site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशले विनिमय सञ्चिति पर्याप्तताको फाइदा लिन सक्नुपर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बाह्य क्षेत्र सबल स्थितिमा रहेको बताएका छन् । तर, त्यसको फाइदा देशले लिन सक्नुपर्ने उनको भनाइ छ । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको भन्दै त्यसबाट लाभ लिनुपर्ने बताए ।

 

Dabur Nepal
NIC Asia

"१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन," अधिकारीले भने । उनले बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे ।

बैंकिङ क्षेत्रका बारे उनले भने, "बजारको मागअनुसार तरलता छ । पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरूको निष्क्रिय कर्जा बढेको देखिन्छ । तर अन्य देशको तुलनामा कम नै हो । आपूर्ति प्रणाली र बजारमूल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको हो ।"

गर्भनर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए ।

अधिकारीले पर्यटन क्षेत्र र रेमिट्यान्स क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताए । उनले बैंकहरूको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने पनि दाबी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताए । उनले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताए ।

उनले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

"अहिले धेरै पर्यटक भित्रिएका छन् । बैंकमा तरलता पनि बढ्दो छ," ढकालले भने, "सरकारले व्यवसायी र सर्वसाधारणमा विश्वासको वातावरण बनाउन सहयोग पुर्‍याउनुपर्छ ।"

ढकालले कर्णालीमा गएको भूकम्प प्रभावितलाई आफूहरूले पनि राहत वितरण गर्ने बताए । उनले सक्दो राहत वितरण गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सञ्चार माध्यम तथा पत्रकारलाई राजनीतिक भन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रुपमा चलायमान हुन नसकेको बताए । मल्लले बजेटमा रहेको प्राकृतिक स्रोत निर्यातको विषय उल्लेख भए पनि कानुनी अप्ठेरो रहेको बताए । उनले छिटो कानुन बनाई जडीबुटीदेखि प्राकृतिक सामाग्री निर्यात बढाएर व्यापार घाटा कम गर्नपर्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले सरकारको योजना सोहीअनुसार कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । "आर्थिक समृद्धिको बाटोमा देखिएका समस्यामा बहस गराउन नाफिजले नेतृत्वदायी भूमिका खेल्ने छ," ढकालले भने ।

१५औँ वार्षिकोत्सवको अवसरमा तीनजना आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा समसामयिक आर्थिक विषयमा छलफलसमेत आयोजना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो । जर्नलको विमोचन अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्तरूपमा गरे ।

जर्नलमा ३० भन्दा बढी अनुसन्धान र विश्लेषणात्मक लेख समावेश गरिएको छ । नाफिज जर्नलको यो तेस्रो संस्करण हो ।

योजना निर्माण कसरी गर्ने भन्ने सुझावसमेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरावलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औँल्याएको नाफिज अध्यक्ष ढकालले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro