site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
अस्ताए ५० वर्ष बढी नेपालकै सेवा गरेका ‘पुतली बाजे’

पोखरा । ‘पुतली बाजे’ भनेर कसलाई चिनिन्छ ?

यो प्रश्नलाई लोकसेवा आयोगले पनि आफ्नो प्रश्नसूचीमा राख्थ्यो । विद्यालयस्तरदेखि खुला हाजिरीजवाफ प्रतियोगितामा पनि यी प्रश्नहरुले निरन्तरता पाइरहे ।

त्यसको जवाफ थियो, ‘कोलिन फिलिप स्मिथ ।’ अर्थात, ‘पुतली बाजे ।’

Dabur Nepal
NIC Asia

लोकसेवादेखि हाजिरीजवाफमा आउने यी प्रश्नका उत्तर शुक्रबारसम्म अस्पतालको बेडमा नै थिए । अर्थात् प्रश्नकर्ताले जवाफ लेख्न मात्र पर्दैनथ्यो, भेट्नै पाउँथे । गफिन पाउँथे र उनीबारे बुझ्न पाउँथे ।

तर, शनिबारदेखि अब उनी पुतलीमा मात्र भेटिनेछन्, गएराति कोलिम फिलिप स्मिथको निधन भयो । पुतलीबाजे अब पुतलीमा मात्र भेटिन्छन् ।  उनले खोजेका ६४० प्रजातीका पुतलीले कोलिन स्मिथलाई सम्झाइरहने छन् ।

सम्मानार्थ नागरिकता पाउने तेस्रो व्यक्ति थिए

पुतली खोजी गर्नुअघि उनी शिक्षक थिए । गणितमा उनको विशेष दख्खल थियो । उनको नेपाल प्रवेश चाहिँ युनाइटेड मिसन टु नेपालमार्फत् शिक्षकको रुपमा हुनपुग्यो । यो भन्डै ५७ वर्ष अगाडिको कुरा हो ।

उनले सुरुमा पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कुल)बाट अध्यापन सुरु गरेका थिए । नेपाली आदर्श स्कुलमा पढाउँदा पढाउँदै उनलाई धर्म प्रचार गर्न पनि दबाब दिइएको थियो ।

उनले नमानेपछि केही उनलाई बेलायत नै फर्काइयो । तर, पछि गोरखामा पढाउनेगरि उनी फेरि नेपाल फर्किए । उनले पढाएका विद्यार्थीमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइदेखि प्रख्यात चिकित्सक उपेन्द्र देवकोटा पनि हुन् । दुवैलाई उनले कक्षा ९ मा पढाएका थिए ।

उनै स्मिथको निधनप्रति डा. बाबुराम भट्टराइले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेहभावकासाथ ‘पुतली बाजे’ भनिन्थ्यो,  उहाँको आज ( कार्तिक १८ ) पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु । केही वर्ष पहिले पोखरामा वहाँसँग भेट हुँदा  मैले सोधेको थिएँ – ‘तपाईंलाई के इच्छा छ, सर, मैले के गर्न सक्छु ? वहाँले शान्तभावमा भन्नुभएको थियो– ‘म नेपालमै मर्न चाहन्छु । तर नेपाली नागरिक भएर मर्न चाहन्छु । ५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोजअनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोच र विधिविधानप्रति मलाई निकै लज्जावोध भयो । मैले समेत उच्चतहमा रोइकराइ गरेर वहाले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो । मलाई बाल्यकालको सम्झना छ । हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाँच कक्षामा पढ्थ्यौं । वहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो । समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चहार्नुहुन्थ्यो । कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ऊ..ऊ..पुताली” भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो । हामी केटाकेटी मज्जाले हाँस्थ्यौं ! 

वहाँप्रति हार्दिक श्रद्धासुमन !”

डा. भट्टराइले लेखेझैँ उनले नागरिकता पाउन नेपाल छिरेको ५४ वर्ष कुर्नुपर्‍यो । हरेक भेटमा जो कोहीसँग पनि पुतली बाजेले नेपाली नागरिक भएर मर्न पाउँ भन्ने इच्छा जाहेर गर्थे ।

“जीवन त नेपालमै बिताइयो, नागरिकता पाइयो भने नेपाली भएर मरिन्थ्यो, म क्रिश्चियन हुँ । तर मेरो लास सेतीमा जलाइदिनू है,” उनी भन्थे । अन्ततः २०७६ साल कात्तिक २९ गते मन्त्रिपरिषद् बैठकले स्मिथलाई सम्मानार्थ नागरिकता दिने निर्णय गर्‍यो ।

मन्त्रिपरिषदको उक्त निर्णय अनुसार २०७६ मंसिर १६ गते पुतली बाजेले कास्की प्रशासनबाट नागरिकता पाए । नेपाल सरकारबाट सम्मानार्थ नागरिकता पाउनेमा उनी भूगोलविद टोनी हेगन, सगरमाथा आरोही एडमन्ड हिलारी पछिका तेस्रा व्यक्ति बने । 

उनलाई नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगको अधिकार पनि थियो । वि.सं.१९९३ मंसिर ९ मा लण्डन नजिकै जन्मेका कलिन २०२२ माघमा पोखरा आएका थिए ।

उनले नागरिकता पाउँदाको क्षणमा साक्षी बनेका साहित्यकार सरुभक्त भन्छन्, “यो हजुर बा सरहको सम्मान हो । एक असल शिक्षकको रुपमा पनि उहाँलाई सम्मान गर्नु पर्दछ ।”

पृथ्वी नारायण क्याम्पसको अन्नपूर्ण संग्रहालयमा वैज्ञानिक रुपले पुतलीहरुको संरक्षण गर्ने व्यक्ति उनी नै हुन् ।  उनले ४० जिल्लामा गएर करिव २५ हजार पुतली संग्रह गरी हरेकको नामकरण गरे ।  नेपालमा पाइने ६६० प्रजातीका पुतली मध्ये उनले करिव ५५० प्रजातीका पुतली भेट्टाए । 

यसरी आफुले संकलन गरेका पुतली सुरक्षितसाथ प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे ।  पुतली संग्रह गर्न हिँड्काले नै उनको नाम पुतली बाजे रहन गएको हो । उनको पुतलीबारे लेखेको ३० भन्दा बढी किताब प्रकाशित छन् । ती पुस्तक पुतली र झ्याउँकिरीका विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएका हुन् । 

उनले पहिलो पटक निकालेको किताब बटरफ्लाइज अफ नेपाल इन सेन्टरल हिमालय हो । सो किताब उनले सन् १९८९मा लेखेका थिए ।

उनै स्मिथ, पुतली बाजे, सम्मानार्थ नागरिकता पाउने व्यक्ति लामो समयदेखि लामो समयदेखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत थिए । जहाँ उनले शनिबार बिहान करिब ३ बजे ८७ वर्षको उमेरमा देह त्याग गरे ।
उनको अन्त्येष्टि कात्तिक २० गते पोखरा गाईघाट (आईएनएफ पछाडि) मा गरिनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro