काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण संकलन शुरु भएको छ ।
गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी र प्युठान १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पुर्याएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
भूकम्पले ३ हजार ७३ घरमा पूर्ण, ५ हजार ५९५ घरमा आंशिक र ४ हजार ७६० घरमा सामान्य क्षति गरेको छ । क्षतिका विवरण आउनेक्रम जारी रहेकाले यो संख्या अझे बढ्ने छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, जाजरकोटमा रहेका ३५ हजार घरमध्ये ९५ प्रतिशत र रुकुम पश्चिममा रहेका ३७ हजार घरमध्ये ९५ प्रतिशत घर कच्ची (ढुंगा र माटोले बनेका) छन् ।
गृह मन्त्रालयका अनुसार भूकम्पले सबैभन्दा ठूलो क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । पछिल्लो विवरणअनुसार भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ । भूकम्पकै कारण २५६ जना घाइते भएका छन् ।
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार भूकम्पले रुकुम पश्चिममा मात्र ९ हजार ५३८ घरमा क्षति गरेको छ । यो आइतबार रातिसम्म प्राप्त विवरण हो ।
रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घरमा पूर्ण, २ हजार ६४२ घरमा आंशिक र ४ हजार ७६० घरमा सामान्य क्षति गरेको उनले बताए । जाजरकोट जिल्लामा ९०५ घर पूर्ण र २ हजार ६८५ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वका ११८ घरमा आंशिक र ५ घरमा पूर्ण क्षति गरेको छ । सल्यानका ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति गरेको छ ।
यस्तै, रोल्पाका १७ घरमा आंशिक, नवलपरासी पूर्वको एक घरमा आंशिक, दैलेखका एक घरमा आंशिक र एक घरमा पूर्ण, दाङका ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण र प्युठानका २९ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
अस्थायी आवास र पुनर्निर्माण
सुरुमा भूकम्प पीडितलाई अस्थायी आवासको व्यवस्था गरिनेछ । त्यसपछि मात्र स्थायी आवास निर्माण गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।
अस्थायी आवास र पनुर्निर्माण गर्न के/कति रकम उपलब्ध गराउने भन्ने विषय सरकारले निर्णय गर्नेछ । सरकारले निर्णय गरेपछि चरणवद्ध रुपमा रकम पीडितलाई उपलब्ध गराइने छ । “सुरुमा हामी पीडितहरुलाई अस्थायी आवासको व्यवस्था गर्छौं,” उनले भने ।
पुनर्निर्माण गर्दा सबैभन्दा पहिला विद्यालय भवन, स्वास्थ्य चौकी तथा अस्पताल भवन, सार्वजनिक निकायका भवन निर्माणलाई प्राथमिकता दिइनेछ ।
नभत्केका घरको पनि अध्ययन
प्राधिकरणले यसपटक फरक सोच बनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण संकलन गर्दा प्रभावित क्षेत्रमा रहेका तर नभत्केका घरको पनि अध्ययन गर्ने योजना प्राधिकरणको छ । “यसअघि भूकम्पले भत्केका घरको मात्र अध्ययन हुन्थ्यो । यसपटक हामीले उक्त क्षेत्रका नभत्केका घरको पनि अध्ययन गर्नुपर्छ भनेका छौं,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा यस्तो अध्ययन गर्न एकदेखि डेढ महिना लाग्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष गरिसकिएको उनले जनाए । “यस्तो अध्ययन गर्न ३०० जनशक्ति चाहिन्छ । जनशक्ति र आवश्यक खर्चको व्यवस्था गरिदिन हामीले प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेका छौं,” उनले भने ।
भुइँचालो बारम्बार आइरहने भएकाले यस्तो अध्ययन गर्नुपर्ने उनले जनाए । यसरी अध्ययन गर्दा नभत्केका घरहरु कस्तो अवस्थामा छन्, कति प्रवलीकरण गरे हुनेछन् र कतिलाई भत्काएर फेरि बनाउनुपर्ने खालका छन् सबै थाहा हुने उनले बताए ।
“पहिला क्षति भएका घरको पुननिर्माण गर्नुपर्छ । त्यसपछि नभत्केका घरको प्रवलिकरण गर्नुपर्छ । यस्तो गरे मात्र आगामी दिनमा ठूला भूकम्प आए पनि जोखिम कम हुन्छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
खोज तथा उद्धार
भूकम्प गए लगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको थियो । तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धारमा खटाइएको थियो । भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा १ हजार ५६० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलका ४८५, नेपाल प्रहरीका ८७४ र नेपाली सेनाका २०२ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । सबै सुरक्षाकर्मी जाजरकोट र रुकुम पश्चिममा परिचालन गरिएको छ ।
खोज तथा उद्धार कार्य लगभग सकिएको छ । यसैकारण तैनाथ सुरक्षाकर्मीको संख्या घटाइएको छ । सोमबार भूकम्प प्रभावित क्षेत्रमा ८७४ प्रहरी, २४ जना सशस्त्र प्रहरी र ६६ जना नेपाली सेना खटिएका छन् ।
घाइतेको उपचार
भूकम्पपछि दोस्रो पाथमिकता घाइतेको उपचारलाई दिइएको थियो । भग्नावशेषबाट जीवितै उद्धार गरिएकालाई छिटोभन्दा छिटो अस्पताल लगिएको थियो । यसमा नेपाली सेना, नेपाल प्रहरी र रेडक्रसको समेत सहयोग लिइएको थियो ।
भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरी ३३८ जनालाई उपचारका लागि विभिन्न अस्पताल लगिएको थियो । घाइतेमध्ये २४३ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । ९५ जना भूकम्पका घाइते अस्पतालमा उपचार गराइरहेका छन् ।
घाइतेहरुको भेरी अस्पताल, मेडिकल कलेज, प्रदेश अस्पताल सुर्खेत, जाजरकोट जिल्ला अस्पताल, काठमाडौंको शिक्षण अस्पताल, रुकुम जिल्ला अस्पताल, सुर्खेतको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भूकम्पमा घाइते भएका ८ जनालाई हेलिकप्टरमा थप उपचारको लागि काठमाडौं ल्याइएको थियो ।
शव बुझाउने कार्य
भूकम्प प्रभावित क्षेत्रमा मृत्यु भएकाहरुको पहिचान गर्ने, शवको पोष्टमार्टमा गर्ने र शव परिवारलाई बुझाउने कार्य भइरहेको छ । भूकम्पका कारण संरचना भत्किँदा मृत्यु भएका जाजरकोटका १०१ जनाको शवको विभिन्न अस्पतालमा पोष्टमार्टम गरिसकिएको छ । पोष्टमार्टम भएकामध्ये ९५ जनाको शव आफन्तले बुझिसकेका छन् ।
जाजरकोटमा मृत्यु भएकामध्ये बाँकी ६ जनाको शव आफन्तलाई बुझाउन बाँकी छ । ६ जना शवको आफन्त टाढा भएको कारण जिल्ला अस्पताल जाजरकोटको शव गृहमा राखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र वीर अस्पतालले चिकित्सकहरु पठाएका थिए ।
राहत वितरण
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार र शव बुझाउने कार्यपछि राहत वितरणलाई प्राथमिकता दिइएको छ ।
“अबको दुई–तीन दिन हामी भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा केन्द्रित हुन्छौं,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बाह्रखरीसँग भने, “हामीले जाजरकोट र रुकुम पश्चिममा ५÷५ करोड रुपैयाँ आइतबार बिहान नै पठाइसकेका छौं ।”
अबको दुई–तीन दिन भूकम्प प्रभावित क्षेत्रमा पीडितहरुलाई आवश्यक पर्ने न्यानो कपडा, खाद्य सामाग्री लगायतका राहत सामाग्री उपलब्ध गराउन ध्यान केन्द्रित गरिने उनले जनाए । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार, भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा केही राहत सामाग्री वितरण गरिसकिएको छ ।
आइतबारसम्म जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ६०० थान त्रिपाल, १०० थान स्लिपिङ ब्याग र २०० थान ब्ल्याङ्केट वितरण गरिएको छ । जाजरकोटमा त्रिपाल ५०० थान, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट पीडितहरुलाई प्रदान गरिएको छ । यस्तै, रुकुम पश्चिममा १०० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट वितरण गरिएको छ ।
“रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका भूकम्प पीडितलाई आवश्यक राहत सामाग्री पठाइसकेका छौं,” रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले बाह्रखरीसँग भने ।
भूकम्पका कारण मृत्यु भएकाको परिवारलाई काजक्रिया गर्न आवश्यक पर्ने रकम उपलब्ध गराउने कार्य सुरु गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण कार्य एकद्वार प्रणाली मार्फत गरिएको छ । राहत सहयोग गर्न चाहने सबैले जिल्ला प्रशासन कार्यालयमा सामाग्री बुझाउनु पर्नेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरी सम्बन्धित ठाउँमा त्यस्ता सामग्री पठाउनेछ ।