्भाव भड्काउने जस्ता जथाभावी कन्टेन्ट यो राख्ने, यो नराख्ने भनेर करेक्सन गर्न टिकटक तयार थिएन । उसले हाम्रा सीमाहरूलाई ध्यान दिन नसक्ने भएपछि जे राख्यो त्यो ‘ओके’ हुने भयो । त्यसपछि तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय भएको हो,” गृह मन्त्रालय स्रोतले भन्यो ।

नेपाल प्रहरीमा आईटी हेर्ने एक उच्च अधिकारीले टिकटकको टोलीसँग नियमनका विषयमा कुराकानी भएको बताए ।  नेपालमै कार्यालय खोल्नुपर्ने, सरकारले डाटामा पहुँच पाउनुपर्ने जस्ता विषय सम्बोधन हुन नसकेको ती अधिकारीको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणलाई टिकटकले केही समयदेखि हटाउनुपर्ने कन्टेन्ट हटाउन आग्रह गर्नका लागि छुट्टै सुविधा उपलब्ध गराएको बताएका छन् ।

उनका अनुसार करिब चार महिना अघिदेखि टिकटकले प्राधिकरणलाई छुट्टै पोर्टलमा अनुमति दिएको थियो ।  त्यहाँबाट प्राधिकरणले छाडा कन्टेन्ट हटाउन टिकटकलाई अनुरोध गर्न सक्थ्यो ।

“साइबर ब्यूरोबाट अनुरोध आएपछि हामीले यताबाट उक्त कन्टेन्ट हटाउन अनुरोध गर्थ्यौं । टिकटकले प्राथमिकताका आधारमा त्यस्ता कन्टेन्ट हटाउने गरेको थियो,” प्राधिकरणका अध्यक्ष खनालले भने ।

सरकारले टिकटकमा अपलोड हुने कन्टेन्ट नै फिल्टर गर्न खोजेपछि प्राविधिक पाटो सहज नभएका कारण तत्काल बन्द गर्ने निर्णय गरेको हुन सक्ने अधिकारीहरुको अनुमान छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले टिकटकका प्रतिनिधिहरुसँग मन्त्रालयले सैद्धान्तिक पाटोबाट छलफल गरेको र बाँकी प्राविधिक विषयमा साइबर ब्यूरोले छलफल गरेको बताए ।

टिकटकका प्रतिनिधिहरुसँग सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लिल खालका गतिविधि तथा सामग्री हटाउने विषयमा छलफल भएको उनले बताए । 

त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने व्यवस्थाका लागि पनि छलफल भएको थियो ।

टिकटकले धेरै जसो विषयमा समन्वयका लागि जागरुकता देखाएको र साइबर ब्यूरो हुँदै प्राधिकरणलाई कन्टेन्ट हटाउन अनुरोध गर्नसक्ने व्यवस्था गरेपछि पनि सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको देखिन्छ ।

कन्टेन्ट नै फिल्टर गर्ने, नेपालका कन्टेन्ट एवं प्रयोगकर्ताको डाटामा पहुँच दिने जस्ता माग सरकारले राखेको र ती माग टिकटकले अन्तर्राष्ट्रिय अभ्यासका आधारमामात्रै हुने भनेपछि बन्द गर्ने निर्णय गरेको हुनसक्ने आंकलन पनि गरिएको छ ।

सरकारले टिकटक बन्द नै गरेकोमा धेरै संघसंस्था एवं सरोकारवालाहरुले आपत्ति जनाएको छ । टिकटक प्रतिबन्ध गर्न अभिव्यक्ति स्वतन्त्रासँग जोडिएको विषय भएको भन्दै नियमन कडा गर्नुपर्ने र प्रतिबन्ध हटाउनुपर्ने माग उनीहरुको छ ।

सञ्चार मन्त्रालयका सह–सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले सामाजिक सञ्जालहरु सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुरुप हुनुपर्ने बताएका छन् ।  त्यसका लागि टिकटकसँग भएको छलफल सकारात्मक रहेको जानकारी आफुले पाएको उनले बताए । 

कुनै विषयमा सहमति हुन नसकेपछि सरकारले बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ ।  उनले टिकटक बन्द भएसँगै भीपीएन वा अन्यमाध्यमबाट एप प्रयोग गर्न खोज्दा जोखिम हुनसक्ने भन्दै सचेत रहन र यो पाटोतर्फ पनि ध्यान दिन जरुरी रहेको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro