मधेसले
आकाशलाई भन्छ–
जाऽ पानी बरसाबऽ लेल कहि दहक पहाड़ भाइकेँ
आकाशले बादल पठाउँछ
बादल खुसीखुसी
पहाडको आलिंगनमा
टकराउँदै समाहित हुन्छ
पानीको थोपा बनी
मधेसको धरतीलाई चुम्छ
‘बेलैमा अन्न भित्र्याइदिनु है मधेस भाइ’
पानीले बोकी ल्याएको
पहाडको यो सन्देश सुनेर
मधेस मुसुक्क मुस्कुराउँछ र
अन्न फलाएर
पहाड भित्र्याउँछ
मधेस बाँच्छ अन्न बेचेर
पहाड बाँच्छ अन्न किनेर
युगौँयुगदेखि
सूर्य,
आकाश,
पहाड र मधेस
धरतीमा मिलेर बसेकै छन्
हामी मात्रै मिल्न सकेका छैनौँ !
जब
सूर्य,
आकाश,
पहाड र मधेस,
भौगोलिक रूपमा
एक हुन सक्छन्
हामी त्यही धरतीका छोराहरू
आत्मिक रूपमा
किन एक हुन सक्दैनौँ ?
एकार्काको अन्तर्मन
किन छुन सक्दैनौँ ?
सँगै हाँस्न सक्छौँ
सँगै रुन सक्दैनौँ ?
(अग्निसाईर कृष्णासवरन–४, सप्तरी)